सोमबार सुरूङभित्र करिब १०० मिटर प्रवेश गरेर रोकिएको लाङटाङ खोला जलविद्युत आयोजनाको उद्धार प्रयास मंगलबार थप अघि बढ्न सकेको छैन।
यद्यपि, उद्धारका लागि आवश्यक नयाँ उपकरणको व्यवस्थापन र सुरूङमा प्रवेश गर्ने वैकल्पिक बाटोको तयारी भने मंगलबार गरिएको कम्पनीले जनाएको छ।
रसुवास्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना सम्पर्कमा छैनन्।
उनीहरू सुरूङभित्र फसेको हुन सक्ने आशंका छ।
खोजी तथा उद्धारका लागि हिजो नेपाली सेना, भारतीय तथा नेपाली प्राविधिक सहितको टोली सुरूङभित्र प्रवेश गरेको थियो।
कुल करिब १५० मिटरभित्र पुग्नुपर्ने भए पनि सुरूङभित्र ठूला–ठूला बोल्डर भेटिएपछि टोली करिब १०० मिटर मात्रै भित्र प्रवेश गर्न सकेको थियो। त्यसपछि थप उपकरण र प्राविधिक व्यवस्थाको आवश्यकता देखिएपछि उद्धार टोली फिर्ता भएको थियो।
तर मंगलबार फिल्डमा थप उद्धारको काम हुन सकेन। सरकारको उद्धार टोलीले कम्पनीसँगै मिलेर काम गर्ने प्रस्ताव गरेपछि काम अघि नबढाइएको कम्पनीले जनाएको छ।
अब सरकार र कम्पनीको टोलीले संयुक्त रूपमा उद्धार अघि बढाउने भएका छन्।
'अब सरकारको उद्धार टोली र हाम्रो टोलीबीच समन्वय गरेर संयुक्त रूपमा काम गर्ने कुरा भएको छ। आज आवश्यक तयारी गरेका छौं। भोलिबाट उपकरण ल्याएर नयाँ योजनाअनुसार काम सुरू हुन्छ। पेनस्टक पाइप काटेर म्यानहोल बनाएर सुरूङभित्र प्रवेश गर्ने र त्यसपछि उद्धारको कामलाई निरन्तरता दिनेछौं,' आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले भने।
आयोजनाका अनुसार अनुसार बाढीपहिरोले आयोजनास्थलमा रहेका उद्धारका सबै उपकरण बगाएको छ। त्यसपछि काठमाडौंबाट नयाँ उपकरण ल्याएर नुवाकोटको बट्टारमा राखिएको हो।
'अहिले हामीसँग त्यहाँ उद्धार गर्ने कुनै सामान बाँकी छैन। सबै बाढीले बगायो। काठमाडौंबाट सामान मगाएर बट्टारमा राखेका छौं। भोलि हेलिकप्टरबाट एयरलिफ्ट गर्ने तयारी छ,' भट्टराईले भने।
सुरूङभित्र फोहोर, ढुंगा र माटो भरिएका कारण त्यही बाटोबाट भित्र प्रवेश गर्न कठिन भएपछि उद्धारको नयाँ योजना बनाइएको छ। कम्पनीले सुरूङबाट प्रवेश नगरी पेनस्टक पाइप काटेर म्यानहोल बनाउने र त्यसबाट सुरूङभित्र पुग्ने तयारी गरेको छ।
यसका लागि कम्पनीका चार जना प्राविधिक तथा विज्ञलाई आजै आयोजनास्थलतर्फ पठाइएको भट्टराईले बताए। उनीहरूले भोलिबाट पेनस्टक पाइप काट्ने काम सुरू गर्नेछन्।
'टनेलभित्र फोहोर र ढुंगा–माटो भरिएको छ। त्यसैले टनेलबाट नभई पेनस्टक पाइप काटेर म्यानहोल बनाएर भित्र छिर्ने योजना बनाएका छौं,' भट्टराईले भने।
अब बाँकी उद्धार कार्य सरकार र कम्पनीको टोलीले सहकार्य गरेर अघि बढाउने तयारी छ। आवश्यक उपकरण आयोजनास्थल पुगेपछि नयाँ योजना अनुसार उद्धारको काम अघि बढाइने कम्पनीले जनाएको छ।