नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्यसमितिको आठौं बैठकले ११ औं राष्ट्रिय अधिवेशन आगामी माघ ७ र ८ गते काठमाडौंमा गर्ने जानकारी दिएको हो।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनको निर्णय गर्न लाग्दै गर्दा संगठनको माइन्युट बुक, छाप र लेटर प्याड चोरी भएको र अहिले पुलिसलाई छानबिनका लागि निवेदन दिएको बताए।
उनले अधिवेशनको निर्णय हुनै लाग्दा संगठनका महासचिव र उपाध्यक्षहरू नै भागेको भन्दै जिम्मेवारी पदमा रहेको व्यक्तिबाट नै चोरी भएको हुनसक्ने आशंका गरे।संगठनबाट भागेका साथीहरूले नै एउटा कोठमा बसेर निर्णय परिवर्तन गरेको आरोप लगाउँदै अध्यक्ष देवकोटाले भ्रममा नपर्न आग्रह गरे।
अध्यक्ष देवकोटाले भने, ‘नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको १० औं राष्ट्रिय अधिवेशन २०७३ साल मंसिर २७ गतेदेखि २९ सम्म नेपालगञ्जमा भएको थियो, त्यसले बनाएको केन्द्रीय अध्यक्ष म केदार देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला,उपाध्यक्ष भवानी दाहाल लगायतको १३९ जनाको टिम, विभिन्न आयोगहरू समेत गरेर १३९ जनाको टिम अहिले विद्यमान अवस्थामा रहेको छ, त्यसले हिजो केन्द्रीय कमिटीको आठौं बैठक सम्पन्न गरेको छ, त्यो आठौं बैठकले संगठनको राष्ट्रिय अधिवेशन गर्ने भनेर २०७८ साल माघको ७ र ८ गते काठमाडौंमा सम्पन्न गर्ने भनेर निर्णय गरेको छ, यसको कार्यकाल ३ वर्षको हुन्छ, २०७३ साल मंसिरमा निर्वाचित भएको अध्यक्ष म, अहिले झन्डै ५ वर्षको नजिक पुग्न लागें, तीन वर्षभित्रै अधिवेशन सम्पन्न गर्नुपर्नेमा कोभिड लगायतका विभिन्न कारणबाट गर्न सकिएन, अब अधिवेशन गर्नुपर्छ, मंसिर र पुस २ महिनामा जिल्ला अधिवेशन, मन्त्रालय भित्रका विभागीय अधिवेशनहरू सम्पन्न गर्ने भनेर केन्द्रीय कमिटीको बैठक बस्दा हाम्रो संगठनको कार्यालयबाट छाप र माइन्युट हरायो, निर्णयमा पुग्नु भन्दाअघि छाप, लेटरप्याड, झण्डा, माइन्युट हरायो, चोरी भयो र कता-कता कोठामा बसेर हाम्राबाट गायब भएका मान्छेहरू कोही वरिष्ठ उपाध्यक्ष, कोही अध्यक्ष, कोही महासचिव भएको कुरा सुन्नमा आएको छ, आधिकारिकता थाहा छैन।’
कार्यक्रममा सह-संयोजक तथा वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले संगठनलाई गतिशील बनाउनका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको बताए। उनले कोरोनासहित विभिन्न कारणले समयमै हुनुपर्ने राष्ट्रिय अधिवेशन हुन नसकेको बताउँदै ११ औं राष्ट्रिय अधिवेशन तय गरेको बताए।
त्यस्तै, अर्को पक्षले (माधव नेपाल समूह) पनि कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै संगठनको विधि, पद्धति र नीतिविपरित गई पदमा रहेका व्यक्तिहरूले पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ।
पत्रकार सम्मेलनमा संगठन महासचिव शरणकुमार गुरुङले कुनै पार्टी र नेताको मतियार भई काम गरेको भन्दै संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष ललिकबहादुर महर्जन, उपाध्यक्ष रेणुका केसी, उपाध्यक्ष रामचन्द्र जोशी, उपाध्यक्ष नौतम पोखरेल, उपाध्यक्ष भवानी दाहाल र सह कोषाध्यक्ष गणेश आचार्यलाई पदबाट हटाएको बताए।
उनले रिक्त अध्यक्ष पदमा रेवन्त गौतम, वरिष्ठ उपाध्यक्षमा मोहन गिरी, उपाध्यक्षमा सिता गुरुङ्ग वेदप्रसाद खतिवडा, हरिकाजी राई, हरिदत्त जोशी, जयकान्त झा, राजकुमार दास, नृपराज जोशी, भीमबहादुर बिष्ट, दयाराम खत्री र महासचिवमा शरणकुमार गुरुङ्ग, उपमहासचिवमा भवानी खतिवडा, सचिवमा प्रकाश राई, मधु मिजार, ओम कठायत र सहकोषाध्यक्षमा दिनेश लम्शाल लगायतलाई नियुक्त गरेको जानकारी दिए।