सर्लाहीमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वडा नं २ राइटरखोरकै रामवली महतो रहेका छन्।
उनले लगाएको कपडामा रगत लागेको पुष्टि भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले वन हेरालु (चौकीदार) हत्या आरोपमा प्रहरीले रामवलीलाई हिरासत लिएर अनुसन्धान गरिरहेको पुष्टि गरेका छन्।
रगत लतपतिएको कपडासहित नियन्त्रणमा लिएकोले घटनामा उनको संलग्नताको आशंकालाई बलियो बनाएको उनको भनाई छ।
‘शंकास्पद अवस्थामा रामवलीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रजिअ कडरियाले भने, ‘कपडामा रगत लतपतिएको पाइएकोले घटनामा उनको संलग्नताको आशंकालाई बल पुगेको छ। प्रहरीले सोधपुछ र अनुसन्धान गरिरहेको छ।’
घटनाको अनुसन्धान द्रूत गतिमा भइरहेको बताउँदै उनले प्रहरी अपराधीको नजिक पुगिसकेको जानकारी दिए।
रूख कटान गरिरहेको थाहा पाएर रोक्न गएका रामेश्वरको शनिबार शरीर एकातिर टाउको अर्कोतिर हुने गरि बञ्चरोले हानेर हत्या गरिएका अवस्थामा शव भेटिएको थियो।
शव घरदेखि करिब ५०० मिटरको दुरीमा पर्ने सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रकै झाडीमा भेटिएको थियो। घटनास्थलदेखि १ सय मिटर उत्तर तर्फ झाडीमा २० पुस आइतबार दिउँसो १२:४५ मा टाउको भेटिएको प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी दिए।
सहिद घोषणाका लागि पहल, आश्रित परिवारलाई रोजगारी दिने
दैनिक ज्यालादारी चौकीदार सेवामा कार्यरत रामेश्वरको विभत्स हत्या भएपछि सागरनाथ वन विकास परियोजना व्यवस्थापनको आकस्मिक बैठक बसेको छ।
कर्तव्य पालनको शिलशिलामा पुस १९ गते वन तस्करको आक्रमणबाट उनको मृत्यु भएकोले उनलाई संरक्षण शहीद घोषणा गर्न पहल गर्ने निर्णय समेत गरेको परियोजना व्यवस्थापक खेमलाल सेन्चुरीले जानकारी दिए।
उनका अनुसार अन्तिम दाहसंस्कार र किरिया खर्च बापत तत्कालै २५ हजार रूपैयाँ परिवारलाई खर्च उपलब्ध गराउने, वन पैदावार विकास समिति, काठमाडौं, सागरनाथ वन विकास परियोजना, सर्लाही र रतुवामाई वृक्षारोपण आयोजना, झापामा कार्यरत कर्मचारीहरूखको कम्तिमा १ (एक) दिनको तलब बराबरको रकम सहयोग स्वरूखप संकलन गरी परिवारलाई उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी आश्रित परिवारको जीविकोपार्जनका लागि देशभरबाट राहत रकम संकलन गरी हस्तान्तरण गर्ने, परिवारको १ जना आश्रित सदस्यलाई तत्कालै परियोजनामा रामेश्वरकै पदमा काम गर्ने गरी रोजगारी प्रदान गर्ने र नेपाल सरकारबाट नियमानुसार प्राप्त हुने क्षतिपूर्तिका लागि पहल गर्नुको साथै र वन पैदावार विकास समिति केन्द्रीय कार्यालय, काठमाडौंबाट तत्काल उचित क्षतिपूर्तिका लागि पहल गर्ने निर्णय भएको उनले बताए।