काठमाडौं, धुम्बाराही चोकबाट अलि अगाडि एउटा साँघुरो गल्लीमा छ 'ब्लू डाइमन्ड सोसाइटी' अर्थात् नीलहिरा समाज।
यो एक कार्यालय मात्र होइन, कैयौंका लागि 'घर' हो। थकान बिसाउने चौतारी हो। सपना देख्ने बिछ्यौना हो। लर्खराएका बेला अडिने खम्बा हो।
यो ठाउँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले आफ्नो पहिचान पाउने थलो पनि हो।
अनि यो घर सम्हालिरहेकी एक मूली हुन् ४८ वर्षीया पिंकी गुरूङ।
उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरैका लागि 'ममी' हुन्। यो आमाको सम्मान उनले यसै आर्जेकी होइनन्। यसका लागि उनले दुई दशकभन्दा बढी समय संघर्ष गरेकी छन्।
समुदायका कोही घरबाट लखेटिँदा, कुटिँदा वा विवाद हुँदा मात्र होइन, कसैलाई प्रहरीले नियन्त्रणमा लियो भने पनि उनैलाई खबर आउँछ।
एक महिनाअघि स्वयम्भूमा विवादमा परेका दुई ट्रान्सवुमन (पारलैंगिक महिला) र एक पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको खबर आयो।
'झगडामा एक छोरीले कानमा लगाएको सुनको मुन्द्रा हराएछ। अर्कोको स्कुटर तोडफोड भएछ,' उनले भनिन्, 'दुवैलाई क्षतिपूर्ति दिलाएर झगडा सल्टायौं।'
त्यस्तै, भक्तपुरमा पनि झगडामा परेर दुई ट्रान्सवुमन गम्भीर घाइते भएका थिए। प्रहरीले अस्पताल पुर्याइदिए पनि उनीहरूसँग उपचार खर्च थिएन।
परिवारबाट अलग भएर बसेका उनीहरूलाई पिंकीले यसै छाड्न सकिनन्। सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरेर उपचार गराइन्।
माग्न बस्नेहरूबीच झगडा हुँदा पनि पिंकीलाई नै खोजिन्छ। काठमाडौं उपत्यकामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३ सय जनाभन्दा बढी माग्न बस्ने तथ्यांक छ।
क्षेत्र छुट्ट्याएर माग्न बस्ने भएकाले अर्को ठाउँ पुग्दा विवाद भइहाल्ने पिंकी बताउँछिन्।
'गाली गर्ने र खाने दुवैले सम्पर्क गर्छन्,' उनले भनिन्, 'दुवैलाई सम्झाइ–बुझाइ गरेर मिलाउँछु। एउटालाई काखा र अर्कोलाई पाखा गर्न मन लाग्दैन।'
प्रहरीले पनि यो समुदाय संलग्न गतिविधिमा उनीसँग सहकार्य गर्छ।
चार–पाँच महिनाअघि यो समुदायका एक व्यक्तिले सुन चोरी गरेको भन्दै प्रहरी वृत्त दरबारमार्गबाट फोन आयो। प्रहरीले पिंकीलाई भिडिओमा देखिएका व्यक्तिलाई लिएर आउनू भने।
पिंकीले ती व्यक्तिलाई फकाएर लगिन्। गहना फिर्ता गराइयो। केही दिन थुनामा पनि राखियो।
त्यसपछि समुदायले नै चोर्ने व्यक्ति–समूहलाई कारबाही गर्न थाल्यो।
'अहिले समुदायका व्यक्तिले चोरेको गुनासो/उजुरी सुन्नुपरेको छैन,' पिंकीले भनिन्।
तर दिनहुँ केही न केही घटना आइरहन्छन्। सुल्झाउँदा–सुल्झाउँदै पिंकीको दिन बित्छ।
ब्लू डाइमन्ड सोसाइटीमा अध्यक्ष हुँदादेखि अहिले 'एड्भाइजर' हुँदासम्म उनी यसरी नै खटिरहेकी छन्।
'समुदायका व्यक्तिहरूलाई बचाउने, सीप सिकाउने र उनीहरूको हकहितका लागि लड्दै आएँ,' उनले भनिन्, 'पहिला आफूसँग लड्नुपर्यो। पछि समाजसँग लड्दै जिन्दगी बित्यो।'
पिंकीको जन्म पुरूषका रूपमा भएको थियो। नाम थियो, सञ्जीव।
उनी लमजुङको दूधपोखरी गाउँपालिकामा २०३५ पुस ५ गते जन्मेका हुन्। बुबा ओमबहादुर र आमा शान्तिका आठ सन्तानमध्ये उनी चौथो सन्तान हुन्।
उनका १० वर्ष र ३ वर्षका दाजुको एक–डेढ वर्षको अन्तरमा मृत्यु भयो। त्यसपछि गाउँ नफापेको भन्दै ओम स–परिवार काठमाडौं आए। त्यो बेला सञ्जीव ६/७ महिनाका थिए।
ओम नेपाली सेनामा कार्यरत थिए। परिवारलाई दुई छाक टार्न समस्या थिएन।
सञ्जीव काठमाडौंको सिद्धि गणेश माध्यमिक विद्यालयमा पढ्न थाले। सानैदेखि चञ्चले, लजालु स्वभावका थिए। उमेर बढ्दै जाँदा भने स्कुलका साथीले जिस्काउन थाले।
