विद्यार्थीहरू हातमा फूलको गुच्छा र माला लिएर लामबद्ध उभिएका थिए। उनीहरू पालैपालो मञ्चमा उक्लिए।
कुर्सीमा बसेका दम्पती भोजराज सर र सीता मिसलाई अबिर, खादा र माला लगाइदिए। केही विद्यार्थीले आफूलाई सम्हाल्न सकेनन्। आँसु झार्न थाले।
त्यो देखेपछि शिक्षक दम्पतीको पनि भक्कानो फुट्यो। सहकर्मी शिक्षकका आँखा रसाए। अभिभावक पनि आँसु पुछ्न थाले।
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९, चित्लाङस्थित स्वच्छन्द भैरव माध्यमिक विद्यालयको प्रांगणमा पुस २९ गते देखिएको दृश्य हो यो।
सेवा निवृत्त भएका शिक्षकद्वय भोजराज अर्याल र सीता लामिछाने (अर्याल) को मंगलबार विदाइ कार्यक्रम थियो। लामो समय विद्यालयमा सेवा गरेका उनीहरूको विदाइ समारोहमा सहभागी सबैका आँखा रसाए।
विद्यार्थी, सहकर्मी शिक्षक, अभिभावक सबैले भोजराज र सीताको योगदान सम्झिए।
करिब चार दशक समय विद्यालयमा सेवा गरेका व्यक्तिहरूलाई विदाइ गर्नु असाध्यै गाह्रो भएको विद्यालय व्यवस्थापन समितिका सल्लाहकार रामकृष्ण बस्नेतले बताए।
'दुवै जनाले आफ्नो ऊर्जाशील समय विद्यालयलाई दिनुभएको छ। बुद्धि, ज्ञान, विवेक र पसिना यहाँ पोख्नुभएको छ,' उनले भने, 'उहाँहरूको योगदानलाई विद्यार्थीका अमूल्य आँसुले प्रतिबिम्बित गरेको छ।'
प्रधानाध्यापक विष्णु प्रसाद दाहालले पनि भक्कानिँदै मन्तव्य दिए। २०६५ सालदेखि सहकार्य गरेका सहकर्मीहरूको विदाइ गर्दा परिवारका सदस्यले छोडेजस्तै अनुभूति भएको उनले बताए।

विद्यालयका लागि जुनसुकै सहयोग आवश्यक पर्दा अघि सर्ने भोजराज सरको स्वभाव कहिल्यै नबिर्सिने उनले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष राजकुमार बलामी शिक्षक दम्पतीका विद्यार्थी हुन्। उनले शिक्षकलाई विदाइ गर्दा विद्यालयमा तल्लो कक्षा सञ्चालनमा चुनौती थपिएको बताए।
अन्य सहकर्मी शिक्षक सञ्जीव नेपाल र जंगबहादुर लामा पनि भोजराज र सीताले पढाएका विद्यार्थी हुन्।
सीताको जन्म २०२२ सालमा चित्लाङको खर्कमा भएको हो। बुबा शम्भु प्रसाद र आमा नन्दकुमारी लामिछानेकी उनी जेठी छोरी हुन्। उनका दुई बहिनी र एक भाइ छन्।
उनले गाउँकै जलदेवी प्राविमा कक्षा तीनसम्म पढिन्। त्यो बेला गाउँमा छोरीहरूलाई स्कुल पठाउने चलन थिएन। तर उनको घरमा अघिल्लो पुस्ताका फुपूहरू समेत पढ्न जान्थे।
कक्षा तीन पास गरेपछि डेढ घन्टा हिँडेर चित्लाङस्थित स्वच्छन्द भैरव निम्न माध्यमिक विद्यालय जानुपर्थ्यो। उनका बुबा र काका शेषराज सोही स्कुलमा पढाउँथे। सीता सँगै जाने–आउने गर्थिन्।
उनी कक्षा ६ मा पढ्दै गर्दा, २०३४ सालमा स्वच्छन्द भैरव मावि बन्यो। कक्षा ८ मा विद्यार्थी कम थिए। उनलाई ६ बाट एकै पटक ८ कक्षामा बढुवा गरियो।
'विज्ञान र गणित शिक्षकको सधैं अभाव हुन्थ्यो। एक साता लगाएर बुबाले तराई–मधेसबाट शिक्षक खोजेर ल्याउनुहुन्थ्यो,' उनले भनिन्, 'शिक्षकले बोलेको भाषा नबुझ्ने समस्या हुन्थ्यो।'
२०३७ सालमा उनले एसएलसी पास गरिन्।
एसएलसीपछि उच्च शिक्षाका लागि कहाँ जाने भन्ने अन्योल थियो। छोरीलाई एक्लै बाहिर राखेर पढाउने चलन पनि थिएन। त्यति बेलै पोखरामा १० महिने 'नन–क्रेडिट बी लेभल टिचिङ ट्रेनिङ' खुलेको खबर आयो।
२०३८ र २०३९ सालमा १० महिनासम्म पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरामा शिक्षक तालिम लिइन्। तालिममा प्रयोगात्मक शिक्षण अभ्यास पनि गराइएको थियो।

पोखराबाट फर्किएपछि २०४० भदौबाट उनको शिक्षण यात्रा सुरू भयो। तालिममा सिकेको सीप आफूले पढेकै विद्यालयमा सदुपयोग गर्ने मौका पाइन्।
जलदेवी प्राविमा अस्थायी शिक्षकमा नियुक्ति मिल्यो। सो तालिम लिएका शिक्षकले तीन वर्ष अध्यापन गरेपछि स्वतः स्थायी हुने व्यवस्था थियो। २०४३ साल मंसिरमा उनी स्वतः स्थायी भइन्।
त्यस्तै २०२३ साल साउनमा जन्मिएका भोजराज महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ मा खेमानन्द र रमा अर्यालका साइँलो सन्तानका रूपमा जन्मेका हुन्।
उनी सानै छँदा बुबाको मृत्यु भयो। सिन्धुलीस्थित मामाघरमा बसेर एसएलसीसम्म पढे। सिन्धुली माडीस्थित कमला व्यावसायिक माविबाट २०४१ सालमा एसएलसी पास गरे।
एसएलसीपछि मकवानपुरको हेटौंडा आएर ठेक्का–पट्टाको काम गर्न थाले।
'मदिरा सेवन गर्नुपर्ने, पैसा बाँड्नुपर्ने अनि ६ महिना मात्र काम हुने स्थिति थियो,' उनले सम्झिए, 'म मदिरा नपिउने मानिसलाई यो काम गर्न निकै गाह्रो भयो।'
दिक्क भएपछि उनलाई साथीहरूले शिक्षणमा लाग्न सल्लाह दिए। २०४५ भदौमा उनलाई चित्लाङ कुश्लेचौरस्थित जनक प्राथमिक विद्यालयमा पढाउने अवसर मिल्यो।
२०४७ चैतमा त्यहाँबाट सरूवा भई स्वच्छन्द भैरव मावि आए। २०४८ सालमा स्थायी भए।
सोही स्कुलमा भोजराज र सीताको भेट भयो।
सीताको बिहेको कुरा चलिरहेको थियो। मानिरहेकी थिइनन्।
'मलाई बिहे गर्ने मन थिएन। आफ्नै खुट्टामा उभिएपछि गरूँला भन्थेँ। स्वतन्त्र भएर बाँच्ने चाहना थियो,' उनले भनिन्।

तर उनका बुबाले भोजराजलाई भेटेपछि 'केटो ठिक छ, विवाह गर' भन्न थाले। सीताले नकार्न सकिनन्।
२०४८ साल मंसिरमा उनीहरूको बिहे भयो।
उनीहरूका दुई छोरी भए। छोरीहरू पढाइमा अब्बल थिए। दुवैले स्वच्छन्द भैरवबाटै एसएलसी दिए। त्यसपछि काठमाडौं गएर पढे। अहिले उनीहरूकी जेठी छोरी सदीक्षा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा अधिकृत छिन् भने कान्छी समीक्षा एमबिए गरेर अमेरिकामा छिन्।
'गाउँ समाजमा छोरा चाहिन्छ भन्थे, तर हामीलाई दुई छोरी भए पुग्छ भन्यौं,' सीता मिसले भनिन्, 'दुवै छोरी हुर्कायौं, पढायौं। राम्रोसँग पढे। बिहे गरिदियौं। कहिल्यै दुःख दिएनन्, निराश पारेका छैनन्।'
आफूहरूले सम्पत्ति पनि नकमाए पनि विश्वास र भरोसा कमाएको भोजराज बताउँछन्।
'दुःख–गुनासो केही छैन। सबैसँग मिलेर जागिर खायौं, विश्वास र भरोसा कमायौं,' भोजराजले भने, 'बाटोमा भेट्दा सर, मिस नमस्कार भन्छन्। यही नै गर्व लाग्छ।'
विद्यालय छोड्दै गर्दा उनीहरूले स्कुलमा २१ हजार रूपैयाँ खर्च गरेर टेबल टेनिस खेल्ने टेबल बनाइदिएका छन्। छात्रवृत्ति प्रदान गर्न ५६ हजार एक सय रूपैयाँको अक्षय कोष पनि स्थापना गरेका छन्।