मस्तिष्कमा डोपामिन भन्ने रसायनको कारणले हिँड्न, बोल्न गाह्रो हुने रोगलाई पार्किन्सन भनिन्छ।
पार्किन्सन भएका बिरामीलाई हिँड्नमा सुस्त हुने, हात काम्ने, बोली लरबरिने, हिँड्दाखेरी अलि बांगोटिंगो गरेर हिँड्ने हुन्छ। अनि बस्दा पनि हात कापिरहने हुन्छ।
पार्किन्सन यही कारणले हुन्छ भनेर विज्ञानले भन्न सकेको छैन। यो नसा सुक्ने बिमारी हो।
पार्किन्सन लागेपछि बिरामीलाई हिँड्न, बोल्न र चल्न गाह्रो हुन्छ। यो अचानक हुने बिमारी भने होइन। रोग बिस्तारै बढ्दै जाने हुन्छ। तर बिरामीले यसरी सुरू भयो भनेर भन्ने सक्ने हुँदैन। दैनिक काममा सुस्तता आउँदै गएर नियमित गर्ने काम गर्न गाह्रो हुन्छ।
उपचार कसरी गर्ने?
यो पार्किन्सन रोग मात्र हो, पार्किन्सन जस्तै देखिने अरू बिमारी छ कि छैन या औषधिबाट पार्किन्सनको लक्षण देखिएको छ कि छैन भन्ने आधारमा उपचार हुन्छ।
औषधिको प्रयोग र नियमित व्यायाम नै यसको उपचार हो। नियमित औषधि प्रयोग गर्यो भने ८० देखि ९० प्रतिशत बिरामीको पार्किन्सन नियन्त्रणमा आउँछन्।
औषधिको असर र त्यसले गरेको सुधारबारे हेर्दै जानुपर्छ। कतिपय बिरामीलाई औषधिले सुधारभन्दा पनि असर पार्न थाल्यो भने त्यस्तो अवस्थामा शल्यक्रिया गर्न हामीले सुझाव दिन्छौं।
पार्किन्सन रोग लागेका बिरामीमध्ये धेरैलाई ६० वर्षको उमेरपछि हुन्छ। कतिपय अवस्थामा भने युवालाई पनि हुन सक्छ। विश्वको तथ्यांकलाई हेर्ने हो भने ६० वर्ष माथिको १ प्रतिशतलाई छ भनेर भनिएको हो।
पार्किन्सन पूर्ण रूपमा निको हुने रोगभन्दा पनि नियन्त्रणमा ल्याउने रोग हो।
नेपालमा यो रोग कतिलाई छ भन्ने कुनै तथ्यांक छैन। ४०/५० जना बिरामी हेर्दा १/२ जना बिरामी यस्ता आउँछन्। तीमध्ये कोही नयाँ हुन्छन् भने कोही फलोअपमा आउँछन्।
पार्किन्सन रोग भयो भन्दैमा भयावह भयो भन्न पर्दैन। नियमित औषधि र व्यायामले यसलाई सहजीरण गर्न सकिन्छ।
(मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ नशा रोग विशेषज्ञ डा.बाबुराम पोखरेलसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)