नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।
'आज संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,' उनले सेतोपाटीसँग भनिन्।
अध्यक्ष श्रेष्ठले भोलि नै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको बताइन्।
नाउपाबाट अरूणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।
उनले भोलि नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।
नाउपाले यसअघि सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्नो दलको मन्त्री हटाइएको विषयमा नाउपा असन्तुष्ट छ।
सत्ता साझेदार दल भए पनि छलफल नै नगरी मन्त्री हटाइएपछि नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका थिए।
पावर टिलर वितरणमा अनियमितता देखिएको भन्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई राजीनामा दिन भनेका थिए। उनीमाथि खप्तड क्षेत्र पर्यटन विकास समितिको पदाधिकारी नियुक्तिमा पनि चलखेल गरेको आरोप छ।
राजीनामा नदिएपछि मुख्यमन्त्रीले मन्त्री चौधरीलाई बर्खास्त गरेका थिए।
त्यही विषयमा संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताइन्।
संघीय संसदको प्रतिनिधि सभामा नाउपाका चार जना सांसद छन्।