नेपालमा पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार नेपालमा बाघको कुल संख्या ४२९ पुगेको छ।
चार वर्षअघि (सन् २०२२) को गणनामा नेपालमा ३५५ वटा बाघ रहेकामा यसपटक ७४ वटा थपिएका हुन्।
नयाँ तथ्यांक अनुसार पर्सा राष्ट्रिय निकुञ्जपछि बाँके राष्ट्रिय निकुञ्जले बाघ संरक्षणमा सबैभन्दा ठूलो फड्को मारेको छ। अर्कोतिर, बाघका लागि चर्चित बर्दिया राष्ट्रिय निकुञ्जमा भने यसपटक बाघको संख्या केही घटेको छ।
पाटे बाघको संरक्षणकै उद्देश्यले सन् २०१० (विक्रम संवत् २०६७) मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बरभन्दा बढीले वृद्धि भई ५१ पुगेको छ। सन् २०२२ को गणनामा यहाँ २५ वटा बाघ फेला परेका थिए। बितेको १६ वर्षको अवधिमा गुणात्मक रूपमा बाघको संख्या बढेपछि त्यहाँका संरक्षणकर्मीहरू निकै उत्साहित छन्।
विगतका गणनालाई हेर्दा सन् २०१३ मा बाँकेमा जम्मा ४ वटा बाघ मात्र फेला परेका थिए। पछि सन् २०१८ मा २१ वटा, सन् २०२२ मा २५ वटा र अहिले बढेर ५१ वटा पुगेका हुन्।
बाँके निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार छोटो अवधिमै मिलेको यो सफलतामा प्रभावकारी संरक्षण व्यवस्थापन, चोरी-शिकारी नियन्त्रण, सामुदायिक सचेतना, स्थानीयको व्यवहारमा सुधार र आहाराजन्य जीवजन्तुको पर्याप्त उपलब्धता प्रमुख कारण हुन्।
कँडेलका अनुसार एउटा भाले बाघले करिब ५० वर्ग किलोमिटर र पोथी बाघले ३० वर्ग किलोमिटरसम्म आफ्नो क्षेत्र (टेरिटोरी) निर्धारण गरेर बस्छन्। बाँकेमा एउटा वयस्क भाले पाटे बाघ आहारा र प्रजननका लागि कुसुमदेखि खैरीसम्म ३० देखि ४० किलोमिटरसम्म घुमेको पाइएको छ।
चुरे र भावर क्षेत्रमा पर्ने भएकाले बाँके राष्ट्रिय निकुञ्जमा सुख्खा याममा पानीको ठूलो संकट थियो। प्राकृतिक पानीका स्रोतका रूपमा मुगुवा खोला, चंगाइ नाला र राप्ती नदी रहे पनि निकुञ्जभित्र वर्षभरि पानी उपलब्ध गराउन विशेष मेहनत गरिएको छ।
निकुञ्ज प्रशासनले ६० देखि १५० मिटरसम्म 'डिप बोरिङ' गरी सोलार पावर र समरवेल मोटरमार्फत चल्ने ३० वटा कृत्रिम पोखरी निर्माण गरेको छ। यी पोखरीले ध्वनिसमेत उत्पन्न नगर्ने भएकाले वन्यजन्तुलाई असर पर्दैन। भविष्यमा प्रत्येक ३ देखि ५ किलोमिटरको दूरीमा यस्ता पोखरी बनाउने योजना छ।
यसैगरी बाघको आहाराका रूपमा रहेका मृग र बँदेलजस्ता जनावरको वृद्धिका लागि करौती, गोठेरी, ठुरिया, ओभरी, चौका र खैरी क्षेत्रमा करिब ५०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान विस्तार गरिएको छ। निकुञ्जमा वयस्क बाघका साथै डमरूको संख्या पनि बढ्दै गएकाले बाँके बाघका लागि उपयुक्त बासस्थान बनेको प्रमाणित हुन्छ।
बाँकेमा बाघको संख्या शतप्रतिशतभन्दा बढीले बढ्दा सीमा जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा भने केही संख्या घटेको छ।
बर्दियाका प्रवक्ता महेश न्यौपानेका अनुसार सन् २०२२ मा १२५ वटा बाघ फेला परेकामा यसपटक क्यामेरामा ११२ वटा मात्र कैद भएका छन्, अर्थात् १३ वटा बाघ घटेका छन्।
तर, बर्दिया र बाँकेको सीमा जोडिएकाले बर्दियाका बाघहरू भूगोल खोज्दै बाँकेतिर सरेको हुन सक्ने तर्क न्यौपानेको छ। यद्यपि बाँकेका वरिष्ठ संरक्षण अधिकृत कँडेल भने सन् २०१० अघि पनि सीमा जोडिएकै अवस्थामा बाँकेमा बाघ नहुनु र अहिले ह्वात्तै बढ्नुले बर्दियाबाट बाघ सरेका मात्र हुन् भन्नु सही बुझाइ नहुने बताउँछन्। बाघले आफ्नो क्षेत्र बनाएर बस्ने भएकाले ओहोरदोहोर गरे पनि स्थायी रूपमा नसर्ने उनको भनाइ छ।
यसपटक बाघ गणनाका लागि बाँके-बर्दिया कम्प्लेक्सका ६ वटा ब्लकमा तीन महिनाभन्दा बढी समय क्यामेरा जडान गरिएको थियो— जसमा दाङ क्षेत्रमा ९८, बाँके क्षेत्रमा ३४८ र बर्दिया क्षेत्रमा ४५५ वटा क्यामेरा प्रयोग भएका थिए।
बुधबार सार्वजनिक तथ्यांक अनुसार नेपालका प्रमुख निकुञ्जहरूमध्ये चितवनमा १४५ (१७ ले वृद्धि), बर्दियामा ११२ (१३ ले कमी), पर्सामा ७१ (३० ले वृद्धि), बाँकेमा ५१ (२६ ले वृद्धि) र शुक्लाफाँटामा ५० (१४ ले वृद्धि) वटा बाघ पुगेका छन्।
बाँकेमा बाघको संख्या बढेसँगै पर्यटकीय गतिविधि पनि बढेको छ।
आर्थिक वर्ष २०७९/०८० मा ३०६ जना र २०८०/०८१ मा ४४४ जना पर्यटक आएकामा आव २०८१/०८२ मा यो संख्या बढेर १,४६६ पुगेको छ। पर्यटकको संख्या डेढ सय प्रतिशतले बढेकाले भविष्यमा 'वाइल्डलाइभ टुरिजम'मार्फत रोजगारी र स्थानीयको आम्दानी बढाउन सकिने देखिन्छ।
तर, बाघको संख्या वृद्धिले हर्ष मात्र होइन, चुनौती पनि थपेको छ। विशेषगरी मानव-वन्यजन्तु द्वन्द्व बढेकाले यसलाई न्यूनीकरण गर्न आरसीसी वाल लगाउने, तारबार गर्ने, आधुनिक प्रविधिको प्रयोग र सचेतना फैलाउने कार्य दुवै निकुञ्जमा भइरहेको छ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको थियो।
सन् २००९ मा नेपालमा १२१ वटा मात्र बाघ रहेकामा सन् २०२२ सम्म २५० पुर्याउने लक्ष्य राखिएको थियो। नेपालले सो लक्ष्य भेट्टाएर करिब तेब्बर नजिक बाघ पुर्याएको थियो भने अहिले त्यो संख्या ४२९ पुगेको छ। विश्वमै संकटापन्न मानिने पाटे बाघ नेपाल, भारत, बंगलादेशसहित विश्वका १३ वटा देशमा मात्र पाइन्छ।