पोखरा महानगरपालिका–३० ढुंगेपाटनका कमल दाहाल शुक्रबार स्कुटरमा श्रीमती र दुई वर्षीया छोरी लिएर विरौटादेखि पृथ्वीचोकतर्फ जाँदै थिए।
अविरल वर्षाका कारण सडकमा भेल बगिरहेको थियो। भेलको बहाब बढेपछि कमलले स्कुटर सडक किनारमा रोके। श्रीमती र छोरीलाई ओराल्न खोज्दा सडककै भेलले दुई वर्षीया छोरी रानिकालाई बगायो।
छोरीलाई भेलले बगाएपछि आमा २६ वर्षीया सुष्मा दाहाल छोरीलाई समात्न दौडिइन्। तर सडकमा भेलको बहाव निकै ठूलो भएकाले उनलाई पनि बगायो।
सडकको भेलले नाली हुँदै उनीहरूलाई करिब डेढ किलोमिटर बगाएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले बताए।
‘सडकबाट ढकन लगाएको नाली हुँदै आमाछोरी करिब डेढ किलोमिटर बग्नुभएको रहेछ,’ उनले भने, ‘हामीले नालीबाट उद्धार गरेर अस्पताल पुर्यायौँ।’
शुक्रबार अस्पताल पुर्याउँदा सुष्मा र रानिका दुवै बेहोस अवस्थामा थिए। अस्पतालका चिकित्सकले शनिबार बिहान आमाछोरी दुवैलाई मृत घोषणा गरे।
सडकबाट आएको भेलसँगै सुष्मा र रानिका ढकन खुला भएको नालीमा छिरेका थिए। त्यसपछि ढकन बन्द भएको नाली हुँदै उनीहरू करिब डेढ किलोमिटर बगेको डिएसपी बोगटीले बताए।
‘हामीले खबर पाउनेबित्तिकै उद्धार टोली खटाएर उद्धार गरेका थियौँ,’ उनले भने, ‘सडकको नालीमा सबै ठाउँमा ढकन भएको भए यसरी ज्यान जाने थिएन होला।’
पोखरामा अविरल वर्षा हुँदा सडकमै खोला बग्छ। व्यवस्थित र आकाशे पानी थाम्ने गरी नालीको व्यवस्थापन नहुनु तथा भएका नालीसमेत मर्मतसम्भार नहुँदा यस्ता घटना वर्षेनी दोहोरिइरहेका छन्।
२०७९ भदौमा पनि यसरी नै ढकन खुला भएको नालीमा परेर सडकमा हिँडिरहेका बालकको ज्यान गएको थियो।
पोखरा–१६ स्थित दीपको ओरालोमा ११ वर्षीय रविन तिवारी चिप्लिएका थिए। वर्षाको भेलले नालीको ढकन देखिएको थिएन। उनले टेकेको ठाउँमा नालीको ढकन रहेनछ। आमाको हात समातेर हिँडिरहेका रविन चिप्लिएर नालीभित्र पुगेका थिए।
करिब १० मिटर टाढा बगेपछि उनी अड्किए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनलाई दुई घण्टापछि झाडीमा मृत फेला पारेको थियो।
पोखराका नालीले २०७४ असोजमा लामाचौरका ५६ वर्षीय कृष्णबहादुर थापाको पनि ज्यान लिएको थियो। नालीमा डुबेर उनको मृत्यु भएको थियो।
सोही वर्ष कात्तिकमा पोखरा–१९ का पिजन पुन मोटरसाइकलसहित नालीमा खसेका थिए। इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पश्चिमाञ्चल क्याम्पसनजिकै नालीमा खसेर बेपत्ता भएका पिजनको शव पछि फेला परेको थियो।

पोखरामा ढल तथा बाढी व्यवस्थापन हुन नसक्दा यसरी मानिसको ज्यान गइरहेको छ। तर सरकारले अहिलेसम्म पोखराको ढल र बाढी व्यवस्थापनका लागि कुनै ठोस योजना ल्याउन सकेको छैन।
इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका प्राध्यापक कौशलचन्द्र जिसीले पोखराको ढल र बाढी व्यवस्थापनका लागि अध्ययन गरेर योजना बनाउनुपर्ने बताउँछन्।
‘सहरको बर्खे भेल थेग्ने नाला निर्माण र सहरी बाढी व्यवस्थापनमा त हाम्रो सोच पुग्दैन, अब नदीको भीषण बाढी कसरी थेग्ने हो,’ उनी भन्छन्, ‘पोखरामा बर्सेनि सडकमा बगेको पानीले मान्छे बगाएर मृत्यु नहोस् भन्न सहरी बाढी व्यवस्थापन प्लानसहितको नयाँ ढल र नाला आवश्यक छ। ३०–४० वर्ष पुराना ढल र नालाले अहिलेका बर्खे भेल थेग्दैनन्।’
पोखरा महानगरका मेयर धनराज आचार्य पोखराको ढल तथा बाढी व्यवस्थापन गर्न सडक विभागलाई बारम्बार ताकेता गर्दा पनि कुनै काम नगरेको बताउँछन्।
सुष्मा र उनकी छोरी रानिकालाई बगाएको सडक राष्ट्रिय राजमार्गमा पर्ने भन्दै उनले सडकले काम नगर्दा यस्तो दुःखद घटना हुन पुगेको बताए।
‘हामीले सडकलाई भनेको भन्यै छौँ, त्यो त हाइवे पनि हो,’ उनले भने, ‘सानो नालीको सानो प्वालबाट छिरेर धेरै तल पुर्याएको सुनियो। सडकले काम गरिदिए हामीले पनि थपथाप गरेर सहयोग गर्ने थियौँ।’
पोखरामा वर्षाको भेलले सडकलाई खोलामा परिणत गर्ने र त्यही भेल नाली हुँदै मानिसलाई बगाउने घटना पटक–पटक दोहोरिँदै आएका छन्। सुष्मा र रानिकाको मृत्युले पोखराको सडक, नाली र सहरी बाढी व्यवस्थापनको पुरानो समस्यालाई फेरि सतहमा ल्याएको छ। तर सरकारले अहिलेसम्म समाधानका कुनै योजना बनाएको छैन।