अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरूद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
५० हजार घुस लिएको आरोपमा मंगलबार थापा क्षेत्रीविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
लागुऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी ‘केस मिलाइदिने’ भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
उनका अनुसार आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा क्षेत्रीले आफ्नो निम्ति घुस/रिसवत माग गरी लिएको पुष्टि भएको भन्दै उनीविरूद्ध मुद्दा दायर गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो ५० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको छ।