नेपाल पत्रकार महासंघ रूपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पुनः निरन्तर वितरण हुने भएको छ।
अग्रज पत्रकार नारायण प्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई बार्षिक २५ हजार नगद सहित पुरस्कृत गर्ने गरी कोष स्थापना गरिदिएका छन्।
सापकोटाले प्रत्येक ५ वर्षका लागि पुरस्कारका लागि हुने एकमुष्ट रकम एक लाख २५ हजार रुपैयाँ जम्मा गरिदिएका हुन्।
सापकोटाकै सहयोगमा २०७३ सालबाट निरन्तर वितरण हुँदै आएको उक्त पुरस्कारका लागि स्थापना गरिएको कोषबाट प्राप्त हुने ब्याजबाट पुरस्कार वितरण गर्न सम्भव नभएपछि केही समय रोकिएको थियो।
शुक्रबार नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्य समेत रहेका सापकोटा र पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले उक्त पुरस्कारलाई पुनः निरन्तरता दिने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
पुरस्कार कोषको लागि अग्रज पत्रकार सापकोटाले ५ वर्षको रकम एकमुष्ट १ लाख २५ हजार पत्रकार महासंघसँगको संयुक्त खातामा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरेका थिए।
उक्त पुरस्कार हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर वातावरण, जलवायु परिवर्तन र पर्यावरणको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वितरण गरिने नेपाल पत्रकार महासंघ रुपन्देहीले जनाएको छ।
विश्वको वातावरण मानवीय जीवनको लागि चुनौतीपूर्ण बन्दै गएको अवस्थामा पत्रकारहरूले वातावरण, जलवायु र पर्यावरणको मुद्दा सशक्त रूपमा उठाउन प्रोत्साहन गर्न वातावरण पत्रकारिता पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक सापकोटाले बताए।
उक्त पुरस्कार प्रत्येक वर्षको वैशाख १ गतेदेखि चैत्र मसान्त सम्मको रिर्पोट, समाचार, फिचरलाई मूल्याङ्कन गरी वितरण गरिने गरी निर्देशिका तयार गरिएको महासंघका सचिव सि.पी. खनालले बताए। पुरस्कारको लागि निर्देशिकामा पत्रकार महासंघ रुपन्देहीको सदस्यता नवीकरण गरेको हुनुपर्ने अनिवार्य प्रावधान समेत राखिएको छ।
नेपाल पत्रकार महासंघले २०७३ सालदेखि वितरण गर्दै आएको उक्त पुरस्कार अहिले सम्म शेर बहादुर के.सी., छवि पाण्डे , लक्ष्मण पोखरेल, लक्ष्मण पौडेल, टिआर शर्मा, तेजेन्द्र केसी र दिनेश पाण्डेले प्राप्त गरिसकेका छन्।