'कस्तो केटीजस्तो लजाउँछ, मस्किन्छ र हिँड्छ भन्थे,' पिंकीले सुनाइन्, 'किन त्यस्तो भनेका होलान् भनेर सोच्थेँ। पछि पछि त म किन यस्तो भएँ भनेर पिर पर्न थाल्यो।'
उनले २०५४/५५ सालमा एसएलसी (एसइई सरह) दिए।
कलेजमा उनलाई एक जना केटा मनपर्यो।
'पुरूषप्रति आकर्षित भएँ। साथीहरूले पनि छक्का जस्तो छ भनेर जिस्काउन थाले,' पिंकीले सम्झिइन्।
उनले आफू त्यस्तो होइन भनेर देखाउन आफ्नो व्यवहार लुकाउन खोजे। तर उनलाई ऐंठन जस्तो हुन्थ्यो।

शरीर पुरूष र मन केटीको, सम्हाल्न गाह्रो हुँदै गयो। अत्यधिक तनाव धान्न सकेनन्। कक्षा–१२ मा पढ्ने बेलामा एक दिन कक्षामै बेहोस भए।
'कक्षाकै केटाहरूले छक्काहरू रत्नपार्कको सडकमा भेटिन्छन् भने। एकदिन म उनीहरूलाई खोज्न निस्किएँ।'
साँझपख रत्नपार्कमा पुरूषको शारीरिक बनावट भएका केही व्यक्ति पछ्यौरी ओढेर बसेका थिए। खुल्लामञ्च भित्र पनि समूहमा बसेका उनले देखे।
उनीहरूसँग सोधपुछ गरे।
'उनीहरूले मलाई शारीरिक बनावट एउटा भएर भावनात्मक रूपमा अर्को हुनुलाई तेस्रोलिंगी भनिन्छ भन्ने बुझाए,' उनले भनिन्, 'मलाई त आफ्नो पहिचान स्वीकार गर्न गाह्रो भयो।'
उनले आफूलाई म सञ्जीव, केटा नै हुँ भनेर सम्झाए। तर सकेनन्। रत्नपार्क गएर आफूजस्तै मानिसहरूसँग भेटघाट बढाए। बिस्तारै आफ्नो वास्तविक पहिचान स्वीकार गरे।
नाम सञ्जीव नै थियो, तर उनले आफूभित्र महिला भएको यकिन गरिन्।
'म तेस्रोलिंगी हुँ भन्ने स्वीकार गरेँ। त्यो बेला यो समुदायबारे केही थाहा थिएन। रत्नपार्कमा जे देखेँ, त्यही होला भन्ठानेँ। अनि घरपरिवारलाई थाहा नदिई म पनि रत्नपार्कमा बस्न थालेँ,' उनले भनिन्, 'पहिरन पुरूषकै लगाउँथ्यौं। कालो पछ्यौरा ओढेर बसेपछि यौनकर्मी भन्ठानेर प्रस्ताव राख्न आउँथे।'
तर त्यो बेला यो काम उनका लागि पेसा थिएन। उनलाई आफूभित्रको छट्पटी र यौन चाहना बिसाउनु थियो। कसैकसैले पैसा दिन्थे पनि।
'त्यो नवयौवनको उमेरमा शारीरिक सन्तुष्टिका लागि त्यो काम गरिन्थ्यो,' उनले सुनाइन्।
बिस्तारै उनले आफू जस्तै पहिचानका लागि संघर्ष गरिरहेका धेरै मानिस हुने रहेछन् भन्ने देखिन्। आफ्नो समुदायका व्यक्तिहरूसँग घुलमिल र चिनजान बढाइन्।
यही क्रममा उनको परिचय सुनीलबाबु पन्तसँग भयो। सुनीलले ब्लू डाइमन्ड सोसाइटी दर्ता गरिसकेका थिए। सोमार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई एकजुट गर्ने उद्देश्य उनको थियो।
त्यसपछि सुनील, पिंकीसहित अरू दस–बाह्र जना मिलेर समुदायका व्यक्तिहरू खोज्न थाले। समुदायको पहिचान स्थापना गराउन विभिन्न रेडियो कार्यक्रम र ब्रोसरहरू बनाए।
उनका अनुसार त्यो बेला नेपालमा पनि यो समुदायका मानिस छन् भन्दा कसैले पत्याउँदैनथे। सोध्दा मात्र पनि गाली, बेइज्जत गरेर पठाउँथे। जेजति संस्थामा आबद्ध भएका थिए, उनीहरूको परिवारलाई पनि थाहा थिएन।
पिंकी पनि परिवारलाई केही थाहा थिएन।
उनी दिनभर संस्थामा काम गर्थिन्, साँझ रत्नपार्क पुग्थिन्। पछि पछि साथीको डेरामा महिला पहिरन लगाएर हिँड्न थालिन्।
तर सधैं यो सम्भव भएन। त्यसैले उनले घरबाटै महिला पहिरनमा निस्किने निधो गरिन्।
त्यति बेलासम्म उनका बुबाले बसुन्धारामा घर किनिसकेका थिए। उनले आमाबुबा माथिल्लो तलामा भएका बेला महिला पहिरनमा निस्किने प्रयास गरिन्। तर कोठाबाहिर खुट्टा निकाल्नासाथ डराएर फर्किइन्।
तीन–चार पटक यस्तै भयो।
एक दिन भने उनले हिम्मत गरिन् — आज बाहिर निस्किन सकिनँ भने कहिल्यै सक्दिनँ!
