नेपाली महिला फुटबल टोली अर्को इतिहास नजिक छ। एएफसी वुमन्स कपमा पहिलो पटक पुग्नका लागि नेपाली महिला टोली अब एक जितमात्र टाढा छ।
तर त्यो एक जित नेपालका लागि सहज भने छैन। किनकी यसअघि दर्जन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि भने जित्न नसकेको खराब इतिहास पनि नेपालसामू छ।
उज्वेकिस्तानमा भइरहेको एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले लगातार दुई खेलमा जित निकालेको छ।
पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको नेपालले बुधबार श्रीलंकामाथि ८-० गोलको जित निकाल्यो। दुवै खेलमा गरी फरवार्ड सावित्रा भण्डारी साम्बाले सात गोल गरिसकेकी छिन्। यहि छनोटमा पहिलो पटक नेपालको कप्तानी गरेकी साम्बाले लाओसविरूद्ध चार गोल र श्रीलंकाविरूद्ध तीन गोल गरेकी थिइन्।
समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकलेको छ। उसले पहिलो खेलमा श्रीलंकालाई १०-० गोलले हराउँदा बुधबार लाओसलाई ७-० गोलले हरायो।
यस्तोमा समूहमा नेपाल र उज्वेकिस्तान दुवैले ६-६ अंक जोडेका छन्। दुवैले १७-१७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन्।
समूहबाट एक टोलीमात्र एसियन कपमा पुग्ने भएकाले आगामी शनिबार नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच हुने खेल निर्णायक हुनेछ। सो खेल राति सवा नौ बजे हुनेछ।
दुवै टोलीको जित र गोलअन्तरको स्थिति समान छ। त्यसैले शनिबारको खेल बराबरीमा सकिएमा खेल पेनाल्टीमा पुग्ने एएफसीको नियम छ। किनभने हेड टु हेड, गोल अन्तर र धेरै गोल गरेको अवस्था सबैमा नेपाल र उज्वेकिस्तान बराबरीमा छन्।
अन्तिम अवस्थामा सधै अभागी हुने गरेको नेपालका लागि अन्तिम चुनौती बाँकी रहेको कप्तान साम्बा बताउँछिन्। अहिले टोलीको कम्बिनेसन मिलेको र अन्तिम चुनौतीसँग लड्न नेपाली टोली तयार रहेको कप्तान साम्बाको भनाइ छ।
फिफा वरीयताको आधारमा हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो। उज्वेकिस्तानको महिला टोली फिफा वरीयतामा ५१ औं स्थानमा छ। नेपाल भने १००औं स्थानमा छ।
हेड टु हेडमा पनि उज्वेकिस्तान अघि छ। उसले नेपालसँग खेलेका तीनै खेलमा जित निकालेको थियो। नेपालविरूद्ध उज्वेकिस्तानले ११ गोल गरेको छ। नेपालले भने ३ गोल मात्र गर्न सकेको छ।
सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल र उज्वेकिस्तानबीच पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो। सो कपमा नेपाल र उज्वेकिस्तान दुई पटक भिडेका थिए। समूह चरण नेपालले २-० को हार बेहोर्दा फाइनलमा पनि ३-२ गोलले पराजित भएको थियो।
यसपटक घरेलु मैदानको फाइदा हुने उज्वेकिस्तान एसियन कप खेलिसकेको टोली हो। उसले ५ पटक एसियन कप खेलिसकेको छ। सन् २००३ पछि भने उसले एसियन कप खेल्न सकेको छैन। त्यसो त उज्वेकिस्तान २०२९ महिला एसियन कपको आयोजक समेत हो।
यसरी राम्रो इतिहास बोकेको उज्वेकिस्तानको चुनौती पार गर्न नेपालका लागि सहज भने छैन। नेपाली टोलीले उज्वेकिस्तानविरूद्ध नयाँ इतिहास रच्नका लागि अघिल्ला खेलको फर्मलाई कायम राख्न जरुरी छ।