सिके राउत नेतृत्वको जनमत पार्टीले ‘जनमत माटो यात्रा’ सुरू गरेको छ।
शान्ति र एकताको सन्देश मुलुकभर फैलाउने उद्देश्यसहित लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट ‘जनमत माटो यात्रा’ सुरू गरेको हो।
स्थानीय नेताहरूले लुम्बिनी परिसरको माटो शुक्रबार पार्टी अध्यक्ष राउतलाई हस्तान्तरण गरी जनमत माटो यात्राको शुभारम्भ गरेका हुन्।
हरेक स्थानीय तहको माटो जम्मा गरेर एउटा पवित्र उद्यान बनाउने पार्टीको अभियान स्वरूप जनमत माटो यात्रा सुरू गरिएको राउतले बताए।
मुलुकलाई शान्ति र एकतासहित जोड्नका लागि यस्तो अभियान सुरू गरिएको उनले बताए।
राउतले सबै स्थानीय तहको ऐतिहासिकता झल्कने गरी एकै स्थानमा उद्यान बनाउने योजना रहेको बताए।
उद्यान कहाँ बनाउने भन्नेबारे भने अझै निर्णय भइनसकेको उनले बताए।
उक्त पार्टीले पहिलो चरणमा पार्टीको जनमत बलियो भएका स्थानलाई केन्द्रित गरेर माटो संकलन अभियान सुरू गरेको छ।
आफूहरूको योजना हिमाल, पहाडका स्थानीय तहमा पनि आफैं पुगेर माटो संकलन गर्ने रहे पनि सम्भव नभए कुनै माध्यमबाट माटो संकलन गरिने उनले बताए।
अभियानसँगै गाउँ-गाउँमा जनताको मनोभावना र वस्तुस्थिति बुझ्दै जनमत आफ्नो पक्षमा बनाउने गरी जनमत पार्टी देश दौडाहामा लागेको हो।
लुम्बिनीमा पनि जनमत माटो यात्रा शुभारम्भसँगै पार्टीले जिल्लास्तरीय सभा गरेको छ।