मधेस साहित्य महोत्सवको तेस्रो दिन पनि गाउँबारे चर्चा भएको छ।
शनिबार बिहान गाउँको बारेमा काव्यशालाको आयोजना गरियो। कविहरूले गाउँको बारेमा विभिन्न दृष्टिकोणबाट कविता सुनाए।
सहरमा भइरहेको साहित्य महोत्सवले गाउँलाई सम्झियो। गाउँका खेत खलियान, पोखरी, पिपलको छहारी, खानपान कवितामा सहर आए। भुजा भुट्नेदेखि किसानका चर्चा भयो, नेताको आश्वासनदेखि चुनाव कवितामा अटाए।
दोस्रो सत्रमा विश्लेषक सिके लालले ‘गाउँ बन्दै सहर, सहर बन्दै गाउँ’ शीर्षकमा धारणा राखे।
तेस्रो सत्रमा भोजपुरी साहित्यमा गाउँको बारेमा डा. हरिन्द्र हिमकर, उपेन्द्र सहनी र दिनेश गुप्ताले छलफल गरेका थिए।
महोत्सवमा सिके लालले गाउँका पाँच वटा विशेषताका बारेमा चर्चा गरेका छन्।
उनका अनुसार पहिलो, गाउँमा पहिचान एकै किसिमको हुन्छ। एक अर्कालाई सबैले चिन्दछन्। कसैले हजुरबुवाको नातिको रूपमा कसैले बुवाको छोराको रूपमा, आमा, भाइ, दाइको नाममा चिनिन्छ।
दोस्रो पेसामा खासै धेरै विविधता हुँदैन, धेरै मानिसहरू कृषि र पशुपालन पेशामा रहन्छन्। एक दुई जना जमिन्दार, साहुकार हुन्छन्, जसले कर उठाउँछन्। पुरोहित हुन्छन्। जसले लेखपढ गर्न जान्ने हुँदा हिसाबकिताब राख्ने काम गर्दथे।
तेस्रो, गाउँमा एकै किसिमको परम्परा संस्कृति हुन्छ। एक वा दुई वटा ब्रम्हस्थान हुन्छ, जहाँ मानिसहरू सामूहिक पूजा गर्छन्। मन्दिर त धेरै पछि बन्न थालेको हो। जन्म, विवाह, मृत्यु संस्कारमा सबै सहभागी हुन्छन्। विभेदमा पारिएका दलित समुदाय पनि सहभागी हुन्छन्। भूमिका मात्रै फरक हुन्छ।
चौथो, गाउँबाट मानिसहरू रोजगारीका लागि बाहिर गएपनि फर्केर आउनका लागि जान्थे। उदाहरणका लागि कोही कलकत्ता कमाउनका लागि गएको हुन्छ भने गाउँका अन्य मानिसहरू जाँदा उसकोमा बसेर आउँथे, १० वर्षपछि गाउँमा फर्केर आउँदा पनि उसको उस्तै चिनजान रहन्थ्यो।
पाँचौ विशेषता गाउँ प्रकृतिसँग जोडिएको हुन्छ। जसमा कथा, कविता, गीत लेखिएका छन्, फिल्म बनेको छ। पिपलको छायाँमा मानिसहरु बन्छन्। पोखरीको किनारमा गएर आनन्द लिन्छन्। इनारमा पानी लिन जाँदा गाउँ समाजको बारेमा कुराकानी हुन्छ। हरेक मौसमको बेग्लै नाम दिइएको हुन्छ। बाह्रमासमा महिना र प्रकृतिको चरित्रसँग जोडेर गीत गाइन्छ।
तर पछिल्ला दिनमा गाउँको यी विशेषता हराउँदै गएको उनको भनाइ छ। गाउँमा सबैले सबैलाई जोड्न छोडेको छ, सहरमा जस्तै पक्की मकान बन्न थालेको छ। हिन्दी बोल्दा सभ्य र अंग्रजी बोल्दा झनै सभ्य हुने जस्तो देखिन थालेको छ। आपसी पहिचान कम भएको छ। पेसा फरक फरक हुन थालेको छ, भान्छामा धारा जोडिएको छ। गाउँ सहर बन्दै गएको छ। कमाउन बाहिर गएको मानिस फर्केर गाउँ आउन चाहँदैन। सहरमै बस्न मन पराउँछ। प्रकृतिसँगको सामिप्यता कम हुँदै गएको छ। छठमा पोखरी सजाउनका लागि एक साता लाग्छ। बाँस मिल्दैन, खर मिल्दैन। इनार पुरिन थालेको छ।
उनका अनुसार असमानता र रूढीले सहरलाई गाउँ बनाउँछ। उनी परम्परालाई बगेको नदी र रूढीलाई तलाउको रूपमा ब्याख्या गर्छन्। फोन चलाउँदिनँ भन्ने रूढी हुन्, फोन आवश्यकता अनुसार चलाउनु परम्परा हो भने जो निरन्तर चलाइरहन्छ त्यो अन्ध परम्परा।
गाउँमा दम्भ, अहंकार र हीन भाव बढी हुन्छ भन्ने मान्यता रहेको बताउँदै उनले सहरमा काम गर्ने मानिसलाई असमान व्यवहार गरिने बताए।
सहरमा जीवनशैलीको असमानतामा ठूलो खाडल हुने गरेको उनको कथन छ। गाउँका मानिस सहरको जीवनशैली जिउन खोज्ने र सहरका मानिसहरू गाउँको वातावरण खोज्न थालेको उनी बताउँछन्।
‘सहरको मानिसले प्रकृतिलाई माया गर्थे, नदीलाई नदी, रूखलाई रूख रहन दिन्थे, लाइट लगाएर सजाउँदैनथे, बिहान उठ्दा चराको चिरचिराहट सुन्न पाइन्थ्यो भने एकदमै खुसी हुन्थ्यो,’ उनी भन्छन्, ‘गाउँमा गुट्खा र चाउचाउको प्याकेट हुन्नथ्यो, पोखरीबाट दुर्गन्ध आउँदैनथ्यो, चिया पसलको ठाउँमा दारु भट्टी हुन्नथ्यो भने झनै गजब हुन्थ्यो।’
गाउँ होस वा सहर दुवैतिर राम्रो कुरालाई बचाउनुपर्ने र नराम्रो कुराबाट मुक्ति मिल्नुपर्ने उनको तर्क छ।