बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनीका २७ वर्षीय आशाराम थारू ‘आरके मोटरसाइकल रिपेरिङ सेन्टर’को ग्यारेजमा काम गर्ने मिस्त्री हुन्।
साउन १४ गते बेलुकी आशारामलाई भेट्न डोटीको शिखर नगरपालिका–४ बिनाडी स्थायी घर भई बर्दियाको ठाकुरबाबा–७ कालीगौडी बस्ने २० वर्षीय गोविन्द जैसी र स्थानीय अन्दाजी १९ वर्षीय दिनेश बडुवाल सँगै ग्यारेजमै गएका हुन्छन्।
थारू, गोविन्द र बडुवाल मिलेर बेलुकीदेखि नै ग्यारेजमै मदिरा (बियर) खान सुरू गर्छन्। उनीहरूले करिब मध्यरातिसम्म मदिरा सेवन गर्दा मातिसकेका हुन्छन्। तैपनि आशारामले आफैले मोटरसाइकल कुदाउँदै राति दुवै साथीहरूलाई आफ्नै घरमा पुर्याउँछन्।
तीनै जनाले आशारामको घरमा खाना खान्छन्। खाना खाइसकेपछि आपसी सल्लाह गरी साथी दिनेशलाई ‘मडेला’ भन्ने ठाउँमा पुर्याउन जान्छन्। तीनै जना एउटै मोटरसाइकल चढेर जान्छन्। उनीहरूले गोविन्दको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल कुदाइरहेका थिए।
दिनेशलाई छोडेर मडेलाबाट फर्किने क्रममा साउन १५ गते भइसकेको थियो। घडीमा बिहानको करिब २ बजिसकेको थियो। ठाकुरबाबा–९ बजार क्षेत्रबाट उनीहरू हात्तीसारतर्फ जाँदै गर्दा मातेका भए पनि थारूले नै मोटरसाइकल सुरक्षित कुदाइरहेका थिए। गोविन्द पछाडि सवार थिए।
बीच बाटोमा आएपछि उनीहरू शौचका लागि रोकिए। त्यसपछि भने मोटरसाइकल धनी गोविन्दले आफै मोटरसाइकल कुदाउने जिद्दी गरे। आशारामले साँचो दिए। मातेका गोविन्दले हाँकेको मोटरसाइकल केहीबेरपछि अनियन्त्रित भई दुर्घटनामा पर्यो। मोटरसाइकलसहित दुई जना नहर (नाला) मा खसे।
चालक गोविन्दलाई अनुहार लगायतमा सामान्य चोट लाग्यो। पछाडि सवार आशारामलाई बढी चोटपटक लाग्यो। पानीको नालामा खसेका घाइते थारूको अवस्था नियालेपछि गोविन्दले मनमनै कल्पना गरे– अब यसको उपचार गर्न मेरो धेरै पैसा खर्च हुने भयो।
गम्भीर घाइते भई सहयोगको याचनासहित छटपटाइरहेका आशारामप्रति गोविन्दको मनमा दया, माया र करुणा जागेन बरू राक्षसी सोचले बास पायो। गोविन्द दुर्घटनास्थल नजिकै एउटा निर्माणाधीन घरमा पुगे। त्यहाँ उनले ‘सटरिङको काठ’ फेला पारे। त्यो बोकेर घटनास्थल फर्किए। छटपटाइरहेका आशारामको छातीमाथि पटक-पटक सोही ‘सटरिङको काठ’ ले प्रहार गरे। त्यसपछि पनि मोटरसाइकलको साँचोले छटपटाइरहेका थारूको अनुहारको भागमा पटक-पटक प्रहार गरी अचेत तुल्याए। गोविन्दले त्यसपछि आशारामले घाँटीमा लगाएको डोरीको माला निकाले र त्यसैले करिब २ देखि ३ मिनेटसम्म घाँटी कसेर मृत्यु भएको निश्चय गरे। प्रहरी हिरासतमा रहेका गोविन्दले प्रहरीसँग सोही साबिती बयान गरेको जिल्लाका प्रवक्ता डिएसपी रमेश बोहराका अनुसार गोविन्दले सेतोपाटीलाई बताए।
‘छटपटाइरहेका आफ्नै साथी घाइते थारूलाई तत्काल उपचारका लागि अस्पताल लैजानुको साटो गोविन्दले क्रूरतापूर्वक उपचारमा धेरै रकम खर्च हुने गलत निष्कर्ष निकालेर हत्या गरेको हुँ भन्ने बयान गरेका छन्,’ डिएसपी बोहराले भने, ‘अत्यधिक मदिरा सेवनले गर्दा मानिस कतिसम्म गलत सोच वा निष्कर्षमा पुग्न सक्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो।’
हत्यापछि आफू जोगिन गोविन्दले थारूको शव आफैले बोकेर लगेर नजिकै रहेको (ठाकुरबाबाबाट कुशल पटुवातर्फ पानी जाने) सिँचाइ नालामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
थारूको हत्याको वास्तविक कारण लुकाउन र उनको हत्या नभई दुर्घटनाका कारण नै मृत्यु भएको हो भनेर झूटा कुरा देखाउने मनसायले गोविन्दले थारूको शव हत्यापछि आफैले नालामा लगेर फालेको स्वीकार गरिसकेको डिएसपी बोहराले बताए।
थारूको हत्या घटना र मोटरसाइकल दुर्घटनासँग कुनै तालमेल छ भन्ने सम्मको सुइँको सुरूमा प्रहरीले पाउन सकेको थिएन।
साउन १५ गते बिहान दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नजिकको प्रहरीले बेवारिसे अवस्थामा दुर्घटनाग्रस्त मोटरसाइकल नालामा फेला पारेपछि अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानका क्रममा बेवारिसे अवस्थामा फेला परेको मोटरसाइकल गोविन्दको भएको खुलेपछि बल्ल प्रहरीले उनको खोजी थालेको थियो।
दुर्घटनास्थलमा थारूको एउटा चप्पल मात्रै फेला परेको थियो। तर, उनको अवस्था अज्ञात थियो। गोविन्दले दुर्घटनापछि आफू बेहोस बनेको हुँदा पछाडि सवार थारू कहाँ गए भन्ने कुरा आफूलाई जानकारी नभएको भन्ने बयान सुरूमा गरेका थिए। स्थानीय र प्रहरीले आसपासका जंगलमा पनि थारूको खोजी गरेका थिए। त्यही क्रममा साउन १७ गते दिउँसो थारूको शव घटनास्थलभन्दा झन्डै १०० मिटर दक्षिणमा नालामा फेला परेको थियो। त्यसपछि भने गोविन्द पक्राउ परेका थिए। प्रहरीले उनका अर्का साथी बडुवाललाई पनि घटना अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
डिएसपी बोहराका अनुसार साथी आशारामको हत्यापछि गोविन्द त्यो दिन राति साथीको घरमा गई सुतेका थिए। उनले घटनाबारे कसैलाई नबताएको बयान गरेका छन्।
हत्या आरोपी गोविन्द बर्दियाबाट प्लस टू सम्मको पढाइ पूरा गरी विदेश जाने तयारीमा थिए। हत्या गरिएका थारू, हत्या आरोपी गोविन्द र बडुवाल मदिरा सेवन गर्ने क्रममा बनेका साथी हुन्।
आशाराम हत्या घटनाका मुख्य आरोपी गोविन्द गोविन्दविरूद्ध जिल्ला अदालतले कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने गरी थप अनुसन्धान गर्न ७ दिनको म्याद दिएको डिएसपी बोहराले बताए।
आशाराम हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।