नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले रसुवा बाढीका कारण जलविद्युत आयोजनामा फसेका नागरिकको तत्काल उद्धार गर्न ठूलो चुनौती देखिएको बताएका छन्।
उनले त्रिशूली–३ ए, बी लगायत जलविद्युत आयोजनाको भूमिगत पावर हाउसमा फसेका कामदारको उद्धारमा ठूलो चुनौती देखिएको बताए।
बाढीको कारण प्रारम्भिक चरणमा त्रिशूली– ३ ए को आयोजनास्थल पहिचान गर्न नै मुश्किल परेको उनले बताए।
बाढी र लेदोले संरचना पुरिएपछि सुरूङ तथा पावर हाउसको वास्तविक स्थान तत्काल पत्ता लगाउन मुस्किल भएको उनको भनाइ छ।
उनका अनुसार बाढीपछि पहिलो चरणमा नेपाली सेना, आयोजनामा कार्यरत प्राविधिक तथा अन्य टोलीले पावर हाउस र सुरूङको स्थान पहिचान गर्ने प्रयास गरे पनि तत्काल सफल हुन सकेनन्।
बाढीको दोस्रो दिन हेलिकप्टरमार्फत सर्वेक्षण टोली पठाएर त्रिशूली संरचना रहेको स्थान पहिचान गरिएको थियो।
आयोजनास्थल आसपास रहेका दुई एक्साभेटरमध्ये एउटा सञ्चालन योग्य भेटिएपछि हाल त्यसलाई प्रयोग गरी पुरिएको क्षेत्र खन्ने काम भइरहेको उनले जानकारी दिए।
हाल उद्धारका लागि नेपाली सेना तथा सशस्त्र प्रहरीका टोली परिचालन गरिएको उनले जानकारी दिए।
भूमिगत पावरहाउस भएकाले सुरूङभित्र हावा सञ्चित रहेको र छुट्टै सुरूङमार्फत केही हावा आवतजावत हुन सक्ने भएकोले फसेका कामदार जीवितै रहेको हुनसक्ने उनको भनाइ छ।
उनले भने, ‘सुरूमा त हामीले पावर हाउस कहाँ पुरिएको छ भन्ने नै लोकेट गर्न सकेनौँ। त्यहाँ काम गर्ने साथीहरू, नेपाली सेना तथा अपरेसनमा रहेका साथीहरू गएर खोज्दा पनि पत्ता लगाउन सकिएन। भोलिपल्ट सर्भे टोली पठाएपछि मात्रै पावर हाउसको लोकेसन पत्ता लगाउन सकियो। भौतिक सम्पर्कका लागि हेलिकप्टरबाहेक अर्को उपाय थिएन। सौभाग्यवश, त्यहाँ दुईवटा एक्साभेटर रहेछन्। तीमध्ये एउटा ल्याउन सकियो, अर्को बिग्रिएको रहेछ। त्यसपछि पारिपट्टि एक्साभेटर लगेर खन्ने काम भइरहेको छ। नेपाल आर्मीका करिब ४०–५० जना तथा सशस्त्र प्रहरी पनि परिचालन भएर उत्खननको काममा लागिरहनुभएको छ। एउटा आशाको कुरा के हो भने हाम्रो अन्डरग्राउन्ड पावर हाउस हो। त्यहाँ ट्रयाप्ड एयर हुन सक्छ। उत्पादन भएको बिजुली बाहिर लैजानका लागि छुट्टै टनेलमार्फत केही माथिबाट केबल लगिएको छ। त्यसका कारण त्यहाँबाट अलिअलि हावा पास भइरहेको हुनसक्छ र मानिसहरू जीवितै छन् कि भन्ने आशा छ।’
त्रिशूली–३ बी जलविद्युत आयोजनाको अवस्था अझ गम्भीर रहेको उनले बताए।
‘त्यहाँ बाढीको लेदोले सबै कुरा पूरै पुरिएको छ। कहाँ खन्ने भन्ने ठाउँसमेत पत्ता लगाउन गाह्रो छ। तर उद्धारका प्रयासहरू भइरहेका छन्। सम्बन्धित कम्पनी र नेपाल विद्युत प्राधिकरणका साथीहरू सबै लागिरहनुभएको छ। त्रिशूली–३ ए को केसमा अन्डरग्राउन्ड पावर हाउस भएकाले हामीले बढी आशा राखेका हौँ,’ उनले भने, ‘त्यो संरचना केही भित्र हुन्छ। बाढी आउँदा प्रवेशद्वारतर्फको भाग मात्रै बन्द भएको र भित्र हावा बाँकी हुन सक्ने भएकाले त्यहाँ मानिसहरू जीवित हुन सक्छन्।’
उक्त क्षेत्र बाढीको लेदोले पूर्ण रूपमा पुरिएको छ। यस्तै खन्ने तथा उद्धार कार्यका लागि प्रवेश गर्ने स्थान पहिचान गर्न समेत कठिन भएको उनले बताए।
उनकाअनुसार त्रिशूलीमा रहेको अरू आयोजनामा भने तुलनात्मक रूपमा पहुँच सहज भएकाले करिब ३५० जना कामदारलाई सुरूङबाट निकालिसकिएको छ।
उनले विपद्पछि प्रारम्भिक चरणमै क्षतिको वास्तविक अवस्था र सुरूङभित्र फसेका व्यक्तिको संख्या यकिन गर्न नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको बताए।
विद्युत तथा सञ्चार संरचना अवरूद्ध हुँदा सूचना संकलन र उद्धारको कार्य नै बन्द हुन पुगेको उनको भनाइ छ।
रसुवाको बेत्रावती र स्याफ्रु क्षेत्रमा समेत विद्युत् प्रणालीलाई अलग–अलग रूपमा सञ्चालनमा ल्याउने काम भइरहेको उनले जानकारी दिए। सो क्षेत्रमा शनिबार साँझसम्ममा विद्युत वितरण प्रणाली पुनःस्थापित गर्ने लक्ष्य रहेको उनले बताए।
उनले ठूलो विपद्का बीच पनि त्रिशूली क्षेत्रमा करिब १२ देखि १६ घण्टामै वितरण प्रणाली सञ्चालनमा ल्याउन सफल भएको दाबी गरे। –न्युज एजेन्सी नेपाल