भदौ १८ गते बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गर्यो।
राष्ट्रिय सभामा ६ महिनादेखि खाली रहेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एक जना सदस्यमा मन्त्रिपरिषदले वामदेव गौतमलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय थियो।
सचिवालयको निर्णयपछि अर्को दिन मन्त्रिपरिषद् बैठक बस्यो तर उनको नाम सिफारिस भएन।
१० दिनपछि सोमबार बसेको मन्त्रिपरिषदबाट वामदेवको सिफारिस हुने धेरैले अनुमान गरेका थिए।
बैठक सकिएपछि मन्त्रीहरूले अनौपचारिक रूपमा बैठकबाट राष्ट्रिय सभा वामदेवको नाम सिफारिस गर्ने निर्णय भएको बताए।
सेतोपाटीसँग पनि तीन जना मन्त्रीले वामदेवको नाम सिफारिस भएको बताएका थिए। सोहीअनुसार हामीले समाचार छापेका थियौं।
सरकार नयाँ प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा भने वामदेवको नाम सिफारिस भएको कुरा उल्लेख गरेनन्। पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको उनले जानकारी दिए तर वामदेवको सिफारिसबारे केही बोलेनन्।
वामदेवलाई राष्ट्रिय सभामा नियुक्त गर्न मन्त्रिपरिषद् गरेको सिफारिस पनि मंगलबार साँझसम्म राष्ट्रपति कार्यालयमा पुगिसकेको छैन।
'हामीले पनि तपाईंहरूले लेखेको पढेर थाहा पाएको हो। तर अहिलेसम्म शितलनिवासमा केही आएको छैन,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।
यता वामदेवको सचिवालयले आफूहरूलाई सिफारिसको औपचारिक निर्णयबारे जानकारी नआए पनि अनाैपचारिक जानकारी पाएकाे बतायो।
'उहाँलाई सिफारिस गरिएकाेबारे अनाैपचारिक जानकारी आइसकेकाे छ' गाैतमका प्रेस सहयाेगी विश्वमणी सुवेदीले भने 'राष्ट्रपति कार्यालय पुगेर राष्ट्रिय सभामा पत्र गएपछि औपचारिक जानकारी आउँछ होला।’
वामदेवबारे हिजोको मन्त्रिपरिषद्ले केही निर्णय गरेको हो कि होइन भनेर सरकार प्रवक्ता ज्ञवालीसँग सेतोपाटीले राखेको जिज्ञासामा उनले भने- केही कुरा पछिलाई पनि राख्नुपर्छ। पछि थाहा पाइहाल्नु हुन्छ नि!