प्रधानमन्त्री बालेन शाहले रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङभित्र चिनियाँ टोलीले ३ किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि मान्छे फेला नपरेको बताएका छन्।
भदौ १० गतेको विनाशकारी बाढीयता सामाजिक सञ्जाल फेसबुकमार्फत दैनिक अपडेट दिइरहेका प्रधानमन्त्री बालेनले आइतबार राति साढे ८ बजेको पोस्टबाट उक्त जानकारी दिएका हुन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था 'इप्पान' ले दिएको विवरण अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन छन्। यहाँ अहिलेसम्म २५४ जनाको उद्धार गरिएको र ३०० जना सुरूङमा फसेको इप्पानले जनाएको छ।
प्रधानमन्त्री बालेनले प्रभावित क्षेत्रका विद्युत आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको बताएका छन्।
माथिल्लो त्रिशूली–१ आसपासबाट पछिल्ला २ दिनमा २५० जनाको उद्धार गरिएको उल्लेख गर्दै उनले चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको जानकारी दिएका छन्।
त्यस्तै, नुवाकोटको माथिल्लो त्रिशूली ३ 'ए' आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको प्रधानमन्त्रीको स्ट्याटसमा छ। उनले उद्धारका लागि नेपाली सेनाका इन्जिनियरद्वारा 'ब्लास्टिङ' अघि बढाइएको बताएका छन्।
'घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपाल, र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ। टोलीले आइतबार दिउँसो सुरूङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ,' उनले लेखेका छन्।
नुवाकोटको माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी रहेको उनले जानकारी दिएका छन्।
आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको र चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको उनले बताएका छन्।
प्रधानमन्त्री बालेनका अनुसार रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एक्स्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ।
त्यस्तै, रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ। भारतीय टोलीले नेपाली सेनासँगको समन्वयमा रेकी गरी पम्प र एक्स्काभेटर लगेर थप काम सुरू भएको छ।
रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम सुरू गरिसकेको उनले लेखेका छन्।