जेनजी अभियानी अजय सोडारी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर ७ दिनदेखि हिरासतमा राखेको छ।
सोडारी, प्रकाश बम र सुनिल बिकलाई साउन १३ गते माइतीघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको हो।
उनीहरूविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसूरमा हिरासतमा राखेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
'उहाँहरूलाई जिल्ला प्रशानसन कार्यलयबाट दोस्रो पटक तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ,' उनले भने
उनका अनुसार पहिलो पटक पाँच दिन र दोस्रोपटक ३ दिनको म्याद थप गरिएको छ।
उनीहरूले लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्ने आरोप रहेको एक प्रहरीले सेतोपाटीलाई जानकारी दिए।
अजयकै टिमकी अर्की जेनजी अभियानी सुप्रिया नेपालीले भने लघुवित्त पीडितहरूलाई रातको समयमा व्यवस्थापन गर्न खोजिरहेको बेला उनीहरूलाई नियन्त्रणमा लिएको बताइन्।
'त्यस्तो सार्वजनिक शान्ति भंग हुने कुनै पनि कामहरू गरेका थिएनन्। त्यैपनि प्रहरीले नियन्त्रणमा लिएर एक सातादेखि हिरासतमा राखेको छ,' उनले भनिन्।