कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद तोकिएका सहित दुई जना फरार प्रतिवादी दाङमा पक्राउ परेका छन्।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी श्यामबहादुर झाँक्री पक्राउ परेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिहीबार जिल्लाको राजपुर गाउँपालिका–७ भौवाबाट झाँक्रीलाई पक्राउ गरेको थियो।
भौवा नेपाल भारत सीमा क्षेत्रमा पर्ने विकट जंगल क्षेत्र हो।
पक्राउपछि झाँक्रीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
रोल्पा जिल्ला अदालतले १३ वर्षअघि २०७०/०१/३१ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै झाँक्रीलाई २० वर्ष कैदको फैसला सुनाएको थियो।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङले अर्का एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २३ वर्षपछि नियन्त्रणमा लिएको छ।
जिल्लाको घोराही उपमहानगरपालिका – १८ सुपैलाखुटी ज्ञानेन्द्र भनिने ज्ञानबहादुुर गिरीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो।
जिल्ला प्रवक्ता डिएसपी हेमबहादुर केसीका अनुसार गिरी विरूद्ध २०६०/०२/११ गते साबिक लक्ष्मीपुर गाविस वडा नं. ३ र ४ को सीमानामा पर्ने सिस्ने खोलामा साबिक त्रिभुवन नगरपालिका – १८ सुपैलाखुटीका २३ वर्षीय संजिव बुढा मगरलाई कर्तव्य गरी हत्या गरेको जाहेरी परेको थियो।
हत्या गरिएका संजिवकी दिदीले दिएको किटानी जाहेरीपछि प्रहरीले जिल्ला अदालतले पक्राउ पुर्जी लिएपछि गिरी भागेर हालसम्म बेपत्ता थिए।
पछिल्लो समय खोजी गर्ने क्रममा गिरी आफ्नै घरमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको थियो।
गिरीलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले म्याद दिएको छ।
उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।