दाङ, तुलसीपुर – ६ मा भएको दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन्।
शुक्रबार बिहान १०ः२५ बजेतिर भएको सवारी दुर्घटनामा परेका ३३ वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो।
साउन २१ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका – ११ की २१ वर्षीया कल्पना केसी डाँगीले यही ठाउँमा सवारी दुर्घटनामा ज्यान गुमाएकी थिइन्।
तुलसीपुर– ६ गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा सडक चौडा पारिए पनि लेन छुट्ट्याइएको छैन। न सडक सुरक्षाका कुनै मापदण्ड छन्। त्यसैले तीव्र गतिमा हुँइकि सवारी साधन अक्सर यहाँ आपसमा ठोक्किइरहन्छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका शुक्रबार अनुसार विपरीत दिशातर्फ गइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा तीन जना घाइते भएका थिए। तीमध्ये तुलसीपुर उपमहानगरपालिका – १४ ड्वाङपुरका ३३ वर्षीय कमलेशको उपचारका क्रममा बाँकेको नेपालगन्जस्थित न्यूरो हस्पिटलमा अपराह्न पौने ४ बजेतिर मृत्यु भएको हो।
तुलसीपुर– ६ का ३० वर्षीय वसन्त बस्नेत र २५ वर्षीय विवेक बस्नेत घाइते छन्। उनीहरू सहोदर दाजुभाइ हुन्।
वसन्तले हाँकेको लु.प्र.०२–००१ प ११४७ नम्बरको मोटरसाइकल र विपरीत दिशा दक्षिणबाट उत्तर वा बजारतर्फ आउँदै गरेको कमलेश सवार रा ३ प ८८५५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
सिसीटिभी भिडिओ हेर्दा, तीव्र गतिमा हुँइकिएका मोटरसाइकल आपसमा ठोक्किएर तीनै जना सडकमा लडेका थिए। तीनै जनालाई उद्धार गरी नजिकैको राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो।
गम्भीर अवस्थाका घाइते कमलेशलाई थप उपचारका लागि बाँके रिफर गरिएको थियो। वसन्तको घाँटी नजिकको हड्डी भाँचिएकाले तुलसीपुरस्थित सिटी हस्पिटलमा शल्यक्रिया गरिएको उनका एक सहकर्मीले बताए।
विवेकको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक असिम हमालले जानकारी दिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आठ दिन पहिले यही ठाउँमा भएको दुर्घटनामा २१ वर्षीया कल्पनाको मृत्यु भएको थियो। कल्पना सवार स्कुटीलाई मोटरसाइकलले ठक्कर दिएको थियो। सन्तुलन गुमाउँदै सडकमा लडेकी उनलाई तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने टिपरले किचेको थियो।
उपचार क्रममा उनको मृत्यु भएको थियो।
एकै ठाउँमा लगातार दुर्घटना भइरहे पनि त्यहाँ न लेन छुट्ट्याइएको छ, न आवश्यक ट्राफिक संकेत वा चिह्नहरू राखिएको छ। जिम्मेवार निकायहरू सडक डिभिजन कार्यालय, स्थानीय सरकार, यातायात व्यवस्था विभाग तथा ट्राफिक कार्यालय लगायत सरोकारवालामध्ये कसैको पनि त्यसमा ध्यान पुगेको देखिँदैन।