इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनललाई हराउँदै शीर्ष स्थानको अग्रता ११ अंकमा पुर्याएको छ। शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २-१ गोल अन्तरमा हराएको हो ।
आर्सनलको मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले महत्वपूर्ण जित हात पारेको हो।
सिटीको जितमा रियाद महरेज र रोड्रीले गोल गरेका थिए। आर्सनलका लागि बुकायो साकाले गोल गरे।
खेलको ३१ औं मिनेटमा साकाले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए ।
पहिलो हाफसम्म १-० ले पछि परेको सिटीका लागि खेलको ५७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए।
त्यसको दुई मिनेटपछि गाब्रियल रातो कार्ड पाउँदै बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटियो।
१० खेलाडीमा समेटिएको आर्सनलमाथि दबाब बढाए पनि सिटीले अग्रता बनाउन इन्जुरी समयसम्म कुर्नुपर्यो।
खेलको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को कठिन जित दिलाए ।
जितसँगै सिटीले २१ खेलमा ५३ अंक जोडेको छ। सिटीले दोस्रो स्थानको चेल्सीमाथि ११ अंकको अग्रता बनाएको छ। एक खेल कम खेलेको चेल्सीले ४३ अंक जोडेको छ। यस्तै तेस्रो स्थानमा रहेको लिभरपुलले २ खेल खेल्न बाँकी हुँदा ४१ अंक जोडेको छ।
पराजित आर्सनल ३५ अंक जोडेर चौंथो स्थानमा कायमै छ। आजको हारसँगै आर्सनलले तेस्रो स्थानको लिभरपुलसँग अंक दुरी छोट्याउने मौका गुमायो।