बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि बुटवलका ग्यास बिक्री केन्द्रहरूमा अनुगमन थालिएको छ।
बिक्रेताहरूले कृत्रिम अभाव सृजना गरी बढी मूल्यमा ग्यास बिक्री गरेको हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले बुटवलका ९ वटा ग्यास बिक्री केन्द्रमा मंगलबार अनुगमन गरेको हो।
इलाका प्रशासन कार्यालय बुटवलले बुटवल उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय बुटवल, नेपाल पत्रकार महासङ्घ रुपन्देही, ग्यास बिक्रेता सङ्घ र उपभोक्ता हित संरक्षण मञ्चसँगको सहभागितामा मङ्गलबार बिक्री केन्द्रहरूमा अनुगमन गरेको हो।
अनुगमनबाट बजारमा एलपी ग्यासको आपूर्तिको तुलनामा माग भने दोब्बर बढी भएको पाइएको अनुगमन टोलीले जनाएको छ।
केही बिक्री केन्द्रमा भने ग्यास सञ्चिति गरेर राखेको पाइएपछि उपभोक्तालाई वितरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगरस्थित एन एड सप्लायर्समा ग्यास भरिएका ७० वटा सिलिन्डर सटर बन्द गरी राखिएको भेटिएको र तत्काल उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिइएको थियो।
अनुगमनको क्रममा देविनगरकै एम बि सप्लायर्समा ७ वटा, न्यू धर्मदेवी इन्टरप्राइजेजमा १२, वडा नं. ६ स्थित नेपालगन्ज रोडको न्यु श्रेया किचनमा ५० थान सिलिन्डर र उपभोक्तालाई एक सय रुपैयाँ लिएर कार्ड वितरण गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ।
स्टक राखिएका सिलिन्डर उपभोक्तालाई बिक्री वितरण गर्न र कार्ड बापतको एक सय रुपैयाँ फिर्ता गर्न निर्देशन दिइएको थियो। त्यस्तै वडा नं. ४ आदर्शनगरस्थित मिरा सप्लायर्समा ३५ वटा सिलिन्डर स्टक भेटिएको थियो।
इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत सागर गौतमले केही बिक्री केन्द्रमा ग्यास भरिएका सिलिन्डर स्टक भेटिएकोले उपभोक्तालाई अभाव देखाएर सञ्चित गरेर नराख्न विक्रेतालाई सचेत गराइएको बताए।
गौतमले ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, घर तथा कोठामा एउटा मात्र सिलिन्डर राखेर जीवन निर्वाह गरिरहेका विद्यार्थी तथा मजदुर बर्ग लाई पहिलो प्राथमिकता दिएर ग्यास उपलब्ध गराउन विक्रेताहरूलाई आग्रह गरिएको बताए।
अधिकृत गौतमले अनुगमनको क्रममा बजारमा ग्यास आपूर्तिमा ठूलो अभाव नदेखिए पनि अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले स्टक गरेर राख्दा ग्यासको माग बढेको देखिएको बताए। उनले तत्कालको लागि ग्याँस अभाव जस्तो देखिए पनि वास्तविक अभाव नभएको भन्दै घरघरमा ग्यास भरेर नराख्न उपभोक्तालाई आग्रह गरे।
ग्यास बिक्रेता सङ्घ बुटवलका महासचिव सूर्य खनालले पनि गत महिनाको तुलनामा साउन महिनामा बजारमा ग्याँसको आपूर्ति बढी भए पनि उपभोक्ताको माग भने बढी भएको बताए। खनालका अनुसार बुटवलमा हाल दैनिक १२ हजार सिलिन्डर ग्यास वितरण भइरहेको छ भने २० देखि २५ हजार सिलिन्डर ग्यास माग हुने गरेको छ। विगतमा ग्यास अभाव भोगिरहेका उपभोक्ताहरूले भविष्यमा पनि अभाव हुनसक्ने आशङ्कामा खाली भएका सिलिन्डरहरू भरेर घरघरमै स्टोर गरेर राख्दा बजारमा अभाव जस्तो देखिएको खनालले बताए।
सङ्घका संस्थापक अध्यक्ष सहदेव श्रेष्ठले ग्यास उद्योगहरूले बजार र उपभोक्ताका घरघरमा रहेका खाली सिलिन्डरहरू धरौटी फिर्ता दिएर लैजाने हो भने ग्यासको अभाव स्वतः हट्ने बताए। श्रेष्ठले पनि ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले यसअघि खाली राख्ने सिलिन्डरहरू पनि अहिले भरेर राख्दा बजारमा अभाव देखिएको बताए।
अनुगमन टोलीले दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख, उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अद्यावधिक गर्न बिक्रेताहरूलाई आग्रह गरेको छ।