रूकुम पश्चिममा मोटरसाइकलसहित बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। अर्का एक जनालाई भने प्रहरीले उद्धार गरेको छ।
जिल्लाको मुसिकोट नगरपालिका–४ सोलाबाङका मोटरसाइकल चालक १८ वर्षीय प्रशान्त सन्यासी बेपत्ता छन्।
पछाडि सवार रामेछाप जिल्लाको गोकुल गाउँपालिका–१ घर भई हाल रूकुम पश्चिमको मुसिकोट–४ सोलाबाङमा बस्दै आएका १८ वर्षीय प्रवीण बस्नेतलाई भने प्रहरीले सकुशल उद्धार गरेको छ।
बस्नेतको अवस्था सामान्य रहेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक झविन्द्र परियारले जनाए।
मंगलबार दिउँसो पौने ४ बजेतिर खलंगादेखि कुनाखेत हुँदै स्यार्पुतालतर्फ जाँदै गरेको रा ६ प १६१८ नम्बरको मोटरसाइकल जिल्लाको बाफिकोट गाउँपालिका–३ स्थित तिल्चाखोला पार गर्ने क्रममा अचानक आएको बाढीका कारण बगेको थियो।
मोटरसाइकलसहित मानिस बगेको खबरपछि प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा प्रहरी उद्धारका लागि खटिएको थियो।
प्रहरीले बगेका दुईमध्ये बस्नेतको उद्धार गर्न सफल भए पनि मोटरसाइकल चालक प्रशान्तलाई फेला पार्न नसकेको जनाएको छ।
उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ।