आज भदौ १२ गते! रक्षा बन्धन।
यो दिन एकाबिहानै दिदीबहिनीहरू आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुरक्षाको कामना गर्दै रातो-पहेँलो धागो बाँधिदिने चलन छ। पछिल्लो समय यो पर्वको नेपालमा पनि निकै चहलपहल हुन्छ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई हातमा राखी बाँधेर गिफ्टहरूले लिने गर्छन्। जसले गर्दा पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चा हुन्छ।
सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका घर भएकी मनिका श्रेष्ठले पनि यी कुराहरू सामाजिक सञ्जालमा देख्दै आएकी थिइन्। विगतमा दाजुहरूसँग टाढा भएकाले मोबाइलमा अरूको भिडिओ हेरेर चित्त बुझाउँथिन्।
किनकी उनका दाजुहरू काठमाडौंमा बस्थे। उनी गाउँमा थिइन्। यसपटक भने उनी प्लस टु पढ्न काठमाडौं आएसँगै दाजुहरूसँगै बस्न थालेकी थिइन्।
उनी अहिले कक्षा ११ मा पढ्छिन्। काठमाडौं आएको भर्खर ४/५ महिना मात्र भयो। दुई साताअघि मात्र उनले दाजुसँग नजिकिँदै गरेको रक्षा बन्धनको बारेमा कुरा गरेकी थिइन्।
'दाइसँग रक्षाबन्धन डेरामा मनाउने, धेरै भिडिओहरू बनाउने कुरा सुनाइएको थिएँ,' उनले त्यो दिन सम्झिँदै भनिन्, '१० दिनअघि ट्रेकिङमा जानुअघि पनि समयमै फर्किन सम्झाएको थिएँ।'
उनले थपिन्- 'दाइले जसरी पनि एक दुई अगाडि नै फर्किने बाचा गर्नुभएको थियो। तर आउनुभएन।'
उनका ४ दाजु र ५ दिदीबहिनी छन्।
उनी कान्छा दाइहरूसँग राखी बाँधेका भिडिओहरू खिच्ने पुरानो रहर यसवर्ष पूरा हुन्छ भन्नेमा ढुक्क थिइन्। भिडिओमा राखीका नयाँ-नयाँ डिजाइहरूका तस्बीरहरू हेरेर बसेकी थिइन्।
नयाँ कपडाहरू पनि किन्ने सोचिरहेकी थिइन्। तर आजको दिनको उत्सव होइन, आँसु र प्रतिक्षाको एउटा अजंग पहाड बनेर आयो।
मनिकालाई भनेअनुसार उनका २२ वर्षीय कान्छा दाइ सुरेश श्रेष्ठ रसुवाको बाटो हुँदै चीन (तिब्बत) तर्फको ट्रेकिङ गाइड र पोर्टरको काम सकेर घर फर्किँदै थिए। बुधबार बिहान रसुवागढीको नाका आइपुगेको खबर थियो। त्यसपछि भने सम्पर्कविहीन भए।
उनी टिमसँग गएका थिए।
मनिकाले दाइसँग कुरा गरेकी थिइनन्। तर उनले काम गर्ने कम्पनीसँग भने बाढी आएको अर्थात बुधबार बिहान ६ बजेतिर त्यही दिन स्वदेश फर्किन लागेको जानकारी आएको रहेछ। उनीहरूका अनुसार नाकामा चेकजाँचको क्रममा पुरिएका हुन् कि वा कतै उद्धारको प्रतिक्षामा छन् भन्ने उनीहरूलाई लाग्छ।
त्यहीकारण बाढीमा परेकाहरूलाई उद्धार गरेर काठमाडौं ल्याउन थालिएको छ भनेपछि उनीहरू निरन्तर वीर, ट्रमा सेन्टर र टिचिङ अस्पताल परिसरमा दौडधुप गरिरहेका छन्।
शुक्रबार पनि दाइको खोजीमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को ढोकामा आँसु पुछ्दै टोल्याउँदै थिइन्।
उनी मात्र होइन, उनका दुई दिदी लक्ष्मी र अस्मिता पनि थिए। तीनै जनाको एउटै प्रश्न थियो- 'आज पनि भेटिएन। खै सबैतिर हेरिसक्यौं।'
उनीहरूले उद्धार, घाइते र मृतकहरूको नामावलीमा पनि सुरेशको नाम छ कि भनेर अस्पतालको भित्तामा टाँसेको हरेक फोटो हेरेका छन्। तर अहिलेसम्म कतै फेला परेका छैनन्।
बुधबार आएको भीषण बाढी र पहिरोमा परेर उनी सवार गाडी नै बेपत्ता भएपछि अहिले यी तीनै जना दिदीबहिनी आफ्ना दाइको खोजीमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को ढोकामा आँसु पुछ्दै टोलाउँदै छन्।
शुक्रबार पनि उनीहरू टिचिङ अस्पातलको इमर्जेन्सी भवन अगाडि आफ्ना दाजुको खोजीमा यता-उता भौंतारिहेका थिए। उनीहरूले दाइलाई खोज्न कहीँ बाँकी राखेका छैनन्।
तीनै जना दिदीबहिनीहरूले वीर, ट्रमा र टिचिङ अस्पतालका एक-एक बेइमा पुगेर सुरेशलाई खोजिरहेका छन्। उनीहरूले फोन पनि पटक पटक सम्पर्क गर्ने प्रयास गरिरहेका छन्। तर अहिलेसम्म सम्पर्क हुन सकेको छैन।
'न कतै फोन लागिहाल्छ कि भनेर फोन गरिरहेका हुन्छौं। तर लागेकै छैन,' मनिकाले भनिन्, 'कतै हुनुहुन्छ कि भन्ने पनि लाग्छ। तर तीन दिनसम्म कहीँ कतै नभेटिँदा अब कहिले देख्न पाइँदैन कि भन्ने डर पनि छ।'
हिमाली क्षेत्रमा ट्रेकिङमा व्यस्त रहने सुरेश डेरामा कमै बस्थे। उनी कामका शिलशिलामा हिँडिरहन्थे। पर्यटकीय सिजनमा त महिनौंसम्म डेरा आउँदैन थिए। त्यै पनि फोन अफ कहिले नगर्ने गरेको उनीहरूको भनाइ छ।
'यसपालि त दाइ काठमाडौंमै हुनुहुन्छ, हामी पनि यतै पढ्दै छौँ। सँगै रक्षा बन्धन मनाउने, दाइको नाडीमा राखी बाँध्ने ठूलो रहर थियो,' १७ वर्षीया मनिकाले भनिन्, 'आज अनुहार मात्र देख्न पाए पनि चित्त बुझाउँथेँ।'
यति भनिनसक्दा नै उनको आँखा आसुले भरियो।
ज्याकेटको फितालाई हातले थोरै तान्दै आँसु पुछिन्। मनिकाको आँखा रसाएका देखेर लक्ष्मी पनि रून थालिन्। केहीबेरमा आफूलाई सम्हाल्ने कोसिस गरे।
उनीहरूले सुरेश रसुवा नाकामै पहिरोले पुरिए कि! भन्ने शंका गरेका छन्।
किनकि ट्रेकिङ एजेन्सीमार्फत पर्यटकहरूलाई चीन सीमासम्म पुर्याएर फर्किँदै गरेका सुरेशले बुधबार बिहान अफिस र साथीहरूलाई रसुवा बोर्डर (केरुङ/रसुवागढी नाका) बाट नेपालतर्फको गाडी चढिसकेको जानकारी दिएका थिए।
'बुधबार बिहान करिब ६ बजेतिर बोर्डरबाट गाडी चढिसकेको खबर आएको थियो,' दिदी लक्ष्मी श्रेष्ठले भनिन्, 'त्यसपछि उहाँसँग कुनै सम्पर्क हुन सकेन। पछि अफिसबाट पनि बाढी र पहिरोमा परेर गाडी नै सम्पर्कविहीन भएको खबर पायौं।'
रसुवा र धादिङको सीमा क्षेत्रतिर भीषण बाढी आएका बेला सुरेश सवार गाडी बाटोमै परेको अनुमान गरिएको छ। बिहान ९ बजेभन्दा अघि नै नाका कटिसकेको हुनसक्ने अनुमान गरिए पनि उनीहरू र उनीहरूसँगै रहेका अन्य मानिसहरूको कुनै अद्यावधिक सूचना प्राप्त हुन सकेको छैन।
अस्पताल परिसरमा टोलाएर बसिरहेका उनीहरूले हिजो बेलुकी प्रशासनले सार्वजनिक गरेको घाइते तथा उद्धार गरिएकाहरूको नामावली पटक-पटक पढे। तर, त्यो सूचीमा न त सुरेश श्रेष्ठको नाम थियो, न त उनीसँगै यात्रा गरिरहेका अन्य साथीहरूको नै।
'हामीले उद्धार गरिएकाहरूको लिस्टमा हेर्यौं, दाइसँग गएका कसैको पनि नाम छैन,' अस्मिता श्रेष्ठले आँसु रोक्दै भनिन्, 'सोलुखुम्बुका कसैको पनि विवरण आएको छैन। उहाँहरूसँगै गाडीमा चढेका मानिसहरूको स्थिति के छ, कसैलाई थाहा छैन।'
सुरेश अज्ञात रहँदा सिंगो परिवार शोक र चिन्तामा डुबेको छ।
गाउँमा रहेका बाबा-आमालाई पनि यो खबरले मर्माहत बनाएको छ। टिचिङ अस्पतालको आँगनमा मोबाइलमा दाजुको फोटो बोकेर टोलाइरहेका तीन दिदीबहिनीको आँखामा एकातिर आशाको सानो किरण छ भने अर्कोतिर असिम आशंका छन्।
'अहिलेसम्म गाडी नै सम्पर्कमा छैन भनेपछि मनमा अनेकौं नकारात्मक विचारहरू आइरहेका छन्। त्यै पनि कतै जिउँदै हुनुहुन्छ कि, बाटोमा अड्किनुभएको छ कि भन्ने सानो आशा बाँकी नै छ। तर, समय बित्दै जाँदा त्यो आशा पनि धमिलो हुँदै गएको छ,' उनीहरू भन्छन्।
बाढीले देशैभरिको जनजीवन अस्तव्यस्त बनाइरहेको बेला, रक्षा बन्धनको यो पर्व श्रेष्ठ परिवारका लागि भने एउटा कहिल्यै बिर्सन नसकिने पीडा र प्रतीक्षाको दिन बनेको छ।
काठमाडौंको खरिबोटको त्यो सानो कोठामा आज रक्षा बन्धनको मिठाइ र राखी त्यसै चिसो भइरहेको छ, अनि तीन दिदीबहिनी अस्पतालको ढोकामा उभिएर दाजुलाई पर्खिरहेका छन्।