एसियाली विकास बैंक (एडिबी) ले नेपालका बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर अर्थात् करिब ७६ करोड ५९ लाख रुपैयाँ अनुदान दिने भएको छ।
एडिबीले शुक्रबार आपतकालीन अनुदान स्वीकृत गरेको हो। यो रकम तत्काल उद्धार तथा राहतमा खर्च हुने जनाएको छ।
२६ अगस्टमा भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढी र गेग्रान बहावले ठूलो क्षति गरेको थियो। रसुवा, नुवाकोट र धादिङमा जनधन तथा पूर्वाधारमा क्षति पुगेको एडिबीले जनाएको छ।
अनुदानबाट खोज तथा उद्धारका सामग्री खरिद गरिनेछ। औषधि, खाद्यान्न र सुरक्षित खानेपानीको व्यवस्था गरिनेछ।
त्यस्तै, अस्थायी आश्रय, सरसफाइ तथा स्वच्छताका सामग्री उपलब्ध गराइनेछ। भग्नावशेष हटाउन र आपत्कालीन पूर्वाधार स्थिरीकरणमा पनि रकम खर्च हुनेछ।
एडिबीले थप १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब २ करोड ३० लाख रुपैयाँसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।
यो रकम विपद्पछिको आवश्यकता मूल्यांकन, पुनःस्थापना योजना र सम्भावित पुनर्निर्माणका लागि प्रयोग हुने बताइएको छ।
एडिबीका अनुसार मूल्यांकनबाट बाढीबाट भएको क्षति र नोक्सानी पहिचान गरिनेछ। प्रभावित क्षेत्रका आवश्यकता र पुनःस्थापनाका प्राथमिकता पनि तय गरिने उल्लेख छ।
एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदारसँग समन्वय गरिरहेको जनाएको छ।
एडिबी अध्यक्ष मासातो कान्डाले विपद्पीडितलाई तत्काल सहयोग आवश्यक रहेको बताएका छन्। उनले खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधिजस्ता आधारभूत सहयोगमा अनुदान उपयोग हुने बताएका छन्।