तिब्बत हुँदै भोटेकोशी-त्रिशूलीमा आएको बाढीमा परी सम्पर्कविहीन भएकाहरूको संख्या बढिरहेको छ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीमा परी सम्पर्कविहीन हुनेको संख्या सोमबार ४ हजार २४७ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
यो भनेको एकै दिनमा १ हजार ७४५ जना थपिएका हुन्।
प्राधिकरणले आइतबार राति सार्वजनिक गरेको तथ्यांकमा सम्पर्कविहीनको संख्या २ हजार ५०२ थियो।
सम्पर्क विहीनको संख्या एकै दिन २ हजार हाराहारीमा कसरी थपियो भनेर हामीले प्राधिकरणकी प्रवक्ता रहेकी उपसचिव शान्ति महतसँग कुराकानी गरेका छौं।
सुरूमा प्राधिकरणले त्यस्तो डेटा कसरी संकलन गर्छ भनेर बुझौं।
प्रवक्ता महतका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा आपतकालीन कार्य सञ्चालन केन्द्र (डिओसी) भन्ने युनिटले त्यस्तो डेटा संकलन गर्छ।
डिओसीले यस्तै विपदका समयमा तथ्यांक संकलन गरी केन्द्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र (एनइओसी)लाई पठाउँछ।
सोही विवरण भेरिफाइ गरेर प्राधिकरणले सार्वजनिक गर्छ।
सोमबार रसुवा र नुवाकोटबाट सम्पर्क विहीनहरूको सूची बढेर आएका कारण संख्या ह्वात्तै बढेको जस्तो देखिएको पनि उनले बताइन्।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या सोमबार १ हजार ५५८ जना छन्। रसुवाबाट सम्पर्कविहीनको संख्या ८६५ छ।
आइतबार रातिसम्म नुवाकोटबाट सम्पर्कविहीन भएकाको संख्या ११५ जना मात्रै थियो। रसुवाबाट हराउनेको संख्या भने ५६२ थियो।
दुई जिल्लाबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या एकै दिन १ हजार ७४६ जना थपिएका छन्।
'दुई जिल्लाबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या बढेपछि कुल संख्या पनि बढेको हो,' उनले भनिन्।
बाढी प्रभावितहरूले विपदकै कारण ढिला गरी प्रशासनलाई जानकारी गराएका कारण पनि एकै दिन सम्पर्कविहीनको संख्या बढेको उनले बताइन्।
प्राधिकरणकी प्रवक्ता महतले सम्पर्कविहीन भनेर सार्वजनिक गरिएको तथ्यांकमा मृतकको तथ्यांक पनि हुन सक्ने बताइन्।
'पहिचान नभएसम्म उनीहरूलाई बेपत्ताकै सूचीमा राखिन्छ। अहिले फेला पारिएकोमध्ये धेरै शव पहिचान भएका छैनन्। त्यसकारण सम्पर्कविहीनको संख्यामा मृतकको संख्या गाभिने सम्भावना पनि बढी हुन्छ,' उनले भनिन्।
निकायहरूले पत्रसहित पठाएका र आधिकारिक रूपमा दर्ता भएका विवरण मात्र सार्वजनिक गरिने र मौखिक सूचनाका आधारमा तथ्यांक नराखिने उनले बताइन्।
सरकारी निकायबाट पठाएका सूचनाहरू पनि सूचीमा समावेश हुने उनले बताइन्।
'रसुवाकै माथिल्लो तटीय क्षेत्रमा रहेका कार्यालयहरूबाट बेपत्ताहरूको छुट्टै संख्या हुन सक्छ। जिल्लाको डिओसीले पठाएको छुट्टै विवरण पनि समावेश भएको हुन्छ,' उनले भनिन्।
सूची नदोहोरियोस् भनेर रूजू र भेरिफाइ नगर्ने पनि बताइन्।
'त्यसकारण कोही सम्पर्कविहीन छन् भने उहाँहरूलाई पहिले सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डिओसीमा निवेदन दिन भनेका छौं,' उनले भनिन्।
प्राधिकरणले आम नागरिकले पनि विवरण दर्ता गर्न सकून् भनेर 'सेतु एप' पनि अन्तिम चरणमा पुगेको बताइन्। यसमा व्यक्तिले पनि विवरण हेर्न सक्ने गरी बनाइने उनले बताइन्।
'अहिले एउटै व्यक्तिको धेरै आफन्तले विवरण हालेको हुन सक्ने भएकाले मिसिङको केसमा चाहिँ अझै भेरिफाइड र अपडेटेड डेटा दिन कोसिस गरिरहेका छौं,' उनले भनिन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले रसुवाको तथ्यांक अझै बढ्ने बताए।
'यहाँ धेरै क्षति छ। यकिन विवरण संकलन गर्न पनि गाह्रो छ। हामीले विवरण संकलन गरिरहेका छौं,' उनले भने, 'त्योभन्दा धेरै आउन बाँकी छ।'
रसुवा प्रशासनले जिल्ला भित्रका सम्पर्क विहीन भएकाहरूको विवरण सार्वजनिक गर्ने तयारी पनि गरिरहेको उनले भने।