माघ १४ गते मध्यरात।
बाराको परवानीपुर गाउँपालिका-१ रहरियाडिहमा हल्लाखल्ला मच्चियो।
जगरूक मण्डलको घरमा एक जना धारिलो हतियारधारी व्यक्ति प्रवेश गरी 'ताण्डव' मच्चाएछन्। मण्डलकै परिवारका ८ वर्षीय बालक चिच्याउँदै गाउँलेसँग गुहार मागिरहेका थिए।
गहिरो निद्राबाट ब्युँझिएर उनीहरू मण्डलको घरतिर लागे। त्यहाँ वीभत्स दृश्य देखे।
शौचालय नजिकै जगरूककी श्रीमती ४६ वर्षीय सुमित्रा रक्ताम्य थिइन्। उनको मृत्यु भइसकेको थियो।
घरका भित्ता र भुइँ रगतले लत्पतिएको थियो। घरभित्र जगरूकका ३१ वर्षीय छोरा रामईश्वर मण्डल पनि रक्ताम्य अवस्थामा ढलेका थिए। उनको पनि त्यहीँ परान गइसकेको थियो।
जगरूक,उनकी छोरी २१ वर्षीय रिना कुमारी र बुहारी २३ वर्षीय मनिता घाइते थिए। उनीहरूमाथि पनि धारिलो हतियार प्रहार भएको थियो।
गाउँलेहरूले तत्काल प्रहरीलाई खबर गरे र घाइते तीन जनालाई उद्धार गरी परवानीपुरकै एल.एस न्युरो अस्पताल पुर्याए। बुहारी मनिताको शरीरमा भने सामान्य चोट थियो।
प्रहरीले घटनाबारे जानकारी पाउँदा रातिको २ बजेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर आफै एउटा टोली लिएर घटनास्थलमा खटिए।
त्यसपछि घटनास्थलको मुचुल्का उठाएर सुमित्रा र रामईश्वरको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको एसपी कुँवर बताउँछन्।
बिहानीपख प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान सुरू गर्यो। घरभित्रदेखि बाहिरसम्म रगतको धब्बाहरू देखिएकाले आक्रमणकारी पनि घाइते भएको अनुमान प्रहरीको थियो।
तालिमप्राप्त कुकुरले हत्यारा हिँडेको बाटो देखाएको थियो। त्योसँगै सोधपुछबाट प्राप्त जानकारीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
बिहानपख नै प्रहरीले दुई जनालाई पक्राउ गर्यो। पक्राउ पर्ने एकजना जगरूककै बुहारी मनिता थिइन्। उनी रामईश्वरकी श्रीमती हुन्।
मनितासँगै बाराको प्रसौनी गाउँपालिका-७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुक पक्राउ परेका थिए। मनितालाई अस्पतालबाटै र धानुकलाई बाराकै विश्रामपुर गाउँपालिका-४ मुसहरवाबाट भारत जाँदै गर्दा पक्राउ गरिएको एसपी कुँवरले बताए।
उनीहरू विरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनाको प्रमुख कारण धर्मेन्द्रसँग मनिताको विवाहेतर सम्बन्ध रहेको खुलेको छ।
मनिता र रामईश्वर श्रीमान-श्रीमती भए पनि उनीहरूबीच सुमधुर सम्बन्ध थिएन।
मनिताको विवाहेत्तर सम्बन्धकै कारण यसअघि पनि परिवारमा पटक पटक झगडा हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
वैदेशिक रोजगारका लागि युएईमा रहेका धर्मेन्द्र माघ ११ गते मात्रै नेपाल आएका थिए। नेपाल फर्केर उनी आफ्नो परिवारको सम्पर्कमा थिएनन्। बरू मनितासँग सम्पर्क गरी उनको परिवारको हत्या योजना बनाएको खुलेको छ।
त्यसरात मनिताले नै धर्मेन्द्रलाई आफ्नो घरभित्र प्रवेश गराएका थिए। त्यसअघि घरको विद्युत लाइन काटिएको थियो।
विद्युतको लाइन काटिएपछि मध्यरातमा मनिताले शौचालय जान साथी हिँड्न भनेर सासू सुमित्रालाई उठाएकी थिइन्। घरबाहिर थिए धर्मेन्द्र।
शौचालय बाहिरै धर्मेन्द्रले चक्कु प्रहार गरी सुमित्राको हत्या गरिदिएका थिए। त्यसपछि उनी घरभित्र छिरेका थिए।
भित्र उनले मनिताका श्रीमान रामईश्वरमाथि चक्कु प्रहार गरे। उनका बाबु जगरूकमाथि पनि आक्रमण गरे।
‘धर्मेन्द्रलाई घरभित्र पस्न मनिताले नै सहयोग गरेको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले भने।
अस्पतालमा उपचाररत रिनाले भाउजु मनिताले बाहिरबाट मान्छे बोलाएर योजनाबद्ध रूपमा हत्या गरेको बताएकी छन्। हत्या गर्ने व्यक्तिलाई भगाउन भाउजु मनिताले सहयोग गरेको उनको भनाइ छ।
रिनाका अनुसार घटना भएको राति उनी एक्लै बेग्लै कोठामा सुतेकी थिइन्।
उनको कोठामा बाहिरबाट चुकुल लगाइएको थियो। दिदीको छोराले आएर ढोका खोलिदिएपछि आफू बाहिर आएको उनले बताएकी छन्।
‘झगडा भइरहेको हल्ला सुनेपछि हेर्न गएँ। त्यो पुरूषले मेरै घाँटीमा समात्यो, चक्कुले हान्न खोज्यो । चक्कु खोस्दा हात काट्यो,’ उनले पत्रकारहरूसँग भनेकी छन्।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।