उरुग्वेली स्ट्राईकर लुइस सुआरेज चम्किएपछि साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा गेटाफेविरुद्ध पूनरागमन जित निकालेको छ।
मंगलबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई उसैको मैदानमा २–१ गोलले हरायो। १० खेलाडीमा समेटिएको गेटाफे सुरुवाती अग्रता लिएर पनि हार खेप्न बाध्य भयो । एट्लेटिकोको जितमा दुवै गोल लुइस सुआरेलले गरे। गेटाफेका स्टेफन मित्रोभिकले सुरुवाती गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा गेटाफेले ४५औं मिनेटमा अग्रता लिएको थियो । स्टेफनले हेड गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । तर गेटाफेको खुशी लामो समय टिकेन। ७४औं मिनेटमा गेटाफे १० खेलाडीमा समेटियो । कार्लेस एलेना दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि गेटाफे दबाबमा देखिएको थियो।
७८ मिनेटमा सुआरेजले बराबरी गोल फर्काए। इन्जुरी समयमा सुआरेजले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। सुआरेजले सिम भर्सलज्कोको पासमा हेड गोल गरेका थिए। यससँगै सुआरेजले जारी सिजन तीन गोल गरेका छन्।
जितसँगै एट्लेटिकोले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ। शीर्षस्थानमा उक्लिएको एट्लेटिकोको ६ खेलबाट १४ अंक छ। अंकबिहिन गेटाफे १९औं स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले पाँच खेलबाट १३ अंक बनाएको छ । तेस्रो र चौथो स्थानमा रहेको भ्यालेन्सिया र रायो भालेकानोको समान १० अंक छ।
मंगलबार राति नै भएको अर्को खेलमा रायो भालेकानोले एथलेटिक बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हराउँदै चौथो स्थानमा उक्लिएको हो।