सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले बराबरी खेल्दै अंक बाँडेका छन्।
सोमबार दशरथ रंगशालामा भएको आठौं चरणको अन्तिम खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको सुरुवाती चार मिनेट भित्रै दुई गोल भएको थियो। खेलको दोस्रो मिनेटमै रोशन रानामगरले गोल गर्दै बिबिसीलाई अग्रता दिलाए।
चौथो मिनेटमा पुलिसले बराबरी गोल फर्काउन सफल भयो। पुलिसका लागि बुद्ध लामाले फ्रिकिकमार्फत गोल गरेका थिए।
बराबरीसँगै रेलिगेशनबाट बच्च संघर्षरत बिबिसीको ६ अंक र पुलिसको ७ अंक भएको छ। बिबिसी १२औं र पुलिस ११औं स्थानमा छन्।
जारी लिगको आठौं चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब २० अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने तेस्रो स्थानको संकटा र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको समान १४-१४ अंक छ।
पाँचौ स्थानको थ्रीस्टारले ८ खेलबाट १३ अंक जोडेको छ।
