क्यान्सर नभएको तर कुनै खतरा छ कि भनेर परीक्षण गरिन्छ भने त्यसलाई क्यान्सर स्क्रिनिङ भनिन्छ।
ठूलो आन्द्राको क्यान्सर, जसलाई हामीले कोलोरेक्टल क्यान्सर भन्छौं, केही जनसंख्यामा कस्ता–कस्ता मानिसलाई हुन सक्छ भनेर छुट्याउनु आवश्यक हुन्छ।
कुनै पनि मानिस, केटा होस् या केटी, ४५ वर्ष कटेपछि सामान्य जोखिम बढ्छ। त्यसैले यस्तो व्यक्तिले ठूलो आन्द्राको परीक्षण गर्नुपर्छ भन्ने सुझावहरू अहिले दिइन्छ।
त्यस्तै, कसैको परिवारमा ठूलो आन्द्राको क्यान्सर छ अथवा मासु (पोलिप) पलाएको छ भने त्यस्ता व्यक्तिका नजिकका आफन्तलाई पनि यसको जोखिम हुन सक्छ। जस्तै, कुनै व्यक्तिको दाजुभाइ अथवा बुबा–आमामध्ये कसैलाई क्यान्सर भएको छ भने उसले परीक्षण गर्नुपर्छ।
कुनै मानिसलाई पहिले ठूलो आन्द्राको क्यान्सर भएर उपचारपछि निको भइसकेको छ भने भविष्यमा फेरि क्यान्सर हुने सम्भावना बढी रहन्छ।
ठूलो आन्द्रामा विभिन्न घाउ (इन्फ्लेमेटरी समस्या) भएका व्यक्तिलाई पनि यस्तो क्यान्सरको जोखिम रहन्छ। बच्चा बेलामा शरीरको कुनै भागको क्यान्सर भएर पेटमा रेडिएसन थेरापी अथवा किमोथेरापी गरिएको थियो भने पनि भविष्यमा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढ्छ।
यस्ता जोखिम भएका व्यक्तिहरूले ठूलो आन्द्राको स्क्रिनिङ गर्नु जरूरी छ।
यसका लागि दिसा जाँच गर्ने र दिसामा रगत देखिएमा कोलोनोस्कोपी गर्नुपर्छ।
त्यस्तै, सिटी कोलोनोग्राफी पनि गरिन्छ, तर सबैभन्दा उत्तम भनेको कोलोनोस्कोपी नै हो। बायोप्सी गरेर क्यान्सरको सम्भावना थाहा पाउन सकिन्छ।
कतिपयमा वंशाणुगत रूपमा आएको जिनका कारण १० वर्षकै उमेरमा पनि स्क्रिनिङ गर्नुपर्ने हुन्छ।
बच्चा बेलामा रेडियोथेरापी वा किमोथेरापी गरिएको छ भने ३०–३५ वर्षकै उमेरमा कोलोनोस्कोपी गर्नुपर्छ।
परिवारका कसैलाई क्यान्सर छ भने ४० वर्ष पुग्नासाथ स्क्रिनिङ गर्नुपर्छ। अर्थात्, घरमा कसैलाई भएको छ भने उसलाई भएको उमेरभन्दा १० वर्ष अगाडि नै परीक्षण गर्नुपर्ने हुन्छ।
रोग नलाग्दै परीक्षण गर्नुका कारणहरू छन्। क्यान्सरका विभिन्न चरण हुन्छन्।
पहिलो चरणमा थोरै मासु मात्र पलाएको हुन सक्छ, त्यस्तो अवस्थामा उपचार पनि सहज हुन्छ।
दोस्रो, तेस्रो र चौथो चरणमा पुग्दा यसको मात्रा बढ्दै जान्छ।
ठूलो आन्द्राको क्यान्सर धेरै ढिलो बढ्छ। मासु पलाउन सुरू भएर क्यान्सरमा परिणत हुन झण्डै १५ वर्ष लाग्छ भनिन्छ। त्यसैले सुरूमै पत्ता लगाएर उपचार गरियो भने पूर्ण रूपमा निको हुने सम्भावना हुन्छ। यही कारणले यसको स्क्रिनिङको महत्व बढेको हो।
ठूलो आन्द्राको क्यान्सर जो–कोहीलाई हुन सक्छ, तर जसमा जोखिम बढी हुन्छ, उनीहरूले मात्र स्क्रिनिङ गर्नुपर्छ।
जसलाई लक्षण देखिइसकेको छ—जस्तै दिसामा रगत आउनु, कब्जियत हुनु वा अन्य समस्या देखिनु—त्यसलाई स्क्रिनिङ भनिँदैन। त्यो उपचारका क्रममा गरिने अनुसन्धान हो।
स्क्रिनिङ भनेको होसियारी अपनाउने प्रक्रिया हो। अर्थात्, जोखिममा रहेका व्यक्तिहरूले रोग लाग्नुअघि नै परीक्षण गर्ने हो।
(ठूलो आन्द्राको क्यान्सर स्क्रिनिङ किन जरूरी छ भन्ने विषयमा वरिष्ठ ग्याष्ट्रो सर्जन प्रा.डा.कमल कोइरालासँग हामीले भिडिओ कुराकानी गरेका छौं।)