हिजोआज हामी सबै मोबाइल वा ल्यापटपमा धेरै समय बिताउँछौं।
यसो गर्दा हाम्रो ध्यान त्यसले दिमागमा पार्ने असरमा मात्र केन्द्रित हुने गरेको छ। तर स्क्रिन-टाइम जति बढ्दै गयो, त्यसले दिमाग मात्र होइन, बिस्तारै बिस्तारै हाम्रा शारीरिक संरचनाहरू नै फेरिँदै गएका छन्।
केही समयअघि मैले आफ्नो कान्छी औंलामा एउटा सानो ठेला उठेको देखेँ। त्यो ठेला ठ्याक्कै त्यही ठाउँमा थियो, जहाँ म अक्सर मोबाइल अड्याउने गर्छु।
यसले मलाई सोच्न बाध्य बनायो — यदि मोबाइल अड्याउने औंलामा ठेला उठेको छ भने बाँकी शरीरमा कस्तो असर पारिरहेको होला?
यसको जबाफ खोज्न मैले केही विज्ञहरूलाई फोन गरेँ।
उनीहरूको जबाफले मेरो चिन्ता झनै बढाइदियो।
पछिल्ला वैज्ञानिक अध्ययनहरूका अनुसार मोबाइल फोन र अन्य डिजिटल उपकरणले तपाईंको घाँटीको बनोट बिगार्ने, आँखाको ज्योति कमजोर बनाउने, शारीरिक सन्तुलनमा असर पार्ने र मांसपेशीको शक्ति घटाउने काम गरिरहेका छन्।
प्रविधिमा आधारित आधुनिक जीवनशैलीका कारण मानिसको अनुहार र घाँटीमा चाउरीपना देखिन थालेको पनि वैज्ञानिक अनुसन्धानले देखाएको छ।
अझ गम्भीर कुरा त, यस्ता शारीरिक समस्याले पछि गएर सोच्ने र बुझ्ने क्षमता (मानसिक स्वास्थ्य) मा कमी ल्याउन सक्छन्।
त्यसैले, यदि तपाईं प्रविधिका कारण आफ्नो शरीर बिग्रन दिन चाहनुहुन्न भने केही सजिला उपाय अपनाउन सक्नुहुन्छ।
आँखाको समस्या
केही दशकयता संसारभरि 'मायोपिया' (नजिकको वस्तु मात्र देख्ने तर टाढाको नदेख्ने समस्या) तीव्र रूपमा बढिरहेको छ। बदलिँदो जीवनशैलीका आधारमा यसको दोष प्रविधिलाई दिने गरिएको छ।
अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका नेत्रविज्ञान (अप्टोमेट्री) का प्राध्यापक डोनाल्ड मुट्टीका अनुसार यो कुरा केही हदसम्म सत्य भए पनि हामीले सोचेजस्तो भने होइन।
मुट्टी र उनको टिमले बालबालिकाका आँखाको विकास र मायोपिया हुनुका कारणबारे २० वर्षभन्दा लामो अध्ययन गरेको थियो।
अध्ययनको मुख्य प्रश्न थियो — के आँखा नजिक राखेर फोन वा ल्यापटप हेर्नु र मायोपिया रोग लाग्नुमा कुनै सम्बन्ध छ?
उत्तर थियो — खासै छैन।
तर त्यही अध्ययनले अर्को रोचक तथ्य फेला पार्यो — बाहिर खुला ठाउँ वा घाममा समय बिताउँदा आँखा सुरक्षित रहन्छ।
भन्नुको मतलब, बाहिरको उज्यालो प्रकाशले आँखाको रेटिनाबाट 'डोपामाइन' नामक रसायन निकाल्न मद्दत गर्छ, जसले आँखाको विकासमा सघाउँछ।
'प्रविधिको विकाससँगै मानिसहरू बाहिर निस्कनुको साटो कोठाभित्रै धेरै समय बिताउन थालेका छन्। आधुनिक उपकरणहरूले अप्रत्यक्ष रूपमा हाम्रा आँखालाई असर गरिरहेका छन्,' मुट्टीले भने।
उनका अनुसार यसबाट बच्ने उपाय एकदमै सरल छ — बाहिर खुला ठाउँमा बढी समय बिताउने। यसले आँखालाई मात्र होइन, राम्रो निद्रा पार्न पनि मद्दत गर्छ।
'तर घामको हानिकारक असरबाट बच्न सनस्क्रिन र सनग्लास (चस्मा) लगाउन भुल्नु हुँदैन,' उनले भने।
तपाईंको टाउको अहिले कुन अवस्थामा छ?
यदि तपाईं यो लेख फोनमा पढिरहनु भएको छ भने, सम्भवतः तपाईंले आफ्नो टाउको तल झुकाउनु भएको छ।
यसरी टाउको अगाडि झुकाउने बानीले तपाईंको घाँटीमा २७ केजीसम्मको भार वा दबाब दिन्छ।
समयक्रममा यसले मेरूदण्डको 'डिस्क' (हड्डीबीचको भाग) लाई क्षति पुर्याउन सक्छ। जोर्नी र मांसपेशीहरू कमजोर बनाउन सक्छ। र, फोक्सोको श्वासप्रश्वास क्षमता घटाउन सक्छ। यसलाई आधुनिक चिकित्सा भाषामा 'टेक नेक' भन्न थालिएको छ।
यसले तपाईंको शरीरको प्राकृतिक बनोटलाई स्थायी रूपमै बिगार्न सक्छ।
चिकित्सकको सल्लाहमा केही विशेष व्यायाम गरेर यो समस्या सुधार्न सकिन्छ।
अहिले नै गर्न सकिने केही सजिला उपाय पनि छन् — आफ्नो फोनलाई अलि माथि उठाएर हेर्ने। स्क्रिनलाई सधैं आँखाको तह (आई-लेभल) मा र अनुहारबाट झन्डै एक हातको दूरीमा राख्ने।
कम्प्युटर मनिटरका हकमा पनि यही उपाय लागू हुन्छ।
विज्ञहरूका अनुसार कामको बीच-बीचमा ब्रेक लिनु पनि फाइदाजनक हुन्छ। उदाहरणका लागि, प्रत्येक आधा घन्टामा २० सेकेन्डका लागि स्क्रिनबाट आँखा हटाउनु राम्रो हो।

छाला चिलाउने र घाँटीको चाउरीपना
हालै एउटा नयाँ चिन्ता थपिएको छ — के 'टेक नेक' का कारण घाँटीमा चाउरीपना बढ्दैछ?
बेलायतको रोयल कलेज अफ फिजिसियन्सकी छाला रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) जस्टिन हेक्सटाल भन्छिन्, 'सिद्धान्ततः यो कुरा सम्भव देखिन्छ।'
उनका अनुसार लगातार एउटै आसनमा बस्दा वा घाँटी धेरै खुम्च्याउँदा चाउरीपना आउन सक्छ। यसलाई प्रमाणित गर्ने कुनै ठोस अनुसन्धान भने भइसकेको छैन। त्यसैले, इन्टरनेटमा पाइने विशेष 'टेक नेक क्रिम' हरूको पछि नलाग्न उनी सल्लाह दिन्छिन्।
अन्य छालाजन्य समस्याहरू भने पक्कै छन्, विशेष गरी स्मार्टवाच (स्मार्ट घडी) कहिल्यै नफुकाली लगाउनेहरूका लागि।
'घडी मुनिको अँध्यारो र ओसिलो ठाउँमा ढुसी पलाउन सक्छ, जसले छाला चिलाउने वा एक्जिमा (इन्फेक्सन) हुन सक्छ,' उनले भनिन्।
यसले छालाको सुरक्षात्मक पत्र बिगार्ने भएकाले घडीमा प्रयोग हुने निकल, रबर, लेटेक्स वा अन्य रसायनका कारण छालामा कडा एलर्जी समेत हुन सक्छ।
यसबाट बच्ने उपाय सजिलो छ — समय समयमा स्मार्टवाच फुकाल्ने र छाला सफा राख्ने। दिनभर घडी लगाउनुपर्ने भए छालाको सुरक्षाका लागि उपयुक्त मोइस्चराइजर वा 'ब्यारियर क्रिम' लगाउन सकिन्छ।
कमजोर बन्दै गएका हातहरू
पछिल्लो समय मानिसको हातको समात्ने शक्ति (ग्रिप स्ट्रेन्थ) लाई उसको समग्र स्वास्थ्यको एउटा महत्त्वपूर्ण सूचक मान्न थालिएको छ।
एक अध्ययन अनुसार, रक्तचाप (ब्लड प्रेसर) भन्दा हातको समात्ने शक्तिले मानिसको अकाल मृत्युको जोखिमलाई सही ढंगले संकेत गर्छ। तर धेरै देशहरूमा विशेष गरी युवा पुस्तामा, यो शक्ति घट्दै गएको पाइएको छ।
जर्मनीको मेडिकल युनिभर्सिटी अफ लाउसित्जका मेडिकल समाजशास्त्रका प्राध्यापक जोहानेस बेलर भन्छन्, 'नयाँ पुस्तामा हातको शक्ति घट्नु भनेको कमजोर हात मात्र होइन, यो उनीहरूको भविष्यको स्वास्थ्यको पूर्वसंकेत पनि हुन सक्छ।'
'लामो समय एकैठाउँ बसेर कम्प्युटरमा काम गर्दा मानिसको शारीरिक तन्दरूस्ती (फिटनेस) घट्छ। यसले हातको शक्तिमा पनि असर गरेको हुन्छ,' उनले भने।
तपाईंको हात कति बलियो छ भनेर जाँच्न एउटा टेनिस बललाई आफ्नो पूरा बल लगाएर १५ देखि ३० सेकेन्डसम्म थिचेर राख्न सक्नुपर्छ। यदि त्यसो गर्न सक्नुहुन्न भने हात र नाडीका केही व्यायाम गर्न सकिन्छ।
यो हातको बल बढाउने कुरा मात्र होइन, समग्र शरीरलाई नै तन्दरूस्त राख्ने कुरा हो। त्यसैले, शारीरिक रूपमा सक्रिय हुन र व्यायाम गर्न आवश्यक छ।
हात र आँखाको समन्वय (ह्यान्ड-आई कोअर्डिनेसन)
प्रविधिले हाम्रो 'मोटर स्किल्स' अर्थात् दिमाग र शरीरको समन्वयमा काम गर्ने क्षमतालाई पनि प्रभावित गरिरहेको छ।
जर्मनीको 'युनिभर्सिटी अफ रेगेन्सबर्ग' का मनोविज्ञान प्राध्यापक सेबास्टियन सुगेटका अनुसार यसले कम्प्युटर क्लिक गर्ने वा फोन स्वाइप गर्ने जस्ता काममा त तपाईंलाई सिपालु बनाउला, तर समग्र शारीरिक सन्तुलन र हातका मसिना काम गर्ने क्षमतामा नकारात्मक असर देखिएको छ।
वयस्कहरूका तुलनामा बालबालिकामा यसको असरबारे धेरै अध्ययन भएका छन्। सुगेटको आफ्नै अनुसन्धानले स्क्रिनमा धेरै समय बिताउने बालबालिकाको शारीरिक समन्वय क्षमता कमजोर हुने देखाएको छ।
बालबालिका र किशोर-किशोरीको शारीरिक सन्तुलन उनीहरूको मानसिक र शैक्षिक विकाससँग जोडिने भएकाले यो निकै चिन्ताको विषय हो।
यसको अर्थ आत्तिइहाल्नु वा स्क्रिनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु भने होइन। बरू दैनिक जीवनमा हातले गर्ने भौतिक कामहरू बढाउनु हो। जस्तै– खाना पकाउने, चित्र कोर्ने, वा हस्तकलाका कामहरू गर्ने।
सुगेट आफै पनि काठका सामानहरू बनाउँछन्। तपाईं कुनै बाजा बजाउन सिक्न सक्नुहुन्छ वा हातले लेख्ने बानी गर्न सक्नुहुन्छ।
सुगेट भन्छन्, 'यसको असर बिस्तारै देखिन्छ। यो संसारै सकिन लागेजस्तो ठूलो कुरा पनि होइन। तर व्यक्तिगत रूपमा सानो असर देखिए पनि, सिंगो पुस्तामा यसले समाजलाई नै सुस्त र व्यावहारिक रूपमा सोच्न असमर्थ बनाउन सक्छ। किनकि, हात नै यो संसारसँग जोडिने हाम्रो सबैभन्दा मुख्य माध्यम हो।'
(यो स्टोरी हामीले बिबिसीबाट अनुवाद गरेका हौं।)