आइसिसी टी-20 श्रीलंका विरुद्धको खेलमा पराजित भएसँगै पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरियो।
यो लगातार चौथो पटक हो कि पाकिस्तान कुनै पनि आइसिसी प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भएको छ। कुनै समयको बलियो टोली अहिले प्रतियोगितामा एउटा सामान्य टोली जस्तो मात्र सीमित भएको छ।
यस विश्वकपका लागि पाकिस्तानले अरू देशले भन्दा धेरै तयारी गरेको थियो। विश्वकपअघि उनीहरूले ३४ वटा टी-२० खेल खेले, जसमध्ये २४ वटा जिते पनि। तर ती जितहरू प्रायः कमजोर टोलीहरू विरुद्ध मात्र थिए। ठूला टोलीहरूसँग विशेष गरी भारतसँग पछिल्ला ६ खेलमा पाकिस्तान ६ पटकै पराजित भएको छ।
नयाँ कप्तान सलमान आगाको छनोटमा सुरुदेखि नै प्रश्न उठेको थियो। तथ्यांक अनुसार टी-२० उनको सबैभन्दा कमजोर फर्म्याट हो। यस विश्वकपका ६ इनिङ्समा उनले मात्र ६० रन बनाए, जसमा ३८ रन त नामिबिया विरुद्ध मात्र थियो। उनले आफूलाई 'डररहित' कप्तान भन्न खोजे पनि मैदानमा न उनको ब्याटिङ चल्यो, न त रणनीतिको जादु नै देखियो।
पाकिस्तानी टोलीको छनोटमा ठूलो अन्योल देखियो। पाकिस्तानका उत्कृष्ट स्पिनर अबरारलाई भारतसँगको एउटा खेल खराब हुनासाथ टोलीबाट निकालियो। जब उनलाई अन्तिममा श्रीलंका विरुद्ध खेलाइयो, उनी नै सबैभन्दा सफल बलर बने। बाबरलाई कहिले ओपनिङ त कहिले मिडिल अर्डरमा खेलाएर अलमल पारियो।
मोहम्मद ह्यारिस र हसन नवाज जस्ता आक्रामक युवा ब्याटरहरूलाई टोलीबाट बाहिर राखियो। टोलीको कुल रनको ३८ प्रतिशतरन एक्लै फरहानले बनाएका थिए, बाँकी ब्याटरहरू पूर्ण रूपमा असफल रहे।
पाकिस्तान क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप र प्रशासनिक अस्थिरता कायमै छ। ग्यारी कर्स्टन र जेसन जिलेस्पीजस्ता विश्वप्रसिद्ध प्रशिक्षकहरूले काम गर्ने स्वतन्त्रता नपाएपछि छोटो समयमै राजीनामा दिए। अहिले छनोटकर्ता आकिब जावेदको हातमा सबै शक्ति छ, तर त्यसको सकारात्मक प्रभाव मैदानमा देखिएको छैन।
पहिला पाकिस्तानको टोली जुनसुकै बेला चमत्कार गर्न सक्ने मानिन्थ्यो। सन् २०२१ र २०२२ का विश्वकपमा उनीहरूले उत्कृष्ट पुनरागमन गरेका थिए। तर सन् २०२४ पछि पाकिस्तानको टोली 'प्रेडिक्टेबल' अर्थात् सजिलै अनुमान लगाउन सकिने गरी कमजोर भएको छ। उनीहरू अमेरिका जस्तो टोलीसँग हारे र च्याम्पियन्स ट्रफीमा घरेलु मैदान एउटै खेल जित्न सकेनन्।