बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयका सहायक शाखा अधिकृतलाई कार्यालयमै मोबिल छ्यापिएको छ।
आफूलाई जेनजी युवा बताउने एक युवकले बोतलमा मोबिल लगेर सहायक शाखा अधिकृत जीवरमण पौडेललाई छ्यापेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले नेपालले मोबिल छ्याप्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए।
‘बोतलमा मोबिल लिएर गएका रहेछन्, सहायक शाखा अधिकृत जीवरमण पौडेललाई छ्यापेको जानकारी आएको छ,’ उनले भने, ‘मोबिल छ्याप्ने युवकको खोजी भइरहेको छ।’
मोबिल छ्यापेपछि केहीबेर ती युवकले अधिकृत जीवनसँग भनाभन समेत गरेका थिए। मोबिल छ्यापेपछि भएको भनाभनको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। जसमा ती युवकले आफ्नो नाम आनन्द कुमार गुप्ता भएको र जेनजीको सहसचिव भएको समेत बताएका छन्।
भिडिओमा भएको संवाद यस्तो छ-
युवक: कार्यालय प्रमुख जी सुन तानी, यति भ्रष्ट भइराखेको छ, सबै कुरा भइराखेको छ।
अधिकृत जीवन: ले मैले के गरे साँच्चि? (मोबाइल बन्द गर न भनेर आग्रह गर्छन्)
युवक: किन मोबाइल बन्द गर्नुपर्याे
अधिकृत जीवन: म कार्यालय प्रमुखले के गरेको छु, म कार्यालय प्रमुख हो र अहिले?
युवक: निमित्त त हुनुहुन्छ नि अहिले
अधिकृत जीवन: निमित्त पनि छैन। चिठी पनि छ हाकिम छँदैछ।
युवक: हाकिम बल्ल आयो।
अधिकृत जीवन: मैले के गर्या छु भन न पहिले त्यो कुरा!
युवक: हामीले अनुगमन पठाउँदा सिडियो साहेबको तपाईंले सरूवा गराउनुभएको छ। हुन्छ नि हामीलाई कति पावर छ थाहा छ। अख्तियारमा जाँदा अख्तियारको मान्छेले नै इन्फर्म गरिरहेको छ सबैकुरा। यति बजेट कहाँ कहाँ कति पैसा गइरहेको छ हामीलाई पनि थाहा छ।
अधिकृत जीवन: यो के गरेको हैट।
युवक: मेरो नाम आनन्द कुमार गुप्ता हो। ठिक छ। म जेनजीको यहाँको सहसचिव हो। तपाईंलाई केही प्रबलम छ भने प्रहरीमा कम्प्लेन गर्नुहोला।
यति भनेपछि युवक बाहिर निस्कन्छन्।