गुड फ्राइडे सिनेमा
सन् १९८० को कुरा हो। दक्षिण कोरियाको सोलमा किम मान–सियब ट्याक्सी चलाउँथे। श्रीमती गुमाइसकेका उनी सानी छोरीसँग बस्थे।
ऋणको बोझ थियो, त्यसैले उनको ध्यान दैनिक गुजारा चलाउनेमै बढी केन्द्रित हुन्छ।
एक दिन उनले अर्का ट्याक्सी चालकले विदेशी यात्रुलाई ग्वाङ्जु पुर्याएबापत एक लाख वन पाउने कुरा गरेको सुन्छन्। धेरै पैसा पाउने लोभमा किम ती यात्रुलाई आफै लैजान्छन्।
ती यात्रु जर्मन पत्रकार जुर्गेन 'पिटर' हिन्जपिटर हुन्छन्। उनी ग्वाङ्जुमा भइरहेको नागरिक आन्दोलनको समाचार संकलन गर्न दक्षिण कोरिया आएका हुन्छन्।
त्यति बेला ग्वाङ्जुमा सरकारले कर्फ्यु लगाएको थियो।
आफ्नो जीवनको हरेक दिन सहज बनाउने ध्याउन्नमा लागेका किमलाई ग्वाङ्जुमा यस्तो ठूलो राजनीतिक घटना भइरहेको छ भन्ने थाहा हुँदैन।
उनको एउटै उद्देश्य हुन्छ— यात्रु पुर्याउने र पैसा कमाउने।
ग्वाङ्जु पुग्ने क्रममा उनीहरूले सैनिकको अवरोध सामना गर्छन्। पिटरले आफूलाई व्यवसायी बताएपछि उनीहरू कुनै तरिकाले सहर प्रवेश गर्छन्।
ग्वाङ्जु पुगेपछि भने किमले आफूले कल्पना नगरेको दृश्य देख्न थाल्छन्। सडकमा विद्यार्थी र सर्वसाधारण प्रदर्शन गरिरहेका छन्। अर्कोतिर सैनिकहरू उनीहरूमाथि दमन गरिरहेका छन्।
पिटर क्यामरा निकालेर यी सबै दृश्य खिच्न थाल्छन्।
यो सबैमा आफूलाई किन फसाउने भन्दै किम सकेसम्म छिटो सोल फर्किन चाहन्छन्। तर परिस्थितिले उनलाई त्यति सजिलै फर्कन दिँदैन।
त्यही क्रममा उनको भेट केही कलेजका विद्यार्थी र स्थानीय ट्याक्सी चालकसँग हुन्छ। उनीहरूले पिटरलाई सहयोग गरिरहेका हुन्छन्। किमले एक वृद्ध महिलालाई अस्पताल पुर्याउनुपर्ने अवस्था पनि आउँछ।
बिस्तारै किमलाई ग्वाङ्जुमा भइरहेको घटना सामान्य प्रदर्शन मात्र होइन भन्ने महसुस हुन थाल्छ।
पिटरले क्यामरामा कैद गरिरहेका दृश्य झन् भयावह बन्दै जान्छन्। सरकारी सुरक्षा निकायले विदेशी पत्रकारलाई पछ्याउन थालेपछि किम र पिटर पनि जोखिममा पर्छन्।
किम एकातिर सोलमा रहेकी आफ्नी छोरीलाई सम्झिरहेका हुन्छन् भने अर्कोतिर आफ्नै आँखाअगाडि भइरहेको हिंसाले उनलाई विचलित बनाउन थाल्छ।
पिटर भने आफूले देखेको सत्य संसारसामु पुर्याउने प्रयासमा हुन्छन्।
फिल्मको कथा यहीँबाट अझ गम्भीर बन्दै जान्छ। एउटा साधारण ट्याक्सी चालक र आफ्नो कामका लागि दक्षिण कोरिया पुगेका विदेशी पत्रकार कसरी इतिहासको एउटा निर्णायक घटनाका प्रत्यक्षदर्शी बन्छन् भन्ने कुरा फिल्मले भावनात्मक ढंगले देखाउँछ।
किम र पिटरको यात्रा कहाँ पुग्छ? उनीहरूले ग्वाङ्जुबाट बाहिर निस्किन सक्छन् कि सक्दैनन्? पिटरले क्यामरामा कैद गरेको दृश्य संसारसामु कसरी पुग्छ? र, यो यात्राले किमको जीवनमा कस्तो परिवर्तन ल्याउँछ?
यो थाहा पाउन दक्षिण कोरियाली फिल्म 'अ ट्याक्सी ड्राइभर' हेर्नुहोला।
यो फिल्म राजनीतिक घटनाको मात्र कथा होइन, कठिन परिस्थितिमा मानिसभित्र जाग्ने मानवीय संवेदना र साहसको कथा पनि हो।
किम पात्र सुरूआतमा आफ्नै सुरको र सामान्य देखिए पनि घटनाक्रमसँगै उसको सोच र व्यवहारमा आउने परिवर्तन फिल्मको महत्वपूर्ण पक्ष हो।
सन् २०१७ मा प्रदर्शनमा आएको यो फिल्म दक्षिण कोरियामा निकै सफल भएको थियो। यो सो वर्षकै सबभन्दा धेरै कमाउने दोस्रो फिल्म हो। त्यस्तै कोरियाली इतिहासमै सबभन्दा धेरै कमाउने १६ औं फिल्मको रेकर्ड बनाएको छ।
समीक्षकहरूले विशेषगरी ग्वाङ्जु विद्रोहको चित्रण, भावनात्मक प्रभाव र किम तथा पिटरबीच विकसित हुने सम्बन्धको प्रशंसा गरेका थिए।
सन् १९८० मे १८ देखि २७ सम्म भएको ग्वाङ्जु विद्रोह दक्षिण कोरियाको लोकतान्त्रिक आन्दोलनको इतिहासमा महत्वपूर्ण घटना मानिन्छ। यही घटनालाई एउटा ट्याक्सी चालकको आँखाबाट देखाउने प्रयास अ ट्याक्सी ड्राइभरले गरेको छ।
यो फिल्मले झन्डै दुई दर्जन विभिन्न प्रतिष्ठित अवार्ड जितेको थियो। त्यस्तै विभिन्न अवार्डका करिब ३० विधामा मनोनीत थियो।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं। युट्युबमा यो हिन्दी डबमा उपलब्ध छ।