बाराको कलैयास्थित जिल्ला प्रहरी कार्यालय, बाराको मुख्य गेट अगाडि सडकमा सोमबार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रदर्शन गरे। उनीहरूले प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ।
उनीहरू किन त्यसरी प्रदर्शनमा उत्रिए त?
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार कलैया उपमहानगरपालिका १४ घर भई वडा नं ६ मा बस्ने खुश्बु भन्ने अफजल मियाँ दर्जी विरूद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी आएको थियो।
घटनाबारे अनुसन्धानका लागि जेठ ३ गते प्रहरीले खुश्बुलाई पक्राउ गरी न्यायिक हिरासतमा राखेको थियो। उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका थिए। खुश्बुलाई रिहा गर्न माग गर्दै सोमबार बिहान १०ः२५ बजेतिर उनीहरू प्रदर्शनमा उत्रिएका थिए।
सडक आवागमन अवरूद्ध हुनेगरी हो–हल्ला र प्रदर्शन गरेपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो।
शान्ति सुरक्षाको लागि प्रहरी बरिष्ठ नायव निरीक्षक विनोद राना मगरको नेतृत्वमा प्रहरी टोली खटाएको थियो।
प्रहरीले हो–हल्ला नगर्नु, सडकमा अवरोध नगर्नु सम्झाई बुझाइ गर्दा उल्टै आवेशमा आएर प्रहरी टोलीमाथि लज्जित हुने अपशब्द, गालीगलौज गर्नुको साथै सार्वजनिक स्स्थानमा नम्नता प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
शान्ति सुरक्षामा अवरोध गरेको, प्रहरी माथि नै हातपात अभद्र व्यवहार गर्न खोजेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
रौतहट देवाही गोनाही गा.पा.वडा नं. ०५ बस्ने दिव्या रानी (२६), बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ८ बस्ने निशा भारती (२५) र निशा देवी –(५७) लाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्रले बताए।