रोल्पामा विपद घटनामा परी दुई दिनमा १५ जनाको मृत्यु भएको छ।
थवाङ र सुनछहरीको पहिरोमा परी दुई दिनमा १४ जनाको मृत्यु भएको हो। त्यस्तै जिल्लाकै लुङग्री गाउँपालिका–१ खदरमा चट्याङबाट बिहीबार राति थप एक जनाको मृत्यु भएको छ।
थवाङ पहिरोका बेपत्ता तीन जना अझै फेला परेका छैनन्। त्यस्तै सोही पहिरोमा परी घाइते दुई जनाको बुटवलमा उपचार जारी छ।
गएराति सुनछहरी गाउँपालिका– २ मङरारूकी ६४ वर्षीया लामी घर्ती मगरको शव खोज तलासका क्रममा शुक्रबार दिउँसो फेला परेको छ।
जिल्ला प्रवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार त्यसअघि सुनछहरी –२ फलबाङका ७७ वर्षीय वीरबहादुर घर्ती मगर, उनकी ६८ वर्षीया श्रीमती शनी घर्ती मगर र राति मगर दम्पतीको घरमा सुत्न आएकी छिमेकी ७० वर्षीया लली घर्ती मगरको शव फेला परेको थियो।
अविरल वर्षापछि बिहीबार राति माथिबाट झरेको पहिरोले सुनछहरीका दुई घर पूर्ण रूपमा नष्ट भएका थिए। पहिरोका कारण दुई घरभित्र सुतिरहेका चार जनाको मृत्यु भएको थियो।
बुधबार बेलुकी मात्रै जिल्लाको थवाङ गाउँपालिका–५ कोटलबारा पहिरोमा परी १० जना मृत्यु भएको थियो।
बिहीबार ५ वटा शव घटनास्थलमै र थप ५ वटा शव प्यूठानको माडी खोलाका विभिन्न स्थानमा फेला परेका थिए। सो पहिरोमा परी बेपत्ता ३ जनाको खोजी कार्य जारी छ।
थवाङ पहिरोका दुई जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बिहीबार राति मात्रै जिल्लाको लुङग्री गाउँपालिका– १ खदरमा चट्याङबाट स्थानीय ५९ वर्षीय वीरबहादुर खत्रीको घरमै बसिरहेको समयमा चट्याङले लागेर मृत्यु भएको थियो।