राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्।
सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्।
नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको उनले बताए।
नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ। भदौ १ सम्म आइपुग्दा मनसुन अवधि करिब एक महिना १४ दिन बाँकी रहेको छ। अब जोखिम व्यवस्थापनका लागि ‘काउन्टडाउन’ मा जानुपर्ने अवस्था रहेको प्रमुख उप्रेतीले बताए।
उनका अनुसार यसवर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्यपहाडी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मधेस क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांक उद्धृत गर्दै प्रमुख उप्रेतीले नेपालमा वार्षिक औसत वर्षा करिब १ हजार ४ सय ७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिब ८ सय २४ मिलिमिटर वर्षा भएको बताए। यो कुल औसतको करिब ५५ प्रतिशत हो। तर वर्षाको समग्र परिमाणभन्दा यस वर्षको वितरण र प्रवृत्ति फरक देखिएको उनको भनाइ छ। पश्चिम नेपालमा आगामी तीन दिनमा भारी वर्षासम्म हुन सक्ने र तराई तथा मधेस क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना देखिएको उनले बताए।
उनले भने, ‘नेपालले मनसुन भित्रिने दिन जुन महिनाको १३ तारिकलाई मानेको छ। अक्टोबरको २ तारिकलाई बाहिरिने मानेको छ। त्यो हुनाले अहिलेसम्मको लागि मनसुनको अवधि आज भदौको १ गते भएको हुनाले अब १ महिना १४ दिन मनसुनको अवधि बाँकी छ। १ महिना १४ दिन बाँकी छ, अब काउन्ट डाउनमा जानुपर्ने किनभने प्रत्येक दिन मनसुन अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने हुन्छ। यसपालिको जुन एलनिनोको इम्प्याक्ट छ, समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि जलवाष्पयुक्त वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलवाष्पयुक्त वायु आयो भनेपछि त्यसले स्थानीय वायुसँग पनि त्यही खालको अन्तरक्रिया गर्छ।’
उनले अगाडि भने, ‘पानी पनि गत वर्षको जस्तो औषतभन्दा बढी परेको अवस्था छ। जल तथा मौसम विज्ञान विभागको आँकडालाई आधार मान्ने हो भने १४७० मिलिमिटर जतिको वर्षालाई औषत वर्षा यो वर्षभरिको देशभरिको वर्षा मानिन्छ, आजको मितिसम्म ८२४ मिलिमिटर वर्षा औषत वर्षा नेपालमा परेको छ, ओभरअलमा ५५ प्रतिशत वर्षा भएको छ। मध्यपहाडी क्षेत्रमा कुनै एकदमै आइसोलेटेड ठाउँमा कुनै एउटा भनौँ न भूभागमा खण्डवृष्टि धेरै भएको र त्यसले गर्दाखेरि मध्यपहाडी क्षेत्रमा ठूलो हानिनोक्सानी गरेको अवस्था छ भनेपछि मधेसमा हेर्ने हो भने यस वर्ष औषत भन्दा निकै कम वर्षा भएको अवस्था छ। आजभोलि र पर्सिको यो तीन दिनको सन्दर्भमा पनि पश्चिम नेपालमा अलिकता भारी वर्षासम्म हुने देखिन्छ, त्यो पनि मधेशमा पहिलो चोटी ठूलो वर्षा झर्दैछ। अन्य वर्षको तुलनामा यो वर्ष अब यसलाई चाहिँ हामीले एलनिनोसँग पनि जोड्न सक्छौँ।’
उनले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एलनिनोको प्रभावसँग जोडेर हेर्न सकिने बताए।
साथै हिन्द महासागरको ‘इण्डियन ओसन डाइपोल’ (आइओडी) को अवस्थाले पनि वर्षाको प्रवृत्तिमा प्रभाव पार्नसक्ने उनले जानकारी दिए।
हाल आइओडी तटस्थ अवस्थामा रहे पनि केही अन्तर्राष्ट्रिय मौसमी मोडलहरूले आगामी दिनमा यो सकारात्मक अवस्थामा जान सक्ने संकेत गरेको उनको भनाइ छ।
आइओडी सकारात्मक भएमा दसैं–तिहारको आसपास समेत वर्षा हुन सक्ने सम्भावना रहने उनले जानकारी दिए।
उनले मनसुन सम्बन्धी जानकारी दिन एकीकृत सूचना प्रणालीको विकास गर्न लागेको पनि बताए।
उनले स्थानीय तहमा डोजर प्रयोग गरेर अनावश्यक सडक खन्दा वर्षाको समयमा पहिरो जाने जोखिम बढेको देखिएको बताए।–न्युज एजेन्सी नेपाल