मकवानपुरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार गाडी दुर्घटनामा परेको छ।
मंगलबार बिहान अन्दाजी ८ बजेतिर भीमफेदी गाउँपालिका-६ जुरिखेतस्थित सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए।
उनका अनुसार प्रदेश-३-००२ झ ५१८३ नम्बरको गाडी काठमाडौंबाट हेटौंडा हुँदै वीरगन्जतर्फ जाँदै थियो।
गाडीमा न्यायाधीशसहित ६ जना सवार थिए। चालकसहित चार जना पुरूष र दुई जना महिला सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी एक जना महिलाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम रहेको डिएसपी काफ्लेले जानकारी दिए।
‘वीरगन्ज इजलासका न्यायाधीश श्रीमान र परिवार सवार गाडी दुर्घटनामा परेको हो,’ उनले भने।
घाइते हुनेमा रजिस्ट्रार बैतडीका तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र छोरी रिता बडु सवार थिए। चालक दाङका छुनिलाल चौधरी पनि घाइते छन्। लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेको स्थानीय उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टर बोलाउन पहल भइरहेको उनले बताए।