'बाहिर हिँड्दा सबैले मलाई मात्र हेरिरहे जस्तो लाग्यो। डरले शरीर पूरै कामेको थियो,' उनले भनिन्।
घरबाट यसरी निस्किन थालेपछि आसपासका मानिसले उनको कुरा काट्न थाले। एक दिन बुबाले पनि देखेर सोधपुछ गरे।
पिंकीले आफू 'तेस्रोलिंगी' भएको सुनाइन्। आमाबुबाले छोरा नै होस्, त्यस्तै बन् भनेर सम्झाइ–बुझाइ गरे। पिंकी आफ्नो पहिचानमा अडिग रहिन्।
ब्लू डाइमन्डमा काम गरेको तीन–चार वर्ष भइसकेको थियो। आफ्नो पहिचानबारे बोल्न सक्ने भइसकेकी थिइन्।
'तेस्रोलिंगी हुनु नराम्रो होइन, अभिभावकका लागि गर्वको विषय हो भनेर आमाबुबालाई राम्ररी सम्झाएँ। त्यसपछि उहाँहरूले केही भन्नुभएन,' उनले भनिन्।
बिस्तारै उनलाई सञ्जीव नाम बिझाउन थाल्यो। २५/२६ वर्ष उमेरमा उनले नाम फेरेर पिंकी राखिन्।
पिंकी बनेसँगै उनी ब्लू डाइमन्डमा अझ सक्रिय भइन्। समुदायको हक र अधिकारका निम्ति लड्न थालिन्। नागरिकतामा महिला र पुरूषबाहेक 'अन्य' लिंग पनि हुनुपर्ने माग सहित सडकमा प्रदर्शन भए।
'प्रदर्शन क्रममा प्रहरीको लाठी कति खाएँ भन्ने कुनै लेखाजोखा छैन। तर त्यही सडकले मलाई आफ्नाहरू चिनायो, पहिचान दिलायो,' उनले भनिन्, 'सर्वोच्च अदालतले नागरिकतामा अन्य लिंगको व्यवस्था गरेर ऐतिहासिक फैसला गर्यो।'
उनलाई आफ्ना समुदायका मानिस नीति बनाउने ठाउँमा नपुगेसम्म कानुनी उल्झन आइरहने महसुस हुँदै गयो। त्यसैले उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट पहिलो तेस्रोलिंगी उम्मेदवार बनिन्।
'चुनाव नजिते भए पनि धेरै जनाको मन जित्न सकेँ,' उनले भनिन्, 'घरबाट लखेटिएर, पहिचान लुकाएर, रून नसकेर काठमाडौं छिर्ने यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि सहारा बनेँ।'
उनले एकछिन रोकिएर थपिन्, 'त्यही कारण धेरैले ममी भन्छन्। उनीहरूले ममी भनेको सुन्दा मेरो जीवनका सारा अपमान बिर्सिन्छु।'
उनी संस्थाको अध्यक्ष भएपछि समुदायका हकहितका लागि आवाज झन् चर्को रूपमा उठाइन्। र, अहिले पनि उनको लडाइँ सकिएको छैन।
यो समुदायका व्यक्तिको पनि हरेक क्षेत्रमा सहभागिता हुनुपर्ने, समान व्यवहार गरिनुपर्ने भनेर आवाज उठाइरहेकी छन्।
पछिल्लो चुनावमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी भूमिका श्रेष्ठ रास्वपा समानुपातिक सांसद बनेसँगै आफूहरूको आवाजले ठाउँ पाउने आश उनको छ।
'हामीलाई हरेक क्षेत्रमा समान समावेशिता चाहिएको हो,' यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी पिंकीले भनिन्, 'अब आउने पिँढीले आफ्नो पहिचानका लागि डराउनु नपरोस्। आफ्नो रगतको नाता तोड्नु नपरोस्।'
