दैलेखमा सोमबार दिउँसो १ बजेतिर भएको जिप दुर्घटनामा परी चालक सहित तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी कालिकोट शुभकालिका गाउँपालिका–५ का ३६ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका–४ का ३९ वर्षीय मित्र सुनार र शुभकालिका–६ की ६० वर्षीया पुल्तिसरा विकको मृत्यु भएको हो।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार विकका अनुसार साढे तीन बजेपछि दैलेख अस्पतालमा पुर्याइ चेकजाँच गर्ने क्रममा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।
दुर्घटनाका थप पाँच घाइतेमध्ये शुभकालिका–४ का अन्दाजी ४५ वर्षीय नैन सुनार र शुभकालिका–६ का २७ वर्षीय सुमत विकलाई कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ पठाउने तयारी गरिएको छ।
दुर्घटनाका घाइतेमध्ये शुभकालिका–४ का ३८ वर्षीय चक्र सुनार, शुभकालिका – ६ का २० वर्षीय भरत विक र शुभकालिका – ५ का २६ वर्षीय कलम सुनारको अवस्था पनि गम्भीर छ। उनीहरूको दैलेख जिल्ला अस्पतालमा उपचार जारी छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो दैलेखको भैरवी गाउँपालिका–७ काली गौंडास्थित भित्री सडक खण्डको भीरबाट झन्डै ४ सय मिटर तल खसेको हो।
सोमबार दिउँसो करिब १ बजेतिर जीप दुर्घटना भएको थियो। जीपमा सात पुरूष र एक महिला गरी आठ जना सवार थिए।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पतालतर्फ पठाएको हो।
दुर्घटनाको कारण खुलिसकेको छैन।