सन् २०२५ जुन २ सम्म रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ‘आईपीएल जित्न नसक्ने’ टोलीका रूपमा हेरिन्थ्यो। तर, त्यसको ठिक एक वर्षपछि आरसीबीले लगातार दोस्रो पटक उपाधि जितेर सबैलाई मुख बन्द गरिदिएको छ।
आईपीएल २०२६ मा आरसीबीको यो ऐतिहासिक सफलतालाई यी रोचक कीर्तिमान बनेका छन्।
१. उपाधि रक्षा गर्ने तेस्रो टोली
आरसीबी आईपीएलको इतिहासमा आफ्नो उपाधि रक्षा गर्ने (लगातार दुई पटक जित्ने) मात्र तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किंग्स (२०११) र मुम्बई इन्डियन्स (२०२०) ले मात्र यो सफलता पाएका थिए। अब आरसीबी धेरै पटक उपाधि जित्ने टोलीहरूको सूचीमा चौथो स्थानमा पुगेको छ (मुम्बई र चेन्नईको ५–५ तथा कोलकाताको ३ उपाधि छ)।
२. कप्तान रजत पाटीदारको कीर्तिमान
रजत पाटीदार आफ्नो कप्तानीको पहिलो दुई सिजनमै लगातार दुई वटा उपाधि जित्ने आईपीएल इतिहासकै पहिलो कप्तान बनेका छन्।
३. विराट कोहलीको विष्फोटक ब्याटिङ
फाइनल खेलमा गुजरात टाइटन्सविरुद्ध कोहलीले मात्र २५ बलमा अर्धशतक पूरा गरे, जुन उनको आईपीएल करियरकै सबैभन्दा छिटो अर्धशतक हो। यसअघि उनको उत्कृष्ट रेकर्ड २६ बलको थियो। यो आईपीएल फाइनलको इतिहासमा कुनै पनि ब्याटरले बनाएको चौथो तीव्र गतिको अर्धशतक (संयुक्त रूपमा) समेत हो।
४. 'प्लेयर अफ द म्याच' मा रोहितलाई उछिने
कोहलीले आईपीएलमा २२ पटक 'प्लेयर अफ द म्याच' अवार्ड जितेर भारतीय खेलाडीहरूमध्ये शीर्ष स्थान कब्जा गरेका छन्। उनले रोहित शर्माको २१ अवार्डको रेकर्डलाई पछि पारेका हुन्। समग्रमा, एबि डिभिलियर्स (२५ अवार्ड) मात्र उनीभन्दा अगाडि छन्। विशेष कुरा त के छ भने, कोहलीले आईपीएलको प्लेअफ वा नकआउट खेलमा पहिलो पटक यो अवार्ड जितेका हुन्।
५. लेग साइडको दबदबा
फाइनलमा कोहलीले बनाएको ७५ रनमध्ये ८८ प्रतिशत रन 'लेग साइड' तर्फ प्रहार गरेका थिए। यो उनको आईपीएल करियरमा ५० भन्दा बढी रन बनाउँदा लेग साइडमा बनाएको अहिलेसम्मकै उच्च प्रतिशत हो।
६. राबाडा विरुद्ध कोहलीको प्रहार
आईपीएल २०२६ मा कोहलीले कागिसो राबाडाको बलमा मात्र ८८ रन बनाए। यो कुनै पनि ब्याटरले एकै सिजनमा एकै बलरविरुद्ध बनाएको सर्वाधिक रन हो। कोहलीले राबाडाका ३७ बलको सामना गर्दै १४ चौका र ४ छक्का सहित १८ वटा बाउन्ड्री प्रहार गरे।
७. क्रुनाल पाण्ड्या र जोस हजलवुडको 'लक्की' रेकर्ड
क्रुनाल पाण्ड्या आईपीएल फाइनल खेल्दा कहिल्यै हारेका छैनन्। उनको फाइनलको नतिजा ५–० को छ (पाँच पटक फाइनल पुग्दा पाँचै पटक जित)। त्यस्तै, जोस हजलवुडले पनि आफूले खेलेका तीनवटै आईपीएल फाइनल र करियरका सबै ६ वटा टी-२० फाइनल जितेका छन्।
८. थोरै खेलाडीको प्रयोग
यस सिजन आरसीबीले जम्मा १६ जना खेलाडी मात्र प्रयोग गर्यो, जुन उनीहरूको इतिहासकै सबैभन्दा कम हो। सन् २०२३ मा 'इम्प्याक्ट प्लेयर' नियम आएपछि कुनै पनि टोलीले १८ भन्दा कम खेलाडी प्रयोग गरेको यो पहिलो पटक हो।
९. भुवनेश्वर र राबाडाको भिडन्त
आरसीबीका भुवनेश्वर कुमारले यस सिजन २८ विकेट लिए, जुन कुनै पनि भारतीय बलरले एकै सिजनमा लिएको दोस्रो धेरै विकेट हो। यद्यपि, राबाडाले २९ विकेट लिँदै 'पर्पल क्याप' जिते।
१०. उमेरले नछेकेको प्रदर्शन
३७ वर्ष २०७ दिनको उमेरमा 'प्लेयर अफ द म्याच' बनेका कोहली आईपीएल फाइनलमा यो अवार्ड जित्ने दोस्रो पाको खेलाडी बनेका छन्। यसअघि अनिल कुम्बले ३८ वर्षको उमेरमा यो अवार्ड जितेका थिए। साथै, अनक्याप्ड (राष्ट्रिय टिममा नपरेका) खेलाडी रासिख सलामले फाइनलमा ३ विकेट लिँदै ऐतिहासिक प्रदर्शन गरे।