राजस्थान रोयल्सका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी आईपीएलको एकै सिजनमा 'मोस्ट भ्यालुएबल प्लेयर' र 'उदीयमान खेलाडी' दुवै अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्।
वैभवको टोली राजस्थान रोयल्सले आईपीएल २०२६ को ट्रफी जित्न नसके पनि उनले व्यक्तिगत रूपमा जित्न सकिने सबैजसो महत्वपूर्ण अवार्डहरू आफ्नो नाममा गरे।
उनले यस सिजनको सर्वाधिक रन बनाउने खेलाडीलाई दिइने 'ओरेन्ज क्याप' सँगै उत्कृष्ट खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीको अवार्ड जिते।
पूरा प्रतियोगिताभरि चर्चाको केन्द्रमा रहेका वैभवले १६ इनिङ्समा २३७.३० को विष्फोटक स्ट्राइक रेटमा ७७६ रन बनाए। यो उपलब्धि उनले मात्र १५ वर्षको उमेरमा हासिल गरेका हुन्।
गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो राबाडाले सर्वाधिक २९ विकेट लिँदै 'पर्पल क्याप' जिते। उनले १७ खेलमा ९.६८ को इकोनोमी रेटमा बलिङ गरेका थिए। राबाडाको यो दोस्रो पर्पल क्याप हो; यसअघि उनले
२०२० मा दिल्ली क्यापिटल्सका लागि ३० विकेट लिँदै यो अवार्ड जितेका थिए। रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार २८ विकेटसहित दोस्रो स्थानमा रहे।
वैभव सूर्यवंशी एकै सिजनमा उत्कृष्ट र उदीयमान खेलाडीको अवार्ड जित्ने पहिलो खेलाडी मात्र बनेनन्, उनले सन् २०११ मा क्रिस गेलले बनाएको एउटा दुर्लभ रेकर्डको पनि बराबरी गरे। गेलपछि वैभव नै एकै सिजनमा सर्वाधिक रन र सर्वाधिक स्ट्राइक रेट (न्यूनतम २० बल खेलेको आधारमा) दुवै तालिकामा शीर्ष स्थानमा रहने खेलाडी बनेका छन्।
वैभवले यस सिजन ७२ वटा छक्का प्रहार गर्दै क्रिस गेलको एकै सिजनमा ५९ छक्का प्रहार गर्ने पुरानो रेकर्डलाई समेत तोडिदिए। उनको उत्कृष्ट प्रदर्शनकै मद्दतमा राजस्थान रोयल्स प्लेअफसम्म पुगेको थियो, जहाँ न्यु चण्डीगढमा भएको 'क्वालिफायर २' मा उनीहरू गुजरात टाइटन्ससँग पराजित हुन पुगे।
फाइनल खेल सकिएपछि अवार्ड लिँदै वैभवले भने– ‘अवार्ड पाउँदा खुसी लागेको छ, तर धेरै अन्तर्वार्ताहरू दिनुपर्दा अलि दबाब पनि महसुस भइरहेको छ। यो मेरो लागि गर्वको क्षण हो र म अर्को सिजन पनि यस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछु।’
आफ्नो खेल शैलीबारे उनले थपे– ‘म आफ्नो स्वभाविक खेलमा विश्वास गर्छु। यदि बल प्रहार गर्न लायक छ भने म पूरै शक्तिका साथ सट प्रहार गर्छु। दबाबमा कसरी खेल्ने, हरेक खेलमा परिस्थितिको माग अनुसार कसरी आफूलाई ढाल्ने भन्ने कुरा नै मैले यस सिजनको मुख्य सिकाई हो। खेलको अवस्था बुझेर टोलीको आवश्यकता अनुसार खेल्नुपर्छ। फिटनेसमा पनि मेरो ध्यान छ। यदि लामो समयसम्म क्रिकेट खेल्नु छ भने चोटबाट मुक्त रहन र फिट रहन धेरै मिहिनेत गर्नुपर्छ।’
ओरेन्ज क्यापको दौडमा गुजरात टाइटन्सका कप्तान शुभमन गिल ७३२ रनसहित दोस्रो स्थानमा रहे। उनका ओपनिङ पार्टनर बी. साई सुदर्शन ७२२ रनका साथ तेस्रो स्थानमा रहे।