बाढीमा फसेकाको उद्धारका लागि चिनियाँ विज्ञ टोली नेपाल आएको छ।
शनिबार दिउँसो चिनियाँ विज्ञको ६ जनाको टोली नेपाल आएको हो। उनीहरु सरकारको अनुमतिमा बाढीग्रस्त क्षेत्रमा खटिएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।
उनीहरू चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेका हुन्।
टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरू गरेको प्रधानमन्त्री बालेनको सचिवालयले जनाएको छ।
संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक 'रेकी' (अनुगमन) गर्ने भनिएको छ।
त्यसपछि प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा 'स्ट्यान्डबाई' अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने भनिएको छ।
सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।