पुर्ख्यौली घर खाली हुँदै गएपछि त्यसलाई कसरी जोगाउने भन्ने चिन्ता राजेश चौधरीलाई थियो।
त्यही चिन्ताले उनलाई पुर्खाको घरलाई थारू संस्कृति र रैथाने स्वादसँग जोडिएको होमस्टेमा बदल्ने सोच दियो। अहिले जमिनदार परिवारका छोराहरू मिलेर चलाएको 'दंगीशरण सांस्कृतिक होमस्टे' बैबाङको नयाँ पहिचान बनेको छ।
दाङको दंगीशरण गाउँपालिका–४ मा पर्ने बैबाङ तुलसीपुरबाट १४ किलोमिटर दक्षिणमा छ। प्राचीन दंगीशरण थारू राजाको प्राचीन दरबार सुकौरादेखि करिब साढे ३ किलोमिटर पश्चिममा पर्छ। त्यस्तै 'चखौरा थारू संग्रहालय' झन्डै ५ किलोमिटर उत्तर–पश्चिममा पर्छ।
५१ वर्षीय राजेश जमिनदारका सन्तान हुन्। परिवारका एक्ला छोरा उनको बैबाङमा हाल ९ बिघाजति जमिन छ।
उनका ठूलोबुबाहरू खड्गवीर, नारायण र बुबा श्यामेसको परिवारको १०० बिघाभन्दा बढी जमिन थियो। २०५० सालमा यो परिवार छुट्टीभिन्न भयो। भागभण्डामा ठूलो पुर्ख्यौली घर राजेशहरूको भागमा पर्यो। सो घर उनका बाजे भागिरामले ५२ वर्षअघि बनाएका थिए।
श्यामेस बितेपछि त्यो घरमा उनकी श्रीमती विष्णुदेवी एक्लै थिइन्। राजेश जागिरको सिलसिलामा श्रीमती निर्मला र दुई सन्तानसहित बजारको घरमा बस्थे।
'आमा बजार साँघुरो छ भनेर आउन मान्नुभएन। चाडपर्वका बेला त सबै दाजुभाइ जम्मा हुन्थ्यौं। म पनि फुर्सद र बिदामा आमा भेट्न गइरहन्थेँ। तर आमालाई एक्लै छाड्नुपर्दा चिन्ता भइरहन्थ्यो,' राजेशले भने, 'अर्कातिर त्यति ठूलो पुर्ख्यौली घर कसरी संरक्षण गर्न सकिएला भन्ने पनि लागिरहन्थ्यो।'


राजेशले धेरै सोचे।
अन्ततः घरमै थारू संस्कृति संरक्षणसहितको होमस्टे चलाउने योजना बुने।
२०७९ मंसिरमा उनले घरेलु कार्यालयमा 'दंगीशरण सांस्कृतिक होमस्टे' दर्ता गरे। व्यवस्थापनमा स्नातक उत्तीर्ण र वर्षौं विभिन्न निजी तथा गैरसरकारी संघसंस्थामा काम गरेका राजेशलाई व्यवस्थापनबारे राम्रो ज्ञान थियो।
सामुदायिक होमस्टे चलाउन कम्तीमा पाँच वटा घर चाहिने प्रावधान थियो। राजेशले आफ्नै घरबाट सुरू गरेर होमस्टे घर 'नम्बर १' बनाए। यो देखेर अरूले पनि विश्वास गरे।
उनका माइला बुबाका माइला छोरा हेमन्तराजको घर 'नम्बर २' बन्यो। स्थानीय वीरबहादुर चौधरीको घर 'नम्बर ३', तुलसी चौधरीको ४ र सीता चौधरीको ५ गरी सामुदायिक होमस्टे तयार पारियो।
यी घर लश्करै छन्।
राजेशले ६ वर्षअघि गैरसरकारी संस्थाको लेखापालका रूपमा खाइरहेको जागिर छाडेका थिए। त्यसयता तुलसीपुरस्थि आफ्नै घरमा एलपी ग्यास र होटलका सामानको व्यापार गर्दै आएका छन्।
त्यसैले होमस्टे सञ्चालनको जिम्मा राजेशले दाइ हेमन्तराजलाई दिए। अहिले पनि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी हेमन्तराजले नै सम्हाल्दै आएका छन्।
राजेशले गाउँमा रैथाने खाना बनाउन जानेका तथा त्यसमा रूचि राख्नेहरू खोजी गरे। हरिनारायण चौधरीलाई भान्साको जिम्मेवारी दिए। पुष्पा चौधरी र निखिता चौधरी सहयोगीका रूपमा काम गर्छन्। धेरै पाहुना आउँदा दैनिक ज्यालादारीमा अन्य मानिस बोलाउँछन्।
राजेश चौधरी
हेमन्तराज चौधरी
होमस्टे व्यवस्थापक हेमन्तराजका अनुसार पाहुनाको माग अनुसार गाउँघरमै उपलब्ध परिकार तयार पारिन्छ।
'प्रशोधित कुनै खाना, परिकार वा मसला यहाँ प्रयोग हुँदैन। लोकल कुखुरा, बबईको माछा, घोँगी, गंगटा, ढिक्री, रोटी खान पाइन्छ,' ५९ वर्षीय हेमन्तराजले भने, 'अन्न, दाल तथा सागसब्जी गाउँघरकै प्रयोग गरिन्छ। ग्राहकको रूचि अनुरूप यहीँ तयार हुने जाँड वा मदिरा पनि पाइन्छ।'
राजेशको घरमा होमस्टेका लागि ४ वटा अट्याच बाथरूम भएका कोठा छन्। अरू सबै घरमा एक/एक वटा कोठा छन्।
होमस्टेले पाएको चर्चा र सफलतापछि हेमन्तराज आफ्नो र पाहुनाका लागि नयाँ घर बनाइरहेका छन्। उनका जेठा दाजु नवराजले छुट्टै फर्म दर्ता गरी 'सखी आवासीय तालिम हल' बनाएका छन्। त्यहाँ ६० जनाभन्दा बढी पाहुना बसेर छलफल वा बैठक गर्न मिल्छ।
'छोराबुहारी सबै अस्ट्रेलिया छन्। पहिले अस्ट्रेलिया आउजाउ गरिरहने म आजभोलि होमस्टेमै भुल्छु,' ६२ वर्षीय नवराजले भने, 'हामी सबै आपसमा मिलेर काम गर्दै होमस्टे सफल रूपमा सञ्चालन गरिरहेका छौं।'
यो होमस्टेमा एक रात बसेको १२ सय रूपैयाँ लाग्छ। अट्याच बाथरूम नभएको सिंगल बेडको ६०० र डबल बेडको ८०० रूपैयाँ पर्छ।
कोही पाहुना आउँदा उनीहरू सबै मिलेर काम गर्छन्। पाहुना बसेको घरले १०० रूपैयाँ होमस्टेको हितकोषमा जम्मा गर्नुपर्ने नियम छ। बाँकी पैसा सबै सेवा दिने घरकै हुन्छ।
राजेश यहाँ पक्की घर र थारूशैलीका खरले छाएका थप तीन घर बनाइरहेका छन्। यी घरमा पाहुनाहरू गुन्द्रीमा बसेर खान सक्छन्।
उनी नजिकै पोखरी पनि बनाइरहेका छन्, जहाँ घोङ्गी पाल्ने योजना छ।
दंगीशरण सांस्कृतिक होमस्टे दुई बिघामा फैलिएको छ। यसमा विषादीसहित तरकारी उत्पादन गर्न राजेश काम गरिरहेका छन्।
'बेच्ने गरी उत्पादन भइसकेको छैन तर यहाँका पाहुनाका लागि पर्याप्त छ,' उनले भने, 'भविष्यमा बारीभरि अर्गानिक तरकारी फलाउने योजना छ। पाहुनाले आफै छानेर लैजाने चाहना राखे पनि उपलब्ध गराउने गरी काम गरिरहेको छु।'
उनी हरेक बिदामा परिवारसहित पुर्ख्यौली घर पुग्छन्। आमालाई भेट्छन्। होमस्टेमा खटेर काम गर्छन्।
पुर्ख्यौली घरलाई होमस्टे बनाएपछि सबभन्दा बढी खुसी आमा भएको उनी बताउँछन्।


'आमा भन्नुहुन्छ — पहिला तिमीहरू कता कता हुन्थ्यौ, म यहाँ एक्लै हुन्थेँ। खाना पनि रूच्थेन। आज तिमीहरू आइरहन्छौ, घरगाउँका मानिस सधैं साथमा हुन्छन्। सँगै खाना खाँदा रमाइलो लाग्छ। नियास्रोपन अन्त्य भएको छ,' राजेशले आमाका कुरा सुनाए।
भविष्यमा आफू पनि पूर्ण रूपमा गाउँमै बस्ने योजना रहेको उनले बताए।
दंगीशरण गाउँपालिका प्रमुख तथा स्थानीय शम्भु गिरीले जमिनदारहरू नारायण र श्यामेसका छोराहरू मिलेर सञ्चालन गर्दै आएको होमस्टे हाल जिल्लाको सबैभन्दा लोकप्रिय तथा उत्कृष्ट भएको बताए।
'विगतमा जमिनदार तथा उनीहरूका बाबुबाजेले दैनिक दर्जनौं मानिसलाई बोलाएर सित्तैमा खाना खुवाउँथे,' शम्भुले भने, 'पछिल्लो समयमा उनीहरूकै छोरा–भतिजा मिलेर खोलेको होमस्टेले बैबाङको अलग्गै पहिचान बनाएको छ।'
यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना भएको, गाउँको नाम कहलिएको र स्थानीय किसानका उत्पादनले राम्रो बजार पाएको उनले बताए।

