भोटेकोशी बाढीमा परेर मृत्यु भएका तीन जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिचान भएको छ।
पहिचान भएका तीनमध्ये एक जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ।
पहिचान हुनेमा नवलपरासी सुस्ता नगरपालिका–१ का ३७ वर्षीय यादव भण्डारी, अर्घाखाँची पाणिनी गाउँपालिका–७ का ४७ वर्षीय नारायण थापा र भक्तपुर नगरपालिका–९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापति छन्।
भण्डारी रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए। नवलपरासीमा फेला पारेर पोखरा ल्याइएको उनको शव दाजु चुडामणि भण्डारीले पहिचान गरेका हुन्।
नारायण थापा नीलकण्ठ माध्यमिक विद्यालय, बेत्रावतीमा शिक्षकका रूपमा कार्यरत थिए। नवलपरासीको देवचुलीमा फेला पारेर पोखरा ल्याइएको उनको शव श्रीमती कमला थापाले पहिचान गरेकी हुन्।
धादिङमा फेला पारेर पोखरा ल्याइएको ट्याग नम्बर ७ को शव सत्यसुन्दर प्रजापतिको भएको पहिचान भएको हो। उनको शव भाइ सत्यकृष्ण प्रजापतिलाई हस्तान्तरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शुक्रबार साँझसम्म ५७ शवको फिंगरप्रिन्ट लिने तथा सरसफाइ गर्ने काम भएको छ। ११ शवको पोस्टमर्टम गरिएको छ।
शवको पहिचानका लागि आफन्तबाट प्राप्त विवरण, फिंगरप्रिन्ट लगायतका आधारमा प्रक्रिया अघि बढाइएको सहायक सिडिओ चित्रांगत बरालले बताए।