सामाजिक सञ्जाल स्क्रोलिङ गरिरहेका औंला अचानक एउटा भिडिओमा पुगेर टक्क अडिन्छन्।
त्यो न कुनै फिल्मको ट्रेलर हो, न कुनै चर्चित इन्फ्लुएन्सरको भ्लग। तैपनि जसको आँखा त्यो भिडिओमा पर्छ, ऊ एकछिन त्यसमा नअडी बस्न सक्दैन।
किनभने, ती भिडिओमा सडकको जेब्रा क्रसिङ, ह्वाइट लाइन र पहेँला धर्काहरू मानिसजस्तै बोल्छन्। तिनका कुरा सुन्न र हेर्न निकै रोचक लाग्छ।
यी भिडिओमा कहिले भाइरल ट्रेन्डिङ गीतमा हेल्मेट र सिटबेल्ट लगाउन आग्रह गरिन्छ त कहिले व्यंग्यात्मक 'मिम' राखेर तीव्र गतिमा गाडी हाँक्दा वा गाडी हाँक्दाहाँक्दै मोबाइल चलाउँदा हुने जोखिमबारे बुझाइन्छ। कहिले बाढीपहिरोबाट बच्ने ज्ञान दिइन्छ, कहिले डिजिटल माध्यमबाट ठगिनबाट बच्ने उपाय सिकाइन्छ। त्यो पनि नयाँ नयाँ आकर्षक ढंगमा।
नेपाल प्रहरीले पछिल्लो समय आफ्ना आधिकारिक सामाजिक सञ्जालका पेजहरू (फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युब) मार्फत यस्ता सन्देशमूलक तथा मनोरञ्जनात्मक सामग्री निरन्तर सार्वजनिक गरिरहेको छ।
विगतमा यस्तै सूचना दिन प्रहरीले सार्वजनिक वक्तव्य जारी गर्थ्यो। बेलाबेला सडकमा जनचेतनामूलक र्याली निकाल्थ्यो। पर्चा, पम्प्लेट पनि छापिन्थे। तर यी भिडिओमा न विज्ञप्तिको बोरिङ भाषा छ, न त सडक र्यालीमा देखिने औपचारिक शैली।
सामान्यतया ३०-४० सेकेन्डदेखि १-२ मिनेटसम्मका यस्ता भिडिओमा प्रहरीले मनोरञ्जनात्मक रिल्सकै शैलीमा हामीलाई ट्राफिक नियमसम्बन्धी महत्त्वपूर्ण सूचना र जनचेतनामूलक सन्देश दिइरहेका छन्।
नेपाल प्रहरीका यस्ता भिडिओ पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा छन् र धेरै हेरिएका पनि छन्। कतिपय भिडिओले त लाखौं भ्युज र लाइक्स पाएका छन्। यस्ता सामग्री राख्न थालेपछि नेपाल प्रहरीका सामाजिक सञ्जालमा फलोअर पनि बढेका बढ्यै छन्।
यस्तो भिडिओ बनाउने आइडिया कसरी आयो भन्ने विषयमा हामीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) अबिनारायण काफ्लेसँग कुराकानी गरेका छौं।
नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएसँगै युवा वर्गमाझ प्रभावकारी ढंगले सूचना कसरी पुर्याउने भन्ने विषयमा गम्भीर छलफल भएर यो आइडिया आएको प्रवक्ता काफ्ले बताउँछन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले परम्परागत शैलीका सूचना नयाँ पुस्ता (जेनजी) सम्म नपुगेको भन्दै आकर्षक शैलीमा चेतनामूलक भिडिओ बनाउन निर्देशन दिएपछि टिममा छलफल सुरू भएको उनको भनाइ छ।
'पटक पटकको छलफलपछि नयाँ सोच जन्मियो। नयाँ पुस्ता सोसल मिडियामा रमाउँछन्, त्यसैले उनीहरूलाई उनीहरूकै शैलीमा ट्राफिक नियम सिकाउने योजना बन्यो,' प्रवक्ता काफ्लेले भने, 'त्यही योजना अनुसार 'सोसल मिडिया कोअर्डिनेसन डेस्क' र एआई टोली गठन गरियो।'
देशभरका प्रहरी युनिटमध्ये सूचना प्रविधिमा रूचि भएका, सामाजिक सञ्जालको 'ट्रेन्ड' बुझेका र सिर्जनात्मक क्षमता भएका जवानदेखि प्रहरी अधिकृतसम्मलाई खोजी खोजी यो टिममा ल्याइएको उनले जानकारी दिए।
उनका अनुसार अहिले यो कामका लागि केन्द्रीय कार्यालयमा २० देखि ३० जना प्रहरी कन्टेन्ट निर्माण, भिडिओ सम्पादन र एआईको प्रयोगमा खटिएका छन्। त्यस्तै, हरेक प्रदेशमा ५-६ जना र प्रत्येक जिल्लामा २-३ जनाको छुट्टाछुट्टै टोली छ।
यसरी देशका विभिन्न ठाउँमा रहेका झन्डै २ सयदेखि ३ सय जना प्रहरीले स्थानीय तहका भिडिओ र सूचनाहरू तत्काल केन्द्रीय डेस्कमा पठाउने गर्छन्।
'सडकमा कुनै नियम मिचिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल हुनासाथ वा प्रहरीलाई ट्याग गर्नासाथ यो टोलीले केही घन्टामै त्यसको खोजतलास गर्छ,' प्रवक्ता काफ्लेले भने, 'नियम मिच्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइन्छ र सँगसँगै त्यही भिडिओलाई सचेतनामूलक र रमाइलो ढंगले सम्पादन गरी पुनः सामाजिक सञ्जालमा पोस्ट गरिन्छ।'
'वर्षौंदेखि प्रेस विज्ञप्ति जारी गरियो, र्याली निकालियो, तर त्यसको प्रभाव निश्चित दायरामा मात्र सीमित रह्यो। जब युवाहरूले रूचाउने ट्रेन्ड, मिम र एआई भ्वाइसओभर प्रयोग गरेर टिकटकमा भिडिओ हाल्न थालियो, त्यसको प्रभाव निकै राम्रो देखिएको छ। हामीले सकारात्मक प्रतिक्रिया पाइरहेका छौं,' उनले भने।
यो टोलीको संरचना आफैमा चाखलाग्दो छ।
प्रहरी प्रशासनमा सामान्यतया सेवा अवधि वा ज्येष्ठताका आधारमा जिम्मेवारी तोक्ने परिपाटी हुन्छ। तर यो डेस्कका लागि 'राइट म्यान इन द राइट प्लेस' (सही ठाउँमा सही व्यक्ति) को नीति अपनाइएको प्रवक्ता काफ्लेले बताए।
उनका अनुसार प्रहरीभित्र आइटी र डिजिटल मिडियासम्बन्धी ज्ञान भएकाहरूलाई एकीकृत गरेर यो काम अघि बढाइएको छ। उनीहरूले सामाजिक सञ्जालमा देखिएका भिडिओ पठाउँछन्, त्यसपछि टोलीले कसरी प्रस्तुत गर्ने र कस्तो सन्देश राख्ने भनेर योजना बनाउँछ।
'कसरी धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याउन सकिन्छ र कस्तो भिडिओ बनाउँदा मानिसहरूले ध्यान दिन्छन् भन्नेबारे छलफल हुन्छ,' उनले भने, 'हामी सकेसम्म सामाजिक सञ्जालमा चलिरहेका ट्रेन्डिङ भिडिओकै शैली अपनाएर सन्देश दिन खोज्छौं।'
वर्षौँदेखि स्कुल-कलेजका कक्षाकोठा, सडकका पम्प्लेट र औपचारिक र्यालीमा सीमित ट्राफिक नियम र सन्देशमूलक सामग्री अहिले टिकटक र इन्स्टाग्राम रिल्समार्फत दिइन्छ। बदलिँदो राजनीतिक र सामाजिक परिवेशपछि प्रहरीका यस्ता भिडिओ सामाजिक सञ्जालमा अझ बढी चर्चित हुन थालेको उनको भनाइ छ।
अहिले नेपाल प्रहरीको टिकटक पेजमा अपलोड गरिएका भिडिओ लाखौंले हेर्छन् र धेरैले यसलाई सकारात्मक रूपमा लिएका छन्। भिडिओ छोटो भए पनि यसमा निहित सूचना निकै महत्त्वपूर्ण हुन्छन्।
'बदलिँदो परिस्थिति र जेनजी पुस्ताको मनोविज्ञान बुझेर नै हामीले यो यात्रा सुरू गरेका हौं,' उनले भने, 'अहिलेको पुस्तालाई औपचारिक भाषण दिएर वा पम्प्लेट बाँडेर सडक नियम सिकाउन सकिँदैन। उनीहरू जुन माध्यम र भाषामा रमाउँछन्, हामीले त्यही माध्यम रोजेका हौं।'
ट्राफिक प्रहरीका यी सन्देशमूलक भिडिओमा सडकका जेब्रा क्रसिङ, ह्वाइट लाइन र पहेँलो लाइनजस्ता निर्जीव वस्तुलाई नै बोल्ने बनाइएको छ। युवा पुस्तालाई लक्ष्य गर्दै भाइरल ट्रेन्डिङ गीत, डाइलग वा अडियो क्लिप प्रयोग गरेर लेन अनुशासन, मापसे/लापसे चेकिङ, सिटबेल्ट तथा हेल्मेटको सही प्रयोग र सडक सुरक्षाका छोटा र स्पष्ट सन्देश दिइन्छ।
यसका साथै सडकमा खतरनाक स्टन्ट गर्ने, प्रेसर हर्न बजाउने वा नियम मिच्ने चालकहरूलाई नियन्त्रणमा लिएपछि उनीहरूको गल्ती स्वीकारोक्ति र अरूलाई त्यसो नगर्न आग्रह गरिएको सचेतनायुक्त भिडिओ क्लिपले पनि धेरैको ध्यान खिचेको छ।
'हाम्रो समाजमा कस्तो ट्रेन्ड चलिरहेको छ, युवाहरू कुन अडिओ वा डाइलगमा अल्झिएका छन् भनेर निरन्तर अध्ययन गर्छौं,' काफ्लेले भने, 'सडक नियम उल्लंघन गरिएका भिडिओमा मानिसहरूले प्रहरीलाई मेन्सन गर्नेबित्तिकै १-२ घन्टामै त्यसको रचनात्मक उत्तर वा सचेतनामूलक भिडिओ तयार भइसक्छ।'
सडक सुरक्षा मात्र होइन, नागरिक र प्रहरीबीचको दूरी र तिक्तता घटाउन पनि यो डिजिटल संवादले पुलको काम गरिरहेको उनको भनाइ छ।
यसले धेरैलाई हातमा सिठ्ठी र लठ्ठी बोकेर सडकमा उभिने प्रहरी अहिले औंलाको इसारामा डिजिटल दुनियाँमार्फत लाखौं नागरिकको मोबाइल स्क्रिनमा सडक सुरक्षाको पाठ पुर्याइरहेको भान भइरहेको छ।