मानसिक समस्या सम्बन्धी सबभन्दा धेरै आउने जिज्ञासा भनेको 'मलाई मानसिक रोग हो कि होइन?' भन्ने हुन्छ। जस्तै: कसैलाई टाउको दुख्यो भने 'यो मानसिक समस्या हो कि?' भनेर सोध्ने गरिन्छ। त्यस्तै, कसैको मन आत्तियो भने 'मन आत्तिनु मानसिक समस्या हो कि होइन?' भन्ने प्रश्न उठ्छ।
अर्को जिज्ञासा बिरामीबाट आउने भनेको 'यसको पनि औषधि हुन्छ र?' भन्ने हो। कतिपयलाई मानसिक समस्याको औषधि हुन्छ भन्ने थाहा नहुन सक्छ, भने कसैले थाहा भएर पनि डाक्टरबाट विश्वस्त खोजेका हुन सक्छन्। यसका साथै 'औषधि खाँदा धेरै निद्रा लाग्छ' वा 'जीवनभर औषधि खानुपर्छ' भन्ने जस्ता भ्रमहरू पनि पाइन्छन्।
मानसिक समस्यामध्ये सबभन्दा धेरै देखिने भनेको एन्जाइटी र डिप्रेसन हुन्। यसबाहेक रक्सी लगायतका मादक पदार्थको सेवनले आउने समस्या पनि हुन्छन्। साथै साइकोसिसका कारण आउने बिरामी पनि केही हुन्छन्।
पछिल्लो १० वर्षको अभ्यास हेर्दा, कोभिड महामारीपछि मानसिक रोगबारे खुलेर आउने क्रम बढेको छ। यसै कारणले बिरामी बढेका हुन् कि भन्ने लाग्छ, तर यसबारे पुरानो तथ्यांक हामीसँग छैन।
पहिलेको जस्तो मानसिक समस्यालाई लुकाउनुपर्ने अवस्था त अहिले छैन, तर पनि जति खुलेर आउनुपर्ने हो, त्यति भएको छैन। जसरी सुगर र प्रेसरका बिरामी सहज रूपमा अस्पताल आउँछन्, त्यसरी मानसिक रोगका बिरामी अझै आएका छैनन्।
सामान्यतः कुनै पनि रोग अरूलाई थाहा नहोस् भन्ने चाहना हुन्छ। तर मानसिक रोगको हकमा त आफ्नै परिवारमा पनि सहज रूपमा खुल्न सक्ने अवस्था अझै पूर्ण रूपमा बनेको छैन।
मानसिक स्वास्थ्य समस्यामा सोच, भावना र व्यवहार तीन वटै पक्ष समावेश हुन्छन्। व्यवहार अरूले देख्ने कुरा हो, तर सोच र भावना भने आफैले मात्र अनुभव गर्ने कुरा हो। यिनै सोच र भावनाहरू व्यवहारमार्फत प्रकट हुन्छन्।
यदि कुनै मानसिक समस्याका लक्षणहरूले दैनिक जीवनमा असर पार्न थाले भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ। जस्तै: एन्जाइटी भएमा मन आत्तिने, ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, मनमा धेरै कुरा खेल्ने हुन्छ। यदि यस्तो सोच अरूभन्दा बढी हाबी भयो भने एन्जाइटी भएको हुन सक्छ।
त्यस्तै, डिप्रेसनको अवस्थामा मनमा फुर्ती नहुनु, उदासी लाग्नु, नकारात्मक सोच आउनु, निद्रामा समस्या आउनु जस्ता लक्षण देखिन्छन्। यस्ता कुरा कहिलेकाहीँ आउनु सामान्य हो, तर यदि यसले दैनिक जीवनलाई असर पार्न थाल्यो भने उपचार आवश्यक हुन्छ।
मानसिक रोग विशेषज्ञलाई कहिले भेट्ने?
यदि सोच, भावना र व्यवहारका कारण दैनिक जीवनमा असर पर्न थाल्यो, सम्बन्धमा समस्या आउन थाल्यो, खानपिन वा सुताइमा गडबडी भयो भने चिकित्सकलाई देखाउनु आवश्यक हुन्छ।
मानसिक रोगको उपचार दुई तरिकाले गरिन्छ—औषधि र थेरापी। यी दुवै सँगै प्रयोग गर्न सकिन्छ वा कुनै एकबाट पनि सुधार हुन सक्छ। कुन उपचार गर्ने भन्ने कुरा रोगको अवस्थाअनुसार निर्धारण हुन्छ।
एन्जाइटी र डिप्रेसनका औषधि सधैं जीवनभर खानुपर्छ भन्ने छैन। अवस्था हेरेर केही समय मात्र पनि खानुपर्ने हुन सक्छ। मुख्य कुरा के बुझ्नुपर्छ भने जीवनभर रोग बोकेर हिँड्नुभन्दा औषधि सेवन गर्नु राम्रो हो।
कतिपय बिरामीहरू भन्छन्—'आफन्त वा साथीले मानसिक रोगको औषधि खानु हुँदैन भनेका छन्।' तर औषधि दिने वा नदिने निर्णय डाक्टरले गर्ने हो। डाक्टरले आवश्यक नभएको औषधि कहिल्यै दिँदैनन् भन्ने कुरा बुझ्न जरूरी छ।
(मानसिक समस्या र यसको उपचारबारे पाटन अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. पवन शर्मासँग सेतोपाटीका लागि सञ्जीव बगालेले भिडिओ कुराकानी गरेका हुन्।)