अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पुरुष टी-२० विश्वकपका लागि १६ टोली सहभागी हुने गरी 'ग्लोबल क्वालिफायर' (विश्वव्यापी छनोट) को संरचना बनाउने भएको छ।
भारतको अहमदाबादमा आइतबार सम्पन्न आइसिसीको बोर्ड बैठकले फेरि ग्लोबल छनोट गर्नका लागि संरचना बनाउनका लागि तयारी सुरु गर्ने निर्णय गरेको हो।
यसअघि आइसिसीले विभिन्न महादेशका छनोटबाट विश्वकपमा खेल्ने टोली पक्का गर्ने गर्थ्यो। नेपालले सन् २०२४ र २०२६ को विश्वकप एसिया छनोटमार्फत् गरेको थियो।
तर अब महादेशीय छनोट पार गरेका विभिन्न १६ टोलीलाई विश्व छनोट खेलाउने आइसिसीले निर्णय गरेको हो।
हुन त नेपालले सन् २०१४ को विश्वकपमा स्थान विश्व छनोट पार गरेर बनाएको थियो।
आइसिसीले विश्वकपमा उत्कृष्ट टोलीलाई स्थान दिने उद्देश्यले फेरि विश्व छनोट आयोजना गर्न लागेको हो।
तर यो छनोट सन् २०२८ को विश्वकपका लागि हुने वा त्यसपछि हुने खुलाइएको छैन।