सामान्यतया उमेर ढल्किँदै जाँदा स्मरणशक्ति कम हुँदै जान्छ। तर डिमेन्सिया भनेको यो मात्र पनि होइन।
यसमा विभिन्न समस्याको मिश्रण हुन्छ। स्मरणशक्ति पनि कम हुने त भइहाल्यो, यससँगै मान्छेको बुझ्न सक्ने क्षमता, स्मरण गर्ने क्षमता र निर्णय गर्ने क्षमतामा पनि असर गर्छ।
त्यसले गर्दा हाम्रो दैनिक जीवनमा विस्तारै असर गर्ने हुन्छ।
डिमेन्सिया भयो भने यस्ता लक्षण देखिन्छन्:
- सबैभन्दा पहिलो त स्मरणशक्तिकै कमी हो।
- गरेका कुराहरू बिर्सिने, कतै सामान राखेको छ भने बिर्सिने हुन्छ।
- बारम्बार एउटै प्रश्न सोधिराख्ने, एउटै कुराहरू दोहोर्याइराख्ने।
- किचनमा गएर केही पकाएको छ भने ग्यास त्यसै छोडिदिने हुन्छ।
- आफू कुन ठाउँमा छु भन्ने थाहा नहुने।
- आज कुन बार हो भन्ने समेत याद नहुने।
- कुन मौसम हो भन्ने थाहा नहुने।
- आफूले भन्न खोजेको कुरा बिर्सिने।
- केही कुराको नाम याद नहुने।
- घरको काम गर्नसमेत गाह्रो हुन थाल्छ।
- रोग बल्झिँदै गएपछि डिप्रेसन, एन्जाइटीका लक्षण देखिन्छन्।
- शंका गर्ने बानी हुन्छ। ‘मेरो खानामा कसैले केही मिसाएको छ’, ‘मेरो सामान चोरी भयो’ भन्ने जस्ता आशंका हुन्छन्।
- रोग बढ्दै गएपछि दिसा–पिसाबको रोकथाम गर्न गाह्रो हुन्छ।
- खान, हिँड्न र सरसफाइ गर्न अरूको सहायता चाहिने हुन्छ।
- डिमेन्सियाको उपचार कसरी हुन्छ भन्ने जिज्ञासा आउनु स्वाभाविक हो।
यसको उपचार भनेको औषधि मात्र भन्ने हुँदैन। यसको जुन उपचार अहिले उपलब्ध छ, त्यसले डिमेन्सियालाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन।
कतिपय समस्या रोक्न सकिने भए पनि पूर्ण नियन्त्रण गर्न गाह्रो छ। परिवारले गर्ने हेरचाह र खानपानमा सन्तुलन भयो भने पनि यसको असर कम गर्न सकिन्छ।
डिमेन्सिया धेरैजसो ६० वर्षको उमेरपछि हुन्छ। केहीलाई योभन्दा पहिला पनि हुन सक्छ। तर धेरैजसो ६० वर्ष कटेपछि नै हुन्छ।
सामान्यतया लामो समयदेखि रक्सी, चुरोटको सेवन गरिरहेकाहरूलाई डिमेन्सिया हुने खतरा हुन सक्छ। यसो भन्दै गर्दा अरूलाई हुँदैन भन्ने होइन।
कुलतमा लागेकाहरूलाई जोखिम भने धेरै हुन्छ। त्यस्तै, कतिपय वंशानुगत र वातावरणीय कारणले पनि यस्तो हुन सक्छ।
यस्ता बिरामीलाई परिवार र आफन्तले धेरै ख्याल गर्नुपर्छ। विभिन्न खालका खेल खेल्ने, गफ गर्ने अनि सामाजिक वातावरणमा घुलमिल गराउने हो भने यो रोगको असर कम हुन्छ।
मुख्य कुरा परिवारकै साथ हो। डिमेन्सिया भएकाले जस्ता गतिविधि गरिरहेका हुन्छन्, ती सबै रोगका कारण हुन् भनेर बुझ्नुपर्छ। रोग हो भन्ने बुझेर हेरचाह गरियो भने बिरामीलाई सहज हुन्छ।
(मानसिक रोग विशेषज्ञ डाक्टर ऋचा अमात्यसँग मेडिसिटी अस्पतालमा कार्यरत छन्।)