बर्दियाका विवेक गौतम अहिले विश्वकै अग्रणीमध्येको प्रविधि कम्पनी इन्टेल कर्पोरेसनमा काम गर्छन्।
उनी त्यहाँ मोड्युल डेभलपमेन्ट इन्जिनियर छन्।
उनी सेमिकन्डक्टर चिप उत्पादन प्रविधिको विकास र गुणस्तर अभिवृद्धिमा काम गरिरहेका छन्। उनको मुख्य जिम्मेवारी उत्पादन प्रक्रिया अझ प्रभावकारी बनाउनु, उत्पादनमा देखिने त्रुटि न्यूनीकरण गर्नु र उच्च गुणस्तरका चिप उत्पादन सुनिश्चित गर्नु हो।
बर्दियामा जन्मेर, त्यहीँ सरकारी स्कुलमा पढेका विवेकको यहाँसम्मको यात्रा सहज थिएन। उनका बुबा शिक्षक र आमा गृहिणी हुन्।
पढाइमा भने विवेकको सानैदेखि लगाव थियो। स्कुलमा सधैंजसो राम्रो नतिजा हासिल गरे।
'२०४९ सालमा एसएलसी (एसइई सरह) दिएको हुँ। त्यो बेला जिल्ला टप गरेँ,' विवेकले भने, 'मेरो परिवार मध्यमवर्गीय र सामान्य थियो। पढ्नुपर्छ, नपढीकन केही हुँदैन भन्ने सोच थियो।'
उनले काठमाडौं अमृत साइन्स क्याम्पस (अस्कल) बाट विज्ञान विषयममा आइएससी र त्रिचन्द्र कलेजबाट बिएससी पूरा गरे।
पछि उनका भाइबहिनी पनि काठमाडौं आए। खर्च व्यवस्थापनका उनी होम–ट्युसन पढाउँथे।
भौतिकशास्त्रमा स्नातकोत्तर सकेपछि केही समय अस्कल र काठमाडौं मोडल कलेजमा पढाए।
अनि सन् २००८ मा थप पढ्ने अवसर खोज्दै अमेरिका गएका हुन्।
विवेकले पिएचडी (विद्यावारिधि) गर्न अमेरिकाका विभिन्न विश्वविद्यालयमा आवेदन दिएका थिए। आइडोवा स्टेट युनिभर्सिटी उनलाई अवसर मिल्यो।
'गएको करिब १५ दिनमै नियमित पढाइ सुरू भयो। सुरूआती दिनमा खान र बस्न विश्वविद्यालयले सहजीकरण गर्यो,' उनले भने, 'मैले टिचिङ असिस्टेन्टसिप पनि पाएँ। त्यस अन्तरगत अन्डरग्र्याजुएट विद्यार्थीलाई हप्तामा दुई–तीन पिरियड पढाउनुपर्थ्यो।'
टिचिङ असिस्टेन्टसिप पाउनुको फाइदा खर्चको अभाव हुँदैन थियो। प्रोफेसरको सहयोगी बनेर काम गर्ने अनि अनुसन्धानका लागि प्रोफेसरसँग प्रस्ताव राख्ने र प्रपोजल लेख्ने काम पनि गरेको उनले बताए।

त्यो समयमा उनले न्युक्लियर फिजिक्समा अनुसन्धान गरे। पछि विभिन्न कम्पनीका लागि प्रपोजल लेख्ने र डेटा विश्लेषण गर्ने काम गरे।
'मेरो विषय न्युक्लियर फिजिक्स भए पनि मैले पछि युनिभर्सिटी अफ क्यान्ससमा आवेदन दिएँ। सन् २०१४ मा त्यहाँ पढ्न गएँ र २०१९ सम्म अनुसन्धान गरेँ। मेरो थेसिस सुपरकन्डक्टर विषयमा थियो,' उनले भने, 'मेरो फोकस इलेक्ट्रोम्याग्नेटिक कन्सेप्टमा थियो। द्रुत गतिमा चल्ने रेलका लागि हाइटेम्प्रेचर सुपरकन्डक्टरमा अनुसन्धान गरेको थिएँ। पेपर पनि प्रकाशन भएको थियो।'
उनका अनुसार हाइटेम्प्रेचर सुपरकन्डक्टर भनेको तुलनात्मक रूपमा उच्च तापक्रममा विद्युत प्रतिरोध शून्य बनाउने र ऊर्जा नोक्सानीबिना विद्युत प्रवाह गर्न सक्ने पदार्थ हो।
पिएचडी पूरा गरेपछि विवेक रोजगारीका अवसर खोज्न थाले। उनलाई इन्टेलमा काम गर्ने इच्छा थियो। विभिन्न चरणका अन्तर्वार्ता पार गरेपछि सन् २०१९ मा उनले इन्टेलमा काम पाए।
उनी हाल ओरेगनस्थित पोर्टल्यान्ड सिटीमा इन्टेलमा इन्जिनियरका रूपमा कार्यरत छन्।
'मेरो जिम्मेवारी मोबाइल, ल्यापटप र एआईमा प्रयोग हुने चिप निर्माण प्रक्रियासँग सम्बन्धित हो,' उनले भने, 'विभिन्न देशका मानिसहरूसँग काम गर्न पाइन्छ, त्यो नै रमाइलो पक्ष हो। ज्ञान र अनुभव आदान–प्रदान गर्ने अवसर पाइन्छ।'
इन्टेलमा काम गर्ने नेपालीको संख्या २ सय हाराहारी भएको उनले जानकारी दिए।
ठूला प्रविधि कम्पनीमा काम गर्दा सबभन्दा महत्वपूर्ण कुरा काम गर्ने संस्कार सिक्नु हो। उनलाई विश्वका विभिन्न देशका मानिसहरूसँग काम गर्दै ज्ञान र अनुभव साटासाट गर्ने अवसर महत्वपूर्ण लाग्छ।
त्यस्तै इन्टेलको ज्ञान र सीप नेपालसँग जोड्ने इच्छा रहेको उनले बताए।
'बच्चाहरू पढ्दैछन्, त्यसैले पनि केही समय अमेरिकामै रहनुपर्ने बाध्यता छ। तर हामी साथीहरू भेट हुनासाथ नेपालकै गफ हुन्छ। सायद माया भनेको यही त होला,' विवेकले भने, 'बर्दियाको सामान्य परिवारबाट सुरू भएको मेरो यात्रा अहिले विश्वकै अग्रणी प्रविधि कम्पनीसम्म पुगेको छ। अध्ययन, मेहनत र सिक्ने इच्छाले आफूलाई यहाँसम्म ल्याएको छ। अब कुनै दिन नेपाललाई पनि केही दिनुपर्छ